रोमाञ्चक बन्दै वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको टि-२० सिरिज

घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध ५ खेलको टि-२० सिरिजको चौथो खेलमा २१ रनको जित दर्ता गरेको छ ।
 
वेस्ट इन्डिजको यो जितसँगै सिरिज रोमाञ्चक मोडमा पुगेको सिरिज विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । 

वेस्ट इन्डिजले दिएको १६८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डि ककले र्अशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

उनले ४३ बलमा ६ चौका र २ छक्काको मद्दतले ६० रनको योगदान दिए । एडिन माक्रमले २० र कागिसो राबडाले अविजित १६ रन जोडे । 

वेस्ट इन्डिजका ड्वेन ब्राभोले ४ र आन्द्रे रसेलले २ विकेट हात पार्दा क्रिस गेल, ओवेड म्याकक्वे र किरोन पोलार्डले समान १-१ विकेट लिए ।

यसअघि नेशनल क्रिकेट मैदानमा बिहीबार राति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।



वेस्ट इन्डिजका लागि कप्तान किरोन पोलार्डले अविजित ५१ रनको योगदान दिए । २५ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । लिन्डल सिमोन्सले ४७ र फाबियन एलनले अविजित १९ रन बनाए ।
 
दक्षिण अफ्रिकाका लागि ताबरेज साम्सी र जर्ज लिन्डेले समान २-२ विकेट लिदाँ एनरिच नोत्जे र कागिसो राबडाले समान १-१ विकेट हात पारे ।

वेस्ट इन्डिजको यो जितसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी हुँदा, दक्षिण अफ्रिका दोस्रो खेलमा १६ र तेस्रो खेलमा १ रनले विजयी भएको थियो । पाँचाैँ तथा अन्तिम खेल जुलाई ३ मा हुनेछ । 
 



  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार ७:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया