आइतबार रातिदेखिको निरन्तर वर्षाले जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रायः सबै वडाका घरमा पानी पसेकाे छ । सडकमा करिब १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा समेत समस्या उत्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका रामानन्द चोक, भानु चोक, पिडारी चोक, रामचोक लगायतका चाेकका विभिन्न पसलमा पानी पसेको छ । उपमेयर रिता कुमारी मिश्रको घरमा पनि पानी पसेकाे छ ।
लगातार वर्षाका कारण यहाँका सरकारी कार्यालय राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र, वन निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, प्रादेशिक अस्पताल लगायतका परिसरहरू जलमग्न भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा भवन, रेडक्रस सोसाइटी, बाह्रबिघा मैदानलगायतका स्थानमा पनि पानी पसेकाे छ ।
वर्षाको सुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय सरकारको अग्रिम तयारी नदेखिएकाले भारी वर्षा सुरु हुँदा जनजीवन प्रभावित हुने देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलकाे निकासमा समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको हो ।
सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इँटा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरुद्ध भएको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।