सुरु भए राेकिएका चलचित्रकाे काम

यसै साताबाट काठमाडौंमा जारी निषेधाज्ञाको मोडालिटी चेन्ज गरेर खुकुलो बनाइयो । निषेधाज्ञा खुकुलो भएसँगै मनोरञ्जन क्षेत्र पनि चलायमान बन्दै गएको छ । केही सातादेखि बन्द रहेका ‘रियालिटी शो’ पुनः छायांकन र प्रसारण हुन थालेका छन् । टेलिसिरियलहरूले नियमित प्रसारण सुरु गरेका छन् ।

केही चलचित्रकर्मीहरूले छायांकन सकिएका चलचित्रको डबिङ सुरु गरेका छन् । केही चलचित्रकर्मी नयाँ चलचित्र लिएर छायांकनमा निस्कने तयारीमा जुटेका छन् । पुराना अभिनेता धिरेन शाक्य पनि २ चलचित्रको छायांकनमा निस्कने तयारीमा छन् ।

धिरेन अर्को साताबाट चलचित्र ‘चिकन चाया ढेवा ने ठाकु’को छायांकनमा निस्कने तयारीमा लागेका छन् । चलचित्रलाई राजेन्द्र खड्गीले निर्माण तथा निर्देशन गर्नेछन् । केही भाग छायांकन भएको चलचित्र निषेधाज्ञा जारी भएसँगै रोकिएको थियो । चलचित्रको पहिलो छायांकन दुबईमा हुनेछ । असार १८ गते चलचित्र टिम दुबईमा जानेछ

दुबईमा छायांकन सकिएपछि बाँकी भाग बैंककमा छायांकन गर्ने तयारी भइरहेको धिरेनले जानकारी दिए ।

नेवारी भाषाको चलचित्र ‘चिकन चाया ढेवा ने ठाकु’ सँगै धिरेन अर्को चलचित्र ‘मञ्जिल’को छायांकनमा पनि सक्रिय हुनेछन् । प्रस्तुत चलचित्रको पनि केही भाग छायांकन भइसकेको छ । निषेधाज्ञाका कारण रोकिएको चलचित्रको बाँकी दृष्य पनि अर्को साताबाट छायांकन गर्ने तयारी गर्दै गरेको धिरेनले बताए ।

यस्तै गरी छायांकन सकेर बसेको चलचित्र ‘तिम्रो मेरो साथ’ले डबिङ सुरु गरेको छ । चलचित्रका शीर्ष कलाकार साम्राज्ञी शाह र पुष्प खड्का अहिले रेड स्टुडियोमा स्वरांकन गरिरहेका छन् ।



रमेश एम के पौडेलले निर्माण तथा निर्देशन गरेको यो चलचित्रको कथा सवीर श्रेष्ठले लेखेका हुन् । शिव ढकालले छायांकन गरेको चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

चलचित्र नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशबाट प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । महामारी सामान्य भएको अवस्थामा नेपालमा दशैँ र तिहारको बीचमा चलचित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 



  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ११:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया