भर्चुअल रंगमञ्चले बोक्न सक्दैन रंगमञ्चको सौन्दर्य

गत वैशाख ३१ गते मण्डला थिएटरले भर्चुअल रूपमा नाटक मञ्चन गर्‍यो । दयाहाङ राईले निर्देशन गरेको ‘मितज्यू’ मण्डला थिएटरको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भयो । यो नाटक कोरोना कहरको पहिलो लहरमै नाटकघरको मञ्चमा फर्किनका लागि मञ्चन गर्ने तयारी गरेका थिए । 

कोरोनाका कारण सुनसान रहेको नाटकघरमा ‘मितज्यू’ले दर्शक तान्ने दयाको अपेक्षा थियो । त्यही आशामा दया लगायत नाटकका अन्य कलाकारले रिहर्सलन गरे । नाटकको रि-डिजाइन गरे । तर, कोरोना महामारी घट्नुको सट्टा अर्को लहर सुरु भयो । देशका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिए । बल्ल चलमलाउन थालेको नाटकघर वरपरको बाटो फेरि सुनसान भयो । दयालाई लाग्यो यो समय बन्द कोठाभित्र नाटक मञ्चन गर्नु ठिक छैन । 

ठिक यही बेला दया लगायत टिमले खुला रंगमञ्चको अवधारणा सोच्यो । खुला ठाउँमा नाटक मञ्चन गर्ने सोचसहित कोष जुटाउँदा जुटाउँदै कोरोना संक्रमण दर झनै उच्च हुँदै गयो ।  खुला रंगमञ्चको अवधारणा पनि फेल खायो । त्यसपछि नाटक मञ्चनको अर्को विकल्पका रूपमा दयाले युट्युबलाई रोजे । युट्युबकै लागि नाटक खिचियो । सात वर्षअघि नाटकघरमा मञ्चन भएको नाटक डिजिटल माध्यमबाट मञ्चन भयो । नाटकले राम्रो प्रतिकृया पायो ।

००० ००० ००० 

सुनसान नाटकघरका ढोका खुल्न अझै लामो समय लाग्ने देखिन्छ । नाटक मञ्चन गरे पनि फिजिकल रूपमा दर्शकको उपस्थितिमा नाटक मञ्चनको परिकल्पना तत्कालका लागि सम्भव नभएको रंगकर्मी घिमिरे युवराज बताउँछन् । उनले पनि ‘अनुपस्थित तीन’ नाटक डिजिटल रूपमै देखाए ।

घिमिरे युवराजले निर्देशन गरेको यो नाटकका पात्रले आआफ्नै कोठामा क्यामरा लगाएर अभिनय गरे । उनीहरूको अभिनय प्रत्यक्ष रूपमा दर्शकले घरघरमै बसेर हेरे । नाटकको मज्जा लिए । यो नाटक युट्युब, फेसबुकलगायत माध्यमबाट भर्चुअल रूपमा प्रत्यक्ष प्रसारण भयो । यसैले निर्देशक घिमिरेले यसलाई ‘भर्चुअल रंगमञ्च ।’



कोरोनाको दोस्रो लहर सुरु हुँदै गर्दा यो नाटकको रिहर्सल शिल्पी थिएटरमै भइरहेको थियो । यही नाटकमार्फत् नाटकघरमा दर्शक तान्ने घिमिरेको सोच थियो । नाटकको ३० औँ दिनको रिहर्सलपछि कोरोनाको दोस्रो लहर सुरु भयो । नाटक घर पुनः बन्द भए । त्यसपछि मञ्चको विकल्पका रूपमा घिमिरेले युट्युब रोजेका हुन् । उनले महामारीले निम्त्याएको चुनौतीका बीच भर्चुअल नाटक मञ्चनलाई ट्रायलका रूपमा हरेका छन् ।

००० ००० ०००  



नेपालमा पहिलो पटक डिजिटल रंगमञ्चको सुरुवात थिएटर मलका रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् । उनले पहिलो चरणको लकडाउनको तेस्रो दिनबाट डिजिटल माध्यममा नाटक देखाए । उनले डकुमेन्टेसनका लागि पहिलै खिचेका पुरानै नाटकहरूको भिडियो फेसबुकबाट देखाएका थिए । कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै  विश्व रंगमञ्च दिवसको सन्दर्भ पारेर सुरु भएको उक्त महोत्सव १६ दिनसम्म चल्यो ।

१६ दिनमा देश तथा विदेशका २० वटा नाटक देखाइयो । यो समय दर्शकको राम्रो प्रतिकृया पाएको केदारले बताए । यतिबेला देखाइएका प्रत्येक नाटकले ५ लाखभन्दा धेरै दर्शक पाए । यो भर्चुल रंगमञ्च भने नभएको केदारले बताए ।

कोरोना महामारी पहिलो लहरमै कौसी थिएटरकी आकांक्षा कार्कीले भर्चुअल रंगमञ्च रोजिन । उनले झण्डै ६ महिना जुममार्फत् प्लेब्याक थिएटर आयोजना गरिन् । ६ महिनासम्म लगातार प्रत्येक हप्ता प्लेब्याक गरेको आकांक्षाको टिमले भर्चुअल रूपमै दर्शकका अनुभव सुन्थे । त्यही अनुभवलाई अभिनयमा प्रस्तुत गर्थे । आकांक्षको टिमलाई पनि उपस्थित भएका दर्शकले राम्रो प्रतिकृया दिए ।

महामारीले सिर्जना गरेको विषम परिस्थितिका बीचमा केही रंगकर्मीले नाटक मञ्चनका लागि विकल्प खोजे । केहीले भर्चुअल रंगमञ्चलाई रोजे । केहिले डिजिटल माध्यमबाट पहिले मञ्चन भइसकेका नाटकका भिडियो देखाए । जतिले हेरे राम्रो प्रतिकृया दिए । घरभित्रै थुनिएर बसेका नाटकका दर्शक यसैमा रमाए । 

००० ००० ०००  

अब प्रश्न उठ्छ भर्चुअल रंगमञ्चले वास्तविक रंगमञ्चको बोक्न सक्छ ? भर्चुअल रूपमै मञ्चन गर्नका लागि ‘मितिज्यू’ खिचेका दयाहाङ राई भन्छन्, ‘कोसिस हुन सक्ला तर यो रंगमञ्च नै भने होइन ।’ कोरोना कालमा धेरैले भर्चुअल रूपमा नाटक मञ्चन गरेका कारण पनि यसको मान्यता रहने दया बताउँछन् । आफूले ‘मितज्यू’ मार्फत दर्शकसँगको दूरी घटाउने एउटा कोसिस मात्रै भएको बताउँछन् ।

आफूहरूले महामारीले सिर्जना गरेको अप्ठ्यारो अवस्थामा पनि रंगमञ्चका दर्शकले एक्लो महसुस नगरून् भनेर डिजिटल माध्यमबाट नाटक देखाएको बताउँदै केदार श्रेष्ठले यो रंगमञ्चको सौन्दर्य नभएको बताउँछन् । नाटकलाई क्यामेराले खिचेर देखाउने भइसकेपछि त्यो वास्तवमा रंगमञ्च नहुने केदारको धारणा छ ।

यसलाई वैकल्पिक रंगमञ्च बताउँछन् केदार । ‘नाटक भर्चुअलमा जान सक्दैन भन्ने होइन । तर, रंगमञ्च भनेको रंगमञ्च नै हो । रंगमञ्चलाई क्यामेराले खिच्ने भइसकेपछि त्यो रंगमञ्च भएन । अहिले हामीले गरिरहेको भर्चुअल रंगमञ्च, रंगमञ्च होइन,’ उनले भने, ‘रंगमञ्चमा क्यामेरा छिर्ने बित्तिकै त्यो भिडियो बन्यो । क्यामेरा छिर्नेबित्तिकै रंगमञ्चको माध्यम नै ब्रेक हुन्छ ।’

अवस्था कहिले सहज बन्छ थाहा छैन । लामो समयको असहज परिस्थितिका कारण सबै रंगकर्मीले नाटक मञ्चनका लागि डिजिटल माध्यमलाई पछ्याउने हुन कि भन्ने केदारलाई डर छ । नाटकको सुटिङ सुरु भएको खण्डमा रंगमञ्चको सौन्दर्य सकिने केदार बताउँछन् ।

उनी भन्छन्, ‘त्यो त रंगमञ्च स्टुडियो हुन्छ । जसरी फिल्म बनाउन स्टुडियो बनाएर सुटिङ हुन्छ । त्यस्तै नाटकको सुटिङ हुन थालेपछि त्यो रंगमञ्च हुँदैन,’ उनले भने, ‘भर्चुअल रंगमञ्चले वास्तविक रंगमञ्च सकिन्छ भन्ने होइन । कुनैबेला भर्चुअलरूपमा मात्र नाटक देखाउने प्रणाली सुरु होला । तर त्यो रंगमञ्च हुँदैन ।’

६ महिनासम्म साप्ताहिक रूपमा भर्चुअल उपस्थित भएकी कौसी थिएटरकी आकांक्षा पनि रंगमञ्चको स्वरुप डिजिटल हुनै नसक्ने बताउँछिन् । महामारीका बेला नाटकका दर्शकलाई पनि केही होस्, नाटकले पनि निरन्तरता पाओस् भनेर मात्रै अस्थायी विकल्प खोजिएको उनको भनाइ छ । उनले भनिन्, ‘हामीले पनि लकडाउनमा प्लेब्याक थिएटरलाई रूपान्तरण गरेर अनलाइन माध्यमबाट गर्यौं । यही नै अपनाउन थाल्यो भने रंगमञ्चको सौन्दर्य हराउँछ होला ।’ 

रंगकर्मी घिमिरे युवराज भने अवस्था सामान्य भएपछि पनि यो शैलीलाई अपनाउन सकिने तर्क राख्छन् । प्रविधिलाई प्रयोग गर्न डराउन नहुने उनको तर्क छ । उनी भन्छन्, ‘प्रविधिको प्रयोगले नाटकलाई विस्थापित गर्दैन । यसको अर्कै मिठास छ । पहिले पनि मल्टिमिडिया प्रयोग हुँदा स्टेज मर्छ भन्ने कुरा आयो । प्रविधिलाई दुश्मन मान्ने नै होइन नि ।’

००० ००० ०००  

नेपाल बाहिरका रंगमञ्चमा भर्चुअल रंगमञ्चको अभ्यास धेरै पहिलेबाटै भएको पाइन्छ । सन् २०१० मा एन्टन चेकभको नाटक ‘चेरी अर्चिड’को मञ्चन स्टेजसँगै संसारका ४ सय फिल्म हलबाट एकसाथ प्रत्यक्ष प्रसारण भएको थियो । नेपालमा भने कोरोना महामारीपछि मात्रै यसको अवधारणा विकास भएको हो । नेपालमा पनि कुनै दिन भर्चुअल रंगमञ्च स्थापित हुनसक्ने घिमिरे बताउँछन् ।

उनी आफैंले पनि भर्चुअल रंगमञ्चको सपना देखेको सुनाउँदै भने, ‘शिल्पीमा मञ्चन भइरहेको नाटक विराटनगरका दर्शकले त्यति नै बेला हेर्न पाऊन् भन्ने मेरो सपना हो ।’ तर, पहिले मञ्चन गरेका वा नयाँ नाटकको भिडियो खिचेर प्रसारण गर्नु भर्चुअल रंगमञ्च नभएको बताउँदै घिमिरे युवराज भन्छन्, ‘भर्चुअल नाटक रेकर्ड नगरेरै प्रत्यक्ष प्रसारण गरिन्छ । दर्शकले नाटक हेरिरहेकै समयमा कलाकारले अभिनय गरिरहेका हुन्छन्’, उनले अगाडि थपे, ‘हामीले धेरै दिन भर्चुअल माध्यमबाटै अभ्यास गरेर नाटक प्रत्यक्ष देखाएका हौं ।’

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ७:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया