सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने सम्झौता गरेको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीन सरकारको अनुरोधमा खोप खरिद प्रक्रिया तथा मूल्य भने गोप्य राखिएको छ । चीनले यसअघि नै डिस्क्लोजेवल एग्रिमेन्ट (एनडिए) गरेर मात्र खोप दिने बताउँदै आएको थियो । चीनले पाकिस्तान र बंगलादेश लगायतका देशसँग पनि यस्तै एनडिए सम्झौता गरेर खोप दिँदै आएको छ ।
नेपालले केही समय अगाडिदेखि नै खोपका लागि ताकेता गर्दै आएको थियो । तर, चिनियाँ कम्पनीले एनडिए सम्झौता गरेर मात्र दिने बताएको थियो । जसले गर्दा स्वास्थ्य मन्त्रालयले खोप खरिद सम्झौता गर्न सकेको थिएन । मन्त्रिपरिषद् बैठकले खोप खरिदका लागि सैद्धान्तिक सहमति दिएसँगै सरकारले चीनसँग खोप खरिदका प्रक्रियालाई अगाडि बढाएको थियो ।
चीनले तत्काल १० लाख डोज खोप उपलब्ध गराउनेछ । १० लाख डोज खोप यसै साता आउनेछ । त्यसका लागि यही जुलाई ८ तारिखमा नेपाल एयरलाइन्सको विमान चीनका लागि उड्नेछ । त्यहाँबाट १० लाख डोज खोप ल्याउने नेपाल वायुसेवा निगमले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमै खोप आउने बताएका छन् । आज बसेको केन्द्रीय कमिटीको १३ औँ बैठकमा सम्बोधन गर्दै भने, ‘पर्सिदेखि चाहिने जति खोप आउँछ ।’
अब खोपको समस्या हटेको भन्दै चाहिनेजति खोप आउने र सहज रूपमा खोप दिइने उनको भनाइ छ ।
चीनबाट आउने खोपको मूल्यको विषयमा भने नेपाल र चीन दुवैले गोप्य राखेका छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भन्छन्, ‘अहिले खोप सम्झौता यसरी गरियो भन्यौँ भने भोलि सम्झौता तोडिन सक्छ । त्यसैले अहिले प्रमुख कुरा भनेको खोप पाउनु हो ।’
नेपालले यसअघि भारतबाट ल्याएको भन्दा बढीमा खोप ल्याउन लागेको हो । नेपालले भारतबाट चार डलरमा कोभिशिल्ड खोप ल्याएको थियो । चीनबाट भने त्योभन्दा बढी मूल्यमा ल्याउने गरी सम्झौता गरिएको मन्त्रालयका ती अधिकारीले बताए ।
चीनले यसअघि पनि १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ । चीनले अनुदानमा खोप दिनुभन्दा अगाडि नै नेपालले भारतबाट २० लाख डोज कोभिशिल्ड खोप किनेको थियो । जसमध्ये १० लाख डोज नेपालले पाएको थियो भने १० लाख डोज अझै पाउन सकेको छैन । भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यसम्ममा मात्र खोप उपलब्ध गराउन सकिने बताउँदै आएको छ ।
भारत सरकारले नै खोप निर्यातमा रोक लगाएपछि नेपाल लगायतका थुप्रै देश समस्यामा परेका छन् । भारतबाट खोप अवरुद्ध भएपछि नेपालले चीन र अमेरिकासँग खोप खरिद प्रक्रिया अगाडि बढाएको थियो । अमेरिकाको जोनसन एण्ड जोनसन खोप उत्पादन कम्पनीले भने तत्काल खोप दिन नसकिने जनाउँदै आएको छ ।
यसअघि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख मानिसले दोस्रो डोज पाउन सकेका छैनन् । नेपालले सेरमको विकल्पमा अन्य खोपका लागि पनि पहल गर्दै आएको छ । तर अहिलेसम्म कतैबाट पनि सकारात्मक जवाफ नआएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपालले कोभिशिल्डको खोप सट्टा अस्ट्राजेनिकाकै अन्य खोप लगाउनको लागि विभिन्न देशका खोप उत्पादक कम्पनीसँग छलफल गर्दै आएको छ । नेपालले बेलायत, रुस, युरोपियन युनियन, कोभ्याक्स सुविधा लगायतसँग खोपका पहल गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।