उफ् यो गर्मी !

अमेरिका, क्यानडा र भारतका केही स्थानमा यो वर्ष गर्मीले रेकर्ड तोड्यो । गर्मीकै कारण सयौँ मानिसको ज्यान गयो । लू अर्थात् हिड वेभले कतिपय मानिसको जीवन कष्टकर बन्न पुग्यो । मंगलबार क्यानडामा ४९.५ डिग्री सेल्सियस तापक्रम पुग्यो । यसअघि त्यहाँ ४५ डिग्री कहिल्यै नाघेको थिएन ।
यसअघि क्यानडालाई चिसो ज्यादा हुने मुलुकका रूपमा चिनिन्थ्यो, अब परिचय बदलिएको त्यहाँका वातावरण वैज्ञानिक डेभिड फिलिप बताउँछन् ।

क्यानडामा यति चिसो हुन्थ्यो कि सडकहरूमा बरफ जमेर सवारी चलाउन कठिन बन्थ्यो । यस्तो रेकर्ड तोड्ने गर्मी हुनुको कारण ‘हिट डोम’ रहेको जानकारहरू बताउँछन् । हिट डोम तातो हावाको पहाड हो, जुन तीव्र हावाको लहरको उतारचढावबाट बन्छ । तातो हावा वातावरणको माथिल्लो तहमा फैलन्छ र उच्च दबाबले बादललाई डोमबाट पर धकेलिदिन्छ । 

क्यानडाका साथै उत्तरपश्चिम अमेरिकामा पनि यस पटक रेकर्ड तोड्ने गर्मी भयो । अमेरिकाको नेसनल वेदर सर्भिसले सोमबार उत्तरपश्चिम अमेरिकाको पोर्टल्यान्ड, ओरेगनमा ४६.१ डिग्री तापक्रम पुगेको जनाएको छ । सियाटल, वासिङ्टनमा ४२.२ रह्यो । अमेरिकामा जबदेखि तापक्रम रेकर्ड गर्न थालियो, तबदेखि यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन ।
 
पोर्टल्यान्डमा त स्ट्रिट कार सर्भिस नै बन्द गर्नुपर्यो, किनकि गर्मीका कारण केबलको तार नै पग्लिन पुगेको थियो । उता छिमेकी भारतको चुरु र फलोदीमा ५० डिग्री तापक्रम पुग्यो । 

मानिसको शरीरले कतिसम्म तापक्रम सहन सक्छ ?

जब गर्मीले केबलकारको तार नै पगाल्न थाल्छ, तब मानव शरीरमा त्यो तहको तातोले कस्तो असर गर्ला ? यस्तो बेला प्रश्न के उठ्छ भने, मानव शरीरले कतिसम्म तापक्रम सहन सक्छ ? चिकित्सकहरूका अनुसार अधिक ताताले मानवलाई ‘हिट स्ट्रोक’को खतरा बढाइदिन्छ ।

राजस्थान मेडिकल एन्ड हेल्थ निर्देशक भन्छन्, ‘गर्मी होस् या जाडो हाम्रो शरीरले तापमान ३७.५ डिग्री सेल्सियस कायम राख्न काम गरिरहेको हुन्छ ।’ दिमागभन्दा पछाडिको भाग (हाइपोथेलेमस)ले शरीरभित्र तापमान नियमन गर्ने काम गर्छ । पसिना निस्कनु, मुख खोलेर स्वास लिनु, दिक्क हुँदा खुल्ला स्थानमा जानुजस्ता क्रियाकलाप शरीरभित्र बनेको एक सिस्टम हो, जसले तापमानलाई नियन्त्रणमा राखेको हुन्छ । शरीरभित्र तापमान बढ्दा हाम्रा धमनी (ब्लड भेसेल्स) पनि चौडा बन्छ र रगतलाई शरीरका विभिन्न हिस्सामा मिलाएर पठाउँछ । 
 
मानव शरीर ३७.५ डिग्रीमा काम गर्नका लागि बनेको हुन्छ । त्योभन्दा दुई-चार डिग्री तल-माथि हुँदासम्म शरीरले थाम्छ । तर निकै नै तल-माथि हुन गयो भने समस्या उत्पन्न हुन थाल्छ ।



अमेरिकाको इन्डियाना विश्व विद्यालयका प्राध्यापक ज्याकरी जे स्लेडरका अनुसार मानव शरीरले कतिसम्म तापक्रम सहन सक्छ भन्ने यकिन छैन । ‘कतिबेरसम्म मानिस अधिक तापक्रममा बसिरहेको छ, शारीरिक गतिविधिको स्तर कस्तो छ, कस्तो कपडा लगाएको छ, अनुकूलनको अवस्था कस्तो छ आदि जस्ता कुराले तापमानसँग जुध्न मानिसलाई मद्दत गर्ने उनको भनाइ छ । 

गर्मीसँगै मौसममा आद्रता अर्थात् ह्युमिडिटी बढ्न थाल्छ । यसले पसिना निकाल्छ । शरीरलाई गर्मीबाट छुट्कारा दिलाउन पसिना वाष्पीकरणमा अधिक निर्भर गर्छ । हावामा कति पानी छ भन्ने कुरामा निर्भर गर्छ ।



हाइपरथर्मियाको डर

आर्द्रता अधिक हुँदा स्वासप्रस्वास सम्बन्धी कार्य कठिन बन्ने चिकित्सकहरू बताउँछन् । जब पसिना बढी निस्कन्छ तब शरीरमा पानीको मात्रा कम हुन थाल्छ । मानिसल जब सूर्यको किरणलाई सीधा झेल्छ, तब शरीरको पानी घट्न थाल्छ । पसिना र पिसाबबाट शरीरको पानी निस्कन्छ । 

यस्तो अवस्थामा मानिसले बाहिरबाट शरीरमा पानी नपठाउने हो भने भित्रको तापक्रम (३७.५ डिग्री) सामान्यबाट माथि उक्लन थाल्छ । त्यसपछि ज्वरो आउन सक्छ । कहिलेकाहीँ त भयानक अवस्था नै बन्न सक्छ । यसलाई हाइपरथर्मिया भनिन्छ ।

बाहिरको तापक्रम विस्तारैविस्तारै बढ्दा मानव शरीरले केही हदसम्म सहन सक्छ । तर जब तापक्रम ह्वात्तै बढ्छ, तब शरीरले थेग्न सक्दैन । स्वास छिटोछिटो चल्नु, पसिना अधिक आउनु, शरीर तात्न थाल्नु र पल्सरेट ८५ देखि १०० सम्म पुग्नुलाई चिकित्सकहरू ‘हिट स्ट्रोक’ भन्छन् । मानिसको अवस्था उल्लिखितभन्दा पनि खराब भई मांसपेशी दुख्नु, छाला खुम्चनुजस्ता कठिनाइ आएको अवस्थालाई ‘हिट एक्जसन’ भनिन्छ । 

लामो समयसम्म अधिक गर्मी झेल्नुपर्दा कठिनाइ अझै बढ्न थाल्छ । बढी उमेरका मानिस र कम उमेरका बालबालिका तथा पहिलादेखि नै किड्नी, हार्ट, डायबिटिजजस्ता रोग लागेका व्यक्तिलाई बढी गर्मीले ज्यानै लिन सक्छ । कहिलेकाहीँ शरीरका केही अंगहरूले काम गर्नै छाड्छन् । 

कसरी जोगिने ?

हिट स्ट्रोकको सिकार भएका बिरामीको लक्षणअनुरूप उपचार हुनु आवश्यक छ । तर त्योभन्दा अगाडिको अवस्थामा शरीरलाई चिसो बनाउने उपाय अपनाउनु जरुरी हुन्छ । पहिला पसिना पुछ्ने, त्यसपछि शरीरलाई चिसो कपडाले पुछ्ने– यसलाई ‘कोल्ड स्पन्जिङ’ भनिन्छ । यति गरिसकेपछि तरल पदार्थ पिउने व्यवस्था मिलाउनुपर्छ । त्यसपछि पनि स्वास्थ्यमा सुधार नआएमा तत्कालै चिकित्सककोमा पुर्याउनु पर्छ ।

पृथ्वीमा अधिक तापमान

क्यानडा र उत्तरपश्चिम अमेरिकामा अहिले जति तापमान छ, त्यति भारतसमेत अन्य कतिपय मुलुकमा पनि देखिएको छ । क्यालिफोर्नियाको डेथभ्यालीमा अगस्ट १६, २०२० मा ५५ डिग्री सेल्सियस पुगेको थियो । फरनेस क्रिक नामक स्थानमा १९१३ मा ५६.६ डिग्री तापक्रम पुगेको थियो । ट्युनिसियामा १९३१ मा ५५ डिग्री मापन गरिएको थियो ।

कतिपय विशेषज्ञहरू तापक्रम मापनको विधिमा सहमत देखिँदैनन् । कतिपय स्थानमा डेथभ्यालीको भन्दा बढी तापक्रम पुगेको हुनुपर्ने उनीहरूको भनाइ छ । 

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १३:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया