१६ लाखको लगानीमा दुई कोठे भवन निर्माण
गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अभिभावकहरूद्वारा निर्माण कार्यमा अवरुद्ध

रौतहटको कटहरिया नगरपालिका-५ मा रहेको श्री धनलक्ष्मी प्राथमिक बिद्यालयको भवन निर्माण कार्यमा स्थानीय अभिभावकहरूले रोका लगाएका छन् । कटहरिया नगरपालिकाको कूल १६ लाखको लगानीमा निर्माण भइरहेको दुई कोठे भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अभिभावकहरूले निर्माण कार्यमा अवरुद्ध गरेका हुन् । 

विद्यालय व्यवस्थापन समिति विहीन उक्त विद्यालयमा भवन निर्माण गर्दा अभिभावक तथा जनप्रतिनिधि सम्मिलित निर्माण समिति गठन गरेर भवन निर्माण गर्नुपर्ने थियो । तर, प्रधानाध्यापक राकेश साहले एक जना स्थानीयको सल्लाहमा मनपरी गर्न लागेको अभिभावकहरूले आरोप लगाएका छन् । 

भवन निर्माणमा दुई नम्बर इँटको प्रयोग भएको र योजनाबारे कुनै किसिमको बोर्ड सूचना नराखेकाले अनियमितता हुने संकेत देखेर आफूहरूले निर्माण कार्य रोक्का गरेको स्थानीय अभिभावक दिनानाथ साह कलवारले बताए । ‘दुई कोठे भवन निर्माण गर्दा बढीमा सात लाख रुपैयाँ खर्च हुन्छ । कसरी १६ लाखको योजना भयो ? यो सब आर्थिक चलखेल गर्नका लागि हो’, कलवारले भने ।

स्थानीयले सो निर्माण कार्यको बैंक स्टेटमेन्ट समेत सार्वजनिक गर्न माग राखेका छन् । यस विषयमा कटहरिया नगरपालिकाका तत्काल निलम्बित नगरप्रमुख सिया राम कुशवाहसँग बुझ्दा नगरपालिकाले टेन्डर लगाइदिने र स्कुलका व्यवस्थापक समितिलाई जिम्मा लगाउने प्रावधान रहेको छ । तर स्कुलमा व्यवस्थापक समिति नरहेको लिखित निवेदन आएमा नगरपालिकाले टेन्डर लगाइ आफ्नो नगरपालिकामा कार्यरत इन्जिनियर माध्यमबाट काम गराउने प्रावधान रहेको जानकारी दिए ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १३:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया