सय वर्षको ‘चिनियाँ कम्युनिस्ट पार्टी’

आज जुलाई १, अर्थात् चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) स्थापनाको सय वर्ष पुगेको दिन । पछिल्ला समय सिसिपीले युवामाझ आफ्नो पहुँच बढाउने प्रयासलाई तीव्र पारेको छ ।

राष्ट्रपति सी जिनफिङले सीसीपीको कथा युवा वर्गमा पुर्‍याउन र यससँग जोडिएका अहम् जानकारी दिएर शिक्षित गराउन जोड दिएका छन् । सोसल मिडियामा प्रचार कार्यक्रम सुरु गर्नेदेखि लिएर, प्रमुख विश्व विद्यालयहरूमा सिसिपीबारे पढाइका लागि रिसर्च सेन्टर स्थापनासम्मको कुरा अघि सारिएका छन् । यस्तो लाग्छ, चीन सरकार देशको खास वर्गलाई लोभ्याउने प्रयास गरिरहेको छ । 

मिडियाहरूले पनि अन्य पहलका साथै राष्ट्रपति सीले विद्यार्थीसँग गरेको कुराकानीलाई प्रमुखताका साथ छाप्ने र प्रशारण गर्ने काम गरेका छन् । पार्टीले युवालाई सिसिपीको प्रभाव पार्न विभिन्न उदाहरण दिन थालेको छ ।

साइबरस्पेसमा ‘युवा आदर्श’

जुन १८ मा ‘राइटिङ दि युथ च्याप्टर अन दि मदरल्यान्ड’ पहल सुरु गरिएको छ । यसलाई चीनको शिक्षा मन्त्रालय, सेन्ट्रल साइबरस्पेस एडमिनिस्ट्रेसन, कम्युनिस्ट युथ लिगको केन्द्रीय समिति र बेइजिङ युनिभर्सिटीले संयुक्त रूपमा प्रायोजन गरेका थिए । 

चर्चित पोर्टल ‘सोहुडटकम’को जुन २१ को रिपोर्टअनुसार, ‘राइटिङ दि युथफुल च्याप्टर अन दि मदरल्यान्ड’को पहलले न्यु मिडिया उत्पादनलाई अघि सार्ने छ, वैचारिक तथा राजनीतिक शिक्षाका लागि एक अनलाइन प्रचारतन्त्र तयार गर्ने छ र साइबरस्पेसमा ‘युवा आदर्श’मा केन्द्रित सेमिनार आयोजना गर्ने छ ।



पार्टी सय वर्ष पुग्नुअघि मे महिनामा ‘ऐतिहासिक शून्यवाद’माथि आएको २० लाखभन्दा बढी पोस्ट(कमेन्ट) हटाउने चीनको निर्णयलाई दृष्टिगत गर्दा सिसिपीको यो कदम विशेष रहेको मानिएको छ । गत वर्ष जुनमा भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सैनिकको अपमान गरेको आरोपमा फेबु्रअरीमा तीनजना ब्लगर्सलाई गिरफ्तार गरिएको थियो । ती ब्लगर्समध्ये एकले आफ्नो पोस्टमा उक्त झडपमा चिनियाँ सैनिकतर्फको हताहतीको आँकडामा प्रश्न उठाएका थिए । 

संस्कृतिको आडमा प्रोपोगान्डा



चिनियाँ सरकारी मिडियाहरू ‘रेड टुरिज्म’ बढेको बताउँछन् । पर्यटक जाने ऐतिहासिक स्थानहरूको प्रवद्र्धन गर्ने र बढावा दिने चीन सकारले बताएको छ । 

ग्लोबल टाइम्सका अनुसार, मे ४ का दिन जब चीन युवा दिवस मनाइरहेको थियो तब देशको क्रान्तिकारी विरासतको सम्मानमा ती ऐतिहासिक स्थलको भ्रमणमा पुगेका पर्यटक ‘रेड टुरिज्म’को ताकत बन्ने र देशभक्तिको माहोल सृजना हुने अपेक्षा थियो । सांघाईको एक वेबपत्रिका ‘सिक्स्थ टोन’मुताबिक शताब्दी वर्षको अगुवाइमा र्‍याप कलाकारहरूले ‘१०० प्रतिशत’ शीर्षकमा एक गीत रिलिज गरेका थिए, जसमा चीनले गरेको उपलब्धिको बयान गरिएको छ । त्यसमा फाइभजी टेक्नोलोजी र देशले हालै गरेको अन्तरिक्ष कार्यक्रमको प्रशंसा गरिएको छ । 

उक्त गीतमा सय र्‍यापपर्समध्ये एक मर्सीले अमेरिका, क्यानडा र जर्मनीसमेत जी-७ देशको आलोचना गरेका छन् । तिनले जी-७ ले चीनको विरोध गरेको आरोप लगाएका छन् । 

विश्वविद्यालयका विद्यार्थीमा केन्द्रित

शताब्दी वर्षको आयोजनाअघि जुन २२ मा राष्ट्रपति सीले पेकिङ युनिभर्सिटीमा अध्ययन गरिरहेका ३२ विदेशी विद्यार्थीका प्रतिनिधिहरूको पत्रको जवाफ दिएका थिए । त्यसमा वैश्विक पहुँचलाई थप बलियो बनाउने सीको प्रयास झल्कन्थ्यो । आफ्नो प्रतिक्रिया दिँदै सीले विद्यार्थीमाझ सबै देशसँग मित्रता बढाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार, सीले सिसिपी सय वर्ष पुगेको उपलक्ष्यमा २०२१ समाजवादलाई आधुनिकीकरण गर्ने दिशामा चीनले नयाँ यात्रा सुरुवात गर्ने वर्षका रूपमा व्याख्या गरेका थिए । मे महिनामा पेकिङ युनिभर्सिटीले सीसीपीको इतिहास पढाउन एक नयाँ एकेडेमिक रिसर्च इन्स्टिच्युटको उद्घाटनसमेत गरेको थियो ।

ग्लोबल टाइम्सको मे ५ को एक रिपोर्टमा भनिएको छ-बेइजिङस्थित समीक्षकहरूलाई उद्धृत गर्दै सिसिपी स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा उक्त केन्द्रको स्थापनाले के संकेत गर्छ भने, पार्टी आफ्नो इतिहासमाथि अनुसन्धान र शिक्षामा समेत मजबुत बन्दै गएको छ ।

युवामा असन्तोष

युवा पिँढीलाई दृष्टिगत गर्दै हालका दिनहरूमा सिसिपीले गरेको पहल देख्दा केही आश्चर्य पैदा हुन्छ । खासगरी युनिभर्सिटीका विद्यार्थीले सिसिपीको इतिहासलाई आकार दिने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसका कतिपय सुरुवाती सदस्य १९१९ को ‘मे फोर्थ आन्दोलन’ छाडेर आएका थिए ।

पार्टीको युवा शाखा कम्युनिस्ट युथ लिग पछिल्लो समय देखिएको गुटबन्दीबाट त्रस्त छ । यति हुँदाहुँदै पनि पार्टी युवाबीच आफ्नो पहुँच बढाउन सफल देखिन्छ । 
राष्ट्रपति बनेपछि सीले कम्युनिस्ट युथ लिगमा माथिल्लो तहमा पुगेका नेतालाई लाइनमा उभ्याइदिएको थिए । खासगरी यसमा सिसिपी युथ लिगका प्रमुख किन यिझीको नाम आउँछ, उनलाई २०१७ मा तल झारिएको थियो । 

चीनका युवामा त्यहाँको कठोर ‘वर्क कल्चर’समेत कतिपय मुद्दामा असन्तोष छ । मे महिनामा सोसल मिडियामा युवा युजर्सले देशमा कन्ट्र्याक्ट नोकरी बजार र घट्दो रोजगारी अवसरलाई लिएर निराशा प्रकट गरेका थिए । उक्त पोस्टमाथि धेरैको ध्यान गएको थियो । कार्यक्षेत्रमा बढ्दो कामको दबाबको विरोधमा युवाले यस्ताखालका आन्दोलन नै सुरु गरेका थिए । 

सरकारी मिडिया भने यस्तो चलनको आलोचना गर्छ । ग्वाङ्झुको अखबार नानफेङले यसलाई ‘शर्मनाक’ बताएको छ । आधिकारिक चाइना डेलीले जुनको पहिलो दिन युवाको विमतिप्रति सहानुभूति प्रकट गरेको थियो । तर निराशावादलाई बढाइचढाइ गरेको भन्दै आलोचना पनि गरेको थियो ।

त्यसमा लेखिएको थियो- यो राम्रो कुरा हो, युवाको चिन्ता हटाउन सकियोस् भनेर सरकारले बाटो पत्ता लगाउँदै छ । हालैका वर्षहरुमा घरहरूको रकम कम गर्ने र युवाका लागि सार्वजनिक भाडाका घरहरूको उपलब्धता वृद्धि गर्ने दिशामा चीनले आफ्नो प्रयास कायम राखेको छ ।  

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ११:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया