निःशुल्क भ्याक्सिन : मोदीको नयाँ राजनीतिक कार्ड
रुही तिवारी
फरकधार / १७ असार, २०७८

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ मा ‘निःशुल्क कोरोना भ्याक्सिन’ घोषणा गर्नु एक असल नीतिगत निर्णयमात्रै होइन, उनको चतुर राजनीतिक चाल पनि हो । मोदी सरकारको भ्याक्सिन-नीति भयानक रूपमा गलत थियो । त्यो खराब अवधारणा र उबडखाबडयुक्त त थियो नै साथमा त्यसले अपेक्षित समयमा निर्धारित उमेरका भारतीय नागरिकमा खोप वितरण हुन सक्दैनथ्यो । वास्तवमा त्यसले प्रधानमन्त्री मोदी र ‘सुशासन’को उनको दाबीलाई कठघरामा उभ्याउन मसला जुटाउँथ्यो ।



तर मोदी आफ्ना मतदातालाई यो विश्वास दिलाउन माहिर छन् कि, अन्ततः उनी नै जनताका मसिहा हुन्, भलै उनका आलोचकले उनीभित्रका कमजोरी उजागर गर्ने क्षमता नै किन नराखून् ! भ्याक्सिनबारे उनले जे घोषणा गरे, यही कारण त्यो एक चुस्त राजनीति थियो ।

मोदीले एकपटक पुनः देखाए कि, उनी नै मतदाताको मसिहा हुन् र देशका जनतालाई बचाउन उनी अगाडि आएका छन् । तर राज्यसरकार यो काममा विफल रह्यो । तपाईंले केवल उनले राष्ट्रका नाममा दिएको सन्देश पढ्नुपर्छ, त्यसको अन्तर्यमा जानु पनि पर्दैन । तपाईंले बुझिहाल्नु हुन्छ-नयाँ भ्याक्सिन नीतिमार्फत् मोदी कुनखालको सन्देश दिने कोसिस गरिहरेका छन् र उनले राष्ट्रका नाममा दिएको सन्देशलाई भ्याक्सिनकै वरिपरि कसरी बुनिरहेका छन् !



मोदी : दि भ्याक्सिनेटर



केही साताअघि उनले दिएको राष्ट्रका नाममा सन्देशमा उदारता र परोपकारिता टप्किरहेको थियो । १८ वर्षमाथिका नागरिकलाई निःशुल्क भ्याक्सिन लगाउने घोषणा त्यसबेला भएको थियो । तपाईंको आलोचनालाई मोदीले नजरअन्दाज गरिरहेको भन्ने सोच त्यसबखत गलत देखिन्थ्यो । उनी आलोचना सुनिरहेका थिए र ध्यान दिएर सुनिरहेका थिए । 

त्यो सन्देशमा मोदीले आलोचनाका एकएक मुद्दाको जवाफ स्वरुप आलोचकको मजाक उडाएका थिए र आफूलाई बिलकुल सही बताइरहेका थिए । कुरो के हो भने, उनी प्रश्न आफैं उठाउँछन् र जवाफ पनि स्वयम् नै दिन्छन् । जब तपाईं आफैं एकालापमा प्रश्न चयन गर्नु हुन्छ र त्यसको जवाफ पनि दिन सक्नु हुन्छ भने संवादमा थप सवाल-जवाफलाई मौका किन दिनु ?

उनले सबैभन्दा जटिल र महत्वपूर्ण आलोचनाको जवाफ दिने कोसिस पनि गरे, तर भ्याक्सिन संकटका क्रममा उनले राज्यलाई उनीहरुकै तजबिजमा छाडिदिए । उनले स्वास्थ्यसेवा राज्यको जिम्मेवारी भए पनि केन्द्र सरकारको नियन्त्रणमा सबथोक रहेको दाबी गरे । तर जब उनले मे १ तारिखका दिन भ्याक्सिनेसनलाई विकेन्द्रीकृत गरे तब दिल्ली, केरल, राजस्थान, झारखन्ड, ओडिसा र आन्ध्रप्रदेशजस्ता आधा दर्जन राज्यले पुरानै केन्द्रिकृत व्यवस्था लागू गर्न माग गर्न थाले !

त्यसबखत मोदीले भने, ‘यति ठूलो काम गर्दा कस्तोखालको समस्या अगाडि आउँछ, यो मलाई थाहा हुन थाल्यो ।’ तर प्रधानमन्त्री मोदीले यो बताएनन् कि, राज्यहरुलाई केन्द्रको शरणमा जान पर्नुको कारण थियो- विदेशी भ्याक्सिन निर्माता कम्पनीहरुले राज्यसरकारसँग सम्झौता गर्न नचाहनु । र, अहिले सबै नागरिकलाई भ्याक्सिन लगाउनका निम्ति मोदी सरकार अग्रसर हुन थालेको छ ।
सन्देश बिलकुल स्पष्ट छ ।

कतिपय राज्य अनिश्चयको सिकार बनिरहेको, अक्षम छन् र आफ्नो बलबुतामा काम गर्न सक्दैनन् भनी देखाउन मोदी चाहन्थे । थप के पनि चाहन्थे भने– भ्याक्सिन नीति यदि विफल भयो भने त्यो मोदी सरकारका कारण नभई राज्यले भ्याक्सिनमा नियन्त्रण गर्न खोजेका कारण त्यसो भएको हो । एकै झड्कामा मोदीले भ्याक्सिन मोर्चामा भएको गडबडीबाट आफूलाई चोख्याए, बेदाग साबित गरे । र, समर्थकमाझ अब आफूले भ्याक्सिनेसनको जिम्मेवारी लिने तथा त्यो निःशुल्क वितरण हुने कुरा फैलाए ।

उनले घोषणा गरे, ‘भारत सरकारले सबै नागरिकलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने छ ।’ राष्ट्रका नाममा सन्देश प्रसारित गर्नुको उनको उद्देश्य यही घोषणाका साथ पूर्ण हुन पुग्यो । 

मोदी : भरोसा दिलाउन माहिर

नरेन्द्र मोदीलाई आफ्नो नीतिबारे ज्ञान होस् या नहोस्, उनले राजनीति भने निकै राम्ररी बुझेका छन् । मतदाताले उनलाई सबैखाले आरोपबाट मुक्त गरिदिऊन् भन्ने कोणबाट उनले सन्देश तयार गरेका थिए । सोही सन्देशमार्फत् उनले मतदातालाई विश्वास दिलाउनु विशेष कुरा थियो ।

विरोधीले चाहे उनलाई ‘चोर’ भनून्, उनी आफू विश्वसनीय ‘चौकीदार’ रहेको साबित गर्न माहिर छन् । नोटबन्दी गम्भीर नीतिगत त्रुटि थियो, तर मोदीले मानिसमा यसबाट लाभैलाभ भएको बताइदिए, चाहे त्यो अमूर्त नै किन नहोस् ! नोटबन्दीपछि भएको निर्वाचन नतिजाले यसलाई प्रष्ट्याइसकेको छ । 

देश रहस्यमय महामारीबाट त्रस्त भइरहँदा प्रधानमन्त्री मोदीले जनताको हौसला बढाउन ‘थाली र ताली बजाउन’ तयार पारे । उनी हमेसा जनताको उद्धारक रहे । उनले उरीमा हमलाको मौका कसरी मिल्यो भन्ने कुराको जवाफ ‘सर्जिकल स्ट्राइक’बाट दिए । पुलवामामा आतंकवादी हमला हुँदा बालाकोटमा ‘हवाई हमला’ गरेर मोदी पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनाइदिन्छन् !

र, अहिले प्रधानमन्त्रीले आफैं रोकिएको भ्याक्सिनेसनबारे जवाफ दिएका छन् । मोदीले आफ्नो सन्देशमा ‘अरुले त सक्दैनन्, म गरिदिन्छु’ भन्ने आशय झल्काएका छन् । उनले त्यही काम गरे, जसमा उनी माहिर छन् । अर्थात्, उनले राजनीतिको चालबाज खेललाई थप चुनौतीपूर्ण बनाइदिएका छन् । 
उनले दिएको ‘राष्ट्रका नाममा सन्देश’ उनको अर्को एउटा ‘मनको कुरा’ थियो । यसमार्फत् उनी मतदातालाई विश्वास दिलाउन सफल भए । 

(रुही तिवारी ‘दिप्रिन्ट’की एसोसिएट इडिटर हुन् । दिप्रिन्टबाट अनूदित तथा सम्पादित)
 

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १०:३२:२,   अन्तिम अपडेट : असार १७, २०७८ बिहीबार १०:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया