चीनबाट आउने कोरोना खोप कसले पाउँछ ?
सांकेतिक तस्बिर

असार २५ गते चीनबाट १० लाख डोज भेरोसेल खोप आउँदैछ । नेपालले चीनसँग किनेको खोपको पहिलो लट खोप ल्याउन नेपाल वायुसेवा निगमको विमान असार २४ गते चीन जाँदैछ । त्यहाँबाट १० लाख डोजभन्दा बढी खोप ल्याउनेछ ।

नेपाल ल्याएको एकसाताभित्रै खोप वितरण गरिसक्नेगरी स्वास्थ्य सेवा विभागले तयारी थालेको छ । उक्त खोप कसलाई लगाउने भन्ने अहिले नै निर्णय भने भइसकेको छैन । 

सरकारले कुनै समूह नतोकेको खण्डमा यसअघिको प्राथमिकताका आधारमा नै खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । 

अहिलेसम्म सरकारले फ्रन्टलाइनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शव वाहन चालक, पत्रकार, कूटनीतिक नियोग, सरकारी कर्मचारी लगायतलाई खोप दिइसकेको छ । 

त्यस्तै दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिइएको छ । अब ६० वर्षभन्दा मुनिको समूहलाई र पहिला छुटपुट भएकालाई पनि खोप दिइने डा. गौतमले बताए । 

अब सरकारले यसअघि तोकेको प्राथमिकता अनुसार ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहकालाई खोप दिइनुपर्छ । सोही आधारमा खोप लगाउन सकिने उनको भनाइ छ ।



अब आउने खोपले अन्य अत्यावश्यक सेवामा रहेकालाई पनि प्राथमिकतामा राखिने डा. गौतमको भनाइ छ । 

यसअघि सरकारसँग पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालकहरूले पनि खोप मागेका थिए । त्यस्तै शिक्षकहरूले समेत खोपका लागि दबाब दिँदै आएका छन् । अब बिस्तारै खोप सहज हुँदै गएको भन्दै सबैलाई खोप दिइने उनले बताए ।



यसअघि चीनबाट अनुदानमा आएको १० लाख डोज खोपलाई उमेर समूह अनुसार  नै लगाइएको थियो । उक्त खोपको पहिलो मात्रा लगाएकाले असार २२ गतेदेखि दोस्रो डोज लगाइने भएको छ । सरकारले ६० वर्षदेखि ६४ वर्षकालाई लगाउने भनिएकोमा खोप नपुग्ने देखिएपछि अन्तिममा उमेर समूह परिवर्तन गरिएको थियो । समूह परिवर्तन गरेर ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका लागि खोप दिइएको थियो । 

चीनबाट सरकारले किन्न लागेको खोप पहिला पटक आउन लागेको छ । यसअघि चीनले १८ लाख डोज अनुदानमा दिएको थियो । नेपालमा अहिलेसम्म ७ लाख ७६ हजार ३८२ जनाले पहिलो डोज र २ लाख ९८ हजार १० जनाले दोस्रो डोज भेरोसेल खोप लगाएका छन् ।

त्यस्तै १८ लाख २८ हजार ६२५ जनाले पहिलो डोज र ४ लाख ५९ हजार ३८२ जनाले दोस्रो डोज कोभिशिल्ड खोप लगाएका छन् । १३ लाख ६८ हजारभन्दा बढीले कोभिशिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् । भारतले खोप नदिँदा लामो समय भइसक्दा पनि उनीहरूले खोप लगाउन नपाएका हुन् । 

चीनले भने यतिबेला ४० लाख डोज दिनेगरी सम्झौता गरेको छ । सरकारले  चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसारमात्र खोप दिने भनेपछि सोही अनुसार नेपालले पनि सहमति जनाएको हो ।

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १८:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया