मापसे गरेर वार्तामा आएको भन्दै बिपीका उपकुलपतिसहित चार पदाधिकारीलाई अन्दोलनकारीले थुने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीले वार्ताका लागि आएका प्रतिष्ठानका पदाधिकारीलाई तीन घण्टा थुनेर राखेका छन् ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिस्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पतालका डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराललाई आन्दोलनकारीले उपकुलपतिको कार्यकक्षमा थुनेर राखेका हुन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षसँग वार्ता गर्न आउँदा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै आन्दोलनकारीले थुनेको बताएका छन् ।

सोमबार बेलुका संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.गिरीले मादक पदार्थ(रक्सी) पिएको बेलामा जस्तो असामान्य भावमा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छाडेको थियो ।

वार्तामा रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारी रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थी आक्रोशित छन् । आन्दोलनकारीले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

उपकुलपतिसहित चारैजना पदाधिकारीको राजीनामा वा बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार २०:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया