कोरोना भाइरसको कहरले सारा विश्व आक्रान्त भएको छ । महामारीको रूपमा फैलिएको भाइरसले रोकिने नाम लिएको छैन । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३९ लाख ३६ हजार ४३५ जनाले ज्यान गुमाइसकेका छन् भने १८ करोड १७ लाख ४१ हजार ४७८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित राष्ट्र हो अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ४ हजार ४३६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३६ लाख ५१ हजार २७२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि ब्राजिलमा ज्यान जानेको संख्या उच्च रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख १५ हजार ९८५ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितका हिसाबले भने ब्राजिल तेस्रो स्थानमा रहेको छ ।
छिमेकी मुलुक भारतमा हालसम्म ३ लाख ९७ हजार ६३७ जना संक्रमितले ज्यान गुमाउँदा ३ करोड ३ लाख १६ हजार ८९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
ल्याटिन अमेरिकन राष्ट्र मेक्सिकोमा हालसम्म २ लाख ३२ हजार ६०८ संक्रमितले ज्यान गुमाइसकेका छन् । यसै गरी पेरुमा पनि १ लाख ९१ हजार ८९९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
रसियामा १ लाख ३२ हजार ३१४, बेलायतमा १ लाख २८ हजार ३९०, इटालीमा १ लाख २७ हजार ५४२ र फ्रान्समा १ लाख ११ हजार २३० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।