फ्रन्टलाइनरको सम्मानका लागि रत्नपार्कको आकाशेपुलको पर्खालमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । चार जना चित्रकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर कोभिड-१९ महामारीका बेला फ्रन्टलाइनर भएर खटिएकाहरूको सम्मानमा चित्रकला बनाएका थिए ।
उनीहरूले काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालयबाट त्यसका लागि अनुमति समेत लिएका थिए । तर, महानगर प्रहरीले आज चित्रकला नै मेटाइदिएको हो ।
कोरोना महामारीमा दिनरात नभनी आफ्नो र आफ्नो परिवारको ज्यानको बाजी राखेर खटिएका फ्रन्टलाइनरको सम्मानका लागि कोरिएको चित्रमा महानगरको कुदृष्टि परेको चित्रको परिकल्पनाकार डोजाङ शेर्पाको भनाइ छ ।
चित्रकला कोर्दै गर्दा महानगरका कर्मचारी आएर समेत निरीक्षण गरेका थिए । आज आएर एकाएक मेटाएर गएको डोजाङ बताउँछन् । ‘आज अचानक चित्र मेटाउँदा साह्रै चित्त दुखेको छ । राम्रो काम गर्नु पाप रहेछ । न मेटाउनुपूर्व कुनै जानकारी दिइयो’ ,डोजाङले भने ।
कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरूप्रति सम्मान व्यक्त चित्र कोरिएको थियो । चित्र मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरूलाई लक्षित गरिएको थियो ।
यसअघि हिजो मात्रै काठमाडौं महानगरले कोरोना महामारीको समयमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालको कार्यालय भत्काएको थियो । गत वर्षदेखि कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई हाम्रो टिमले निःशुल्क खाना खुवाउँदै आएको थियो ।
अनामनगरमा रहेको सार्वजनिक जग्गामा कार्यालय बनाएर बसेको बेला काठमाडौं महानगरपालिकाको प्रहरीले कार्यालय भत्काउनुका साथै सामानहरू समेत जफत गरेको थियो । कार्यालयमा रहेको २५ लाख बराबरको सामान महानगरले लगेको हाम्रो टीम नेपालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।