समाजमा किन बढिरहेको छ आफन्तबाटै हुने हत्याकाे शृंखला ?

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला । नेपाली अपराधको इतिहासमा यो नाम एउटा कलंक बनेर रहेको छ । नरहोस् पनि किन आफ्नै श्रीमतीको हत्या गरेका थिए, कोइरालाले । र, त्यो पनि अर्की युवतीसँगको प्रेम सम्बन्धका कारण ।

२०६८ साल पुस २७ गते । श्रीमती गीता ढकालको हत्या काठमाडौंमा गरेर कोइरालाले मकवानपुरको टिस्टुङको जंगलमा लगेर शव जलाएका थिए । पछि आधा शरीर जलेको शव त्यहाँ भेटिएको थियो । काठमाडौंबाट टुक्रा–टुक्रा पारेर त्यहाँ शव पुर्याएको र आगो लगाएको उनले पछि अदालतमा स्वीकार पनि गरे ।

जिल्ला र पुनरावेदन अदालतले यही अपराधमा कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । तर, ४ साउन २०७७ मा सर्वोच्च अदालतले उनको सजाय कम गरिदियो । १६ वर्षभन्दा बढी समय कैद बिताउनबाट बचे कोइराला; उनले २५ वर्ष जेलमा समय बिताउनुपर्नेमा सर्वोच्चको आदेशपछि ८ वर्ष छ महिना मात्रै कैद सजाय भुक्तान गरे । सर्वोच्चले उनलाई सजाय कम गर्दा दिएको तर्क थियो– कोइरालाले आवेशमा आएर हत्या गरेका थिए, तर अहिले घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको छ ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी भएकाले रञ्जन कोइरालाको यो घटना निकै चर्चामा रह्यो । चर्चामा नआएका यस्ता घटना पनि नेपाली समाजमा बर्गेल्ती छन् । 

उदाहरणका लागि लिन सकिन्छ, ५ जेठ २०७८ को कपिलवस्तुको घटना । त्यहाँ माओवादी केन्द्रका नेता दीपक पाण्डेयमाथि गोली प्रहार भयो । गोली लागेर गम्भीर घाइते भएका पाण्डेयको १० जेठमा त्रिवि शिक्षण अस्पतालमा ज्यान गयो ।

कोइराला अर्की युवतीसँग प्रेममा परेर आफ्नी श्रीमतीको हत्यामा उक्सिएका थिए, यता पाण्डेयकी श्रीमती अर्का पुरुषसँग सम्बन्धमा रहेकाले आफ्ना श्रीमान्को हत्यामा योजनाकार भएको पछि अनुसन्धानले पुष्टि गर्यो । पाँच वर्षदेखि अर्का एक पुरुषसँग सम्बन्ध भएकाले पाण्डेयकी श्रीमती महिमाले आफ्नै श्रीमान्लाई गोली हान्न ‘सुपारी’ दिएकी रहिछिन् । पछि प्रहरी अनुसन्धानमा महिमाले आफूले बारम्बार पति दीपकको हत्या गर्न खोजेको स्वीकार गरेकी छिन् । महिमा अहिले पूर्पक्षका लागि थुनामा छिन् ।



प्रहरी र राजनीतिमा लागेका व्यक्तिमा मात्र होइन, आफन्तबाटै अझ श्रीमान्–श्रीमतीबाटै भएका हत्या र बनेका हत्या योजना हाम्रो समाजमा अरु पनि छन् । यसको उदाहरणका रुपमा लिन सकिन्छ– काभ्रे चौरीदेउरालीको सोनाम–सुमिनाको घरमा भएको घटनालाई ।

१ जेठ २०७८ को कुरा हो । काभ्रे चौरीदेउराली–९ की सुमिना गुरुङ अचानक बेपत्ता भइन् । उनको माइती पक्ष छोरी बेपत्ता भएपछि एकाएक आत्तियो । किनकि उनीहरुले आशंका गरिसकेका थिए, सुमिनाको हत्या भएको हुनसक्छ । र, यो आशंकाको चुरो सोझिएको थियो, सुमिनाकै पति सोनामतर्फ । २८ वर्षका सोनाम लामाले २२ वर्षकी सुमिनालाई विवाह गरेको धेरै भएको थिएन । तर, विवाहलगत्तै परिवारमा शान्तिको दिन खासै भएन । सोनामले पछि प्रहरीको सोधपुछमा स्वीकार गरे— सुमिनाको हत्या गरेर शव गाडेको हुँ ।



उनले अन्तर्जातीय विवाह भएको र दिनहुँ घरमा झगडा हुने गरेकाले सुमिनाको हत्या गरेको बताएका थिए । उनीसँगै प्रहरीले यो घटनामा संलग्न भएको अभियोगमा सोनामका बाबु ६६ वर्षका च्याङ्वा भनिने चन्द्रबज्र लामालाई पनि पक्राउ गरेको थियो । उनीहरुले अहिले दुवैजना जेल चलान भइसकेका छन् ।

नेपाली समाजमा हत्या र हिंसाका घटनाको ग्राफ कहालीलाग्दो छ । बर्सेनि हत्याका घटना बढिरहेका छन्, आफन्तबाटै हुने हत्याको संख्या पनि बढ्दो छ । नेपाली प्रहरीको तथ्यांक हेर्दा २०७६–७७ मा नेपालभर ५ सय ५५ जनाको हत्या भएको देखिन्छ । तर, यो वर्ष जेठ मसान्त सम्ममा नै यो संख्या ६ सय २५ पुगेको छ । २०७२ सालयता एकै वर्षमा नेपालभर भएका हत्याको संख्याको यो नै सबैभन्दा बढी हो । नेपाल प्रहरीका अनुसार २०७२ सालयता बर्सेनि कम्तिमा पनि १ सय ४४ जनाको हत्या भएको छ ।

सौभाग्य भनौँ कि दुर्भाग्य, पछिल्ला वर्षमा सांगठनिक अपराधको संख्या घट्दै गएको छ, तर पारिवारिक वा नातागोताबाट हुने हत्याको संख्या बढ्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर पनि यसलाई स्वीकार गर्छन् । ‘अलिक पहिलेको जस्तो सांगठनिक अपराध अहिले कम हुँदै गएको छ,’ उनले भने, ‘तर, नजिकका वा परिवारकै सदस्यका कारण हुने अपराधको संख्याचाहिँ बढ्दो छ ।’
यसको दोषी आखिर को ? किन यसरी बढिरहेको छ त नेपाली समाजमा हत्याका घटना ?

हामीले योे प्रश्न राखेका छौँ, समाजशास्त्री डा. दिलीपकुमार मल्लसँग ।

‘श्रीमान्–श्रीमतीका अवैध सम्बन्धका कारण अहिले समाजमा मनमुटाव बढ्दो छ, डिभोर्स गरिहाल्ने चलन सुरु भएको छ,’ डा. मल्लले भने, ‘अनि चित्त नबुझेको मान्छेलाई आवेगमा आएर हत्यासम्म गर्न नातागोताका मानिस नै उद्यत देखिन्छन् ।’ समाजको आधुनिकीकरण, देखावटी र आवेग नै हत्याका यस्ता घटना बढ्नुको कारक भएको डा. मल्ल बताउँछन् ।

‘खासमा भन्ने हो भने सञ्चारमाध्यममा पनि यसमा दोषी छन्,’ डा. मल्लले भने, ‘अनि मानिसहरु आर्थिक रुपमा सक्षम भएका छन्, कोभन्दा को कम भन्ने दम्भ बढ्दो छ, जसले गर्दा अपराधका घटना बढिरहेका छन् ।’ 

समाजशास्त्री मल्ल यस्ता घटना बढ्नुमा नेपालको कानुनको कमजोर कार्यान्वयनलाई पनि कारण मान्छन् । तर, जब समाज परिवार भित्रबाटै सुरक्षित हुँदैन, त्यसको जिम्मेवारी कसले लिने ? बढ्दो अपराधका घटनाले यो प्रश्न जन्माइदिएको छ ।

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १९:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया