जनकपुरको निजी अस्पतालमा ‘नर्मल डेलिभरी’ गराएको शुल्क ७१ हजार, तिर्न नसक्दा सासू बन्धक

उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको एक निजी अस्पतालले बिरामीका आफन्तलाई बन्धक बनाएको छ । महोत्तरीको धमौरा बस्ने निलम सदा उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा बन्धक भएका हुन् ।

असार ८ गते बुहारीलाई प्रसूति व्यथा लागेपछि सासू सुजानदेवी सदाले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकी थिइन् । त्यहाँ उपचारमा चिकित्सकले कुनै चासो नदेखाएपछि उनीहरुले बुहारीलाई रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा ल्याए । 

अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर मंगलबार डिस्चार्ज गरे । तर, अस्पतालले पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भन्यो । 

निलमकी सासू सुजान अस्पतालको बिल हेरेपछि आश्चर्यमा परिन् । उनले विभिन्न सहयोगमार्फत संकलन गरेको ३२ हजार रुपैयाँ अस्पतललाई बुझाएर आफू धेरै गरिब भएकाले अब घर जान दिन आग्रह गरिन । तर, अस्पतालले उनको आग्रहलाई कुनै वास्ता गरेन । पैसा नतिरेसम्म यहाँबाट जान नदिने अडानका साथ अस्पतालले उनीहरुलाई त्यहाँ बन्धक बनाएर राखेको छ । 

‘७१ हजार रुपैयाँको बिल उठेको छ । अस्पतालमा ३२ हजार बुझाएका छौं,’ सुजानले भनिन्, ‘अझै पैसा दिनुपर्छ भन्छन् ।’ अस्पतालाई बुझाउने थप रकम आफूहरुसँग नभएको उनले गुनासो गरिन् । 

अस्पताल प्रशासनले उपचार खर्च नतिरेका कारण उनीहरुलाई रोकेर राखेको स्वीकार गरेको छ । सबै शुल्क तिरेपछि मात्र घर जान दिइने अस्पतालका म्यानेजर विकास सिंहले बताए । अस्पतालले केही छुट दिने, तर सबै रकम मिनाहा गर्न नसक्ने उनले बताए ।





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार २०:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया