यस वर्ष बलुन डि'ओर जित्ने सम्भावना बोकेका १० खेलाडी

बलुन डि'ओर फुटबल खेलाडीले जित्ने सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड हो । यो अवार्ड हात पार्ने सबै खेलाडीको चाहना हुन्छ । 

फ्रेन्च फुटबल म्यागेजिन प्रदान गर्न सुरुवात गरेको यो अवार्डमा खेल पत्रकार, फिफा सदस्यता प्राप्त देशका कप्तान तथा प्रशिक्षकको भोटलाई आधार मानेर यसको विजेता घोषणा गरिन्छ ।

गत वर्ष कोरोना महामारीका कारण प्रदान नगरिएको यो अवार्ड यसपटक भने प्रदान गरिने छ । यसपटक बलुन डि'ओर जित्न सक्ने १० खेलाडीको सूची सार्वजनिक भएको छ ।

यी हुन अवार्ड जित्न सक्ने खेलाडी 


१०.ब्रुनो फर्नान्डेस (पोर्चुगल/म्यानचेस्टर युनाइटेड )
युरो कपमा ब्रुनो फर्नान्डेसको प्रदर्शन सोचे अनुरुप हुन सकेन । युरोमा पोर्चुगलको यात्रा अन्तिम १६ भन्दा अघि बढेन ।

उनले गत सिजन म्यानचेस्टर युनाइटेडका लागि भने उत्कृष्ट प्रदर्शन गरे । यही प्रदर्शनले २६ वर्षीय फर्नान्डेजलाई बलुन डि ओर जित्न सक्ने खेलाडीको रुपमा उभ्याएको छ । 



गत सिजन दोस्रो स्थानमा रहेको युनाइटेडका लागि २६ वर्षीय एट्याकिङ मिडफिल्डर फर्नान्डेसले २८ गोल गर्नुका साथै १७ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

९.रुवेन डियास ( पोर्चुगल/म्यानचेस्टर सिटी) 
गत सिजन सिटीलाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डियास लिगका उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । 



२४ वर्षीय यी सेन्टर ब्याकले सिटीलाई च्याम्पियन्स लिग फाइनल पुर्याउन पनि महत्वपूर्ण भूमिका निभाए । 

८.इर्लिङ हल्यान्ड (नर्वे/बेरुसिया डर्टमन्ड)
नर्वेले यसपटकको युरो कपका स्थान सुरक्षित गर्न सकेन । तर, उसका २० वर्षीय स्ट्राइकर इर्लिङ हल्यान्डले भने क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे ।

उनले गत सिजन डर्टमन्डका ४१ गोल गर्नुका साथै १२ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

उनले आफूलाई बलुन डि'ओर जित्न सक्ने बलियो प्रत्यासीका रुपमा स्थापित गरेका छन् । 

७. ह्यारी केन (इङ्ल्यान्ड/टोटनहम)
इङ्ल्यान्डको राष्ट्रिय टोलीका कप्तान ह्यारी केन प्रिमियर लिगका उत्कृष्ट फरवार्डमध्ये एक हुन् । टोटेनहमका लागि उत्कृष्ट प्रदर्शन गरेका उनले गत सिजन गोल्डन बुट र प्ले मेकर अवार्ड हात पारेका थिए ।

२७ वर्षीय केनले गत सिजन क्लबका लागि ३३ गोल गर्नुका साथै १७ गोलका लागि अवसर सिर्जना गरे । उनले जारी युरो कपमा देशका लागि १ गोल गरेका छन् । 

६.केभिन डे ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी)
डे​ ब्रुएन वर्तमान समयका एक उत्कृष्ट मिडफिल्डर हुन् । उनले देश र क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

उनी गोल गर्न र गोलका लागि अवसर सिर्जना गर्न माहिर छन् । ३० वर्षीय ब्रुएनले सिटीका लागि गत सिजन १० गोल गर्नुका साथै १८ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

बेल्जियमलाई युरो कपको क्वाटरफाइनलसम्म पु¥याउन महत्वपूर्ण भुमिका निभाएका ब्रुएनले प्रतियोगितामा १ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरेका छन् ।  

५.लियोनल मेस्सी (अर्जेन्टिना/बार्सिलोना )
सर्वाधिक ६ पटकका बलुन डि'ओर विजेता लियोनल मेस्सी यसपटक पनि दाबेदारका रुपमा देखा परेका छन् । 

मेस्सीले गत सिजन मध्यम प्रदर्शन गरे । बार्सिलोनाका लागि ३८ गोल गर्दा १४ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

३४ वर्षीय मेस्सीले जारी कोपा अमेरिकामा भने अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

अर्जेन्टिनाको कप्तानी गरिरहेका मेस्सीले प्रतियोगिताको समूह चरणमा ३ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना गरे ।

४.क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्टस्)
उमेरले रोनाल्डो ३६ वर्षका भइसकेका छन् । तर, उनको प्रदर्शन भने कुनै युवा खेलाडीको भन्दा कम छैन ।

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले युरो कपमा अन्तिम १६ भन्दा अगाडिको यात्रा तय गर्न सकेन । तर, उनले समूह चरणका ३ खेलमा ५ गोल गर्नुका साथै १ गोलका लागि अवसर सिर्जना गरे ।

उनले युभेन्टसका लागि गत सिजन ३६ गोल गर्नुका साथै ४ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

३.केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)
युवा फरवार्ड एमबाप्पेका लागि यो युरो बिर्सन लायक रह्यो । उनले स्विट्जरल्यान्ड विरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्स अन्तिम १६ बाटै बाहिरियो । 

युरो कपमा गोलविहीन हुँदै फर्किएका एमबाप्पे गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) का लागि भने उत्कृष्ट प्रदर्शन गरे ।

२२ वर्षीय एमबाप्पे गत सिजन क्लबका लागि ४२ गोल गर्नुका साथै ११ गोलका लागि अवसर सिर्जना गरेका थिए । 

२. एन्गोलो कान्टे (फ्रान्स/चेल्सी )
युरो कपमा कान्टेले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् । ३० वर्षीय सेन्टर मिडफिल्डर कान्टेले गत सिजन चेल्सीलाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको गतिलाई रोक्न कुनै पनि विपक्षीलाई निकै गाह्रो पर्छ । 

१.रोबर्टंं लेवान्डोस्की (पोल्यान्ड/वायर्न म्युनिख )
लेवान्डोस्की गत वर्ष बलुन डि'ओरको नजिक पुगेर पनि अभागी सावित भए ।  कोरोना महामारीका कारण यो अवार्ड कसैलाई पनि प्रदान गरिएन ।

लेवान्डोस्कीले यो वर्ष पनि आफूलाई यो अवार्डको प्रमुख दाबेदारका रुपमा स्थापित गरेका छन् ।

वायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३२ वर्षीय लेवान्डोस्कीले गत सिजन ४८ गोल गर्नुका साथै ९ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

युरो कपमा लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डले समूह चरण पार गर्न सकेन । तर, उनले टोलीका लागि ३ गोल गरे । 

(यो सामग्री स्पोर्टस्किडाबाट साभार गरिएको हो ।)

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १७:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया