Mon, 19 Nov, 2018


जसका दुवै खुट्टा छैनन्, तर बुलेट बाइक चढ्छन्
farakक्षमता  
समिक्षा अधिकारी  |  असोज ९, २०७५

काठमाडौं सहरमा बुलेट बाइक हुँइकाउने सयौं होलान् । तर, बुलेट चढ्दैमा महेश्वरकै जस्तो दरिलो आत्मविश्वास सबैको कहाँ होला र !

दरिलो आत्मविश्वास किनकि त्यही आत्मविश्वासले महेश्वरलाई बुलेटमा चढाएको हो । 

महेश्वरको बुलेटसम्मको र काठमाडौंसम्मको यात्रा चाहिँ खुला हाइवेमा पाँचौ गियरमा दौडिरहेको बुलेटको रफ्तार जस्तो छैन । उनको जीवनले त ‘स्लो एन्ड स्टिडी विन्स द रेस’को चरितार्थ गर्छ ।

सिन्धुपाल्चोकको हगाममा महेश्वरले सानोमा सबै बालबालिकाले सोध्ने जस्तो हजारौं प्रश्न आमालाई सोधे । बालस्वभावै हो, महेश्वर पनि जिज्ञासु थिए । तर, त्यही बेला सोधेको एउटा प्रश्न चाहिँ महेश्वरको मनमा गढेको छ, मानौं यो कुनै प्रेमीले आफ्नी प्रेमिकाको नाम ढुङ्गामा खोपेको हो । फरक के मात्र भने महेश्वरको यो प्रश्न प्रेमिल प्रश्न थिएन, बरु त्यसको सम्झनाले पनि अहिले महेश्वरको मनलाई छियाछिया पारिदिन्छ । 

उनले सोध्ने प्रश्न थियो– आमा, मेरा दुवै खुट्टा किन अरुको जस्तो छैनन् ?

महेश्वरकी आमाले ढाँट्न, छल्न खोज्थिन् उनलाई । आमाको मन सायद रुन्थ्यो, उनी भन्न सक्दिनथिन् आगोले पोलेर छोराले दुवै खुट्टा गुमाउनु परेको हो ।

अलिक पछि महेश्वरले थाहा पाए, उनले ६ महिनाको हुँदा नै दुवै खुट्टा गुमाएका रहेछन् । कोठा तताउन महेश्वरकी आमाले कोठाको एउटा छेउमा आगो बालेर छाडेकी थिइन् । महेश्वर त्यति बेला घिस्रेर हिँड्ने भइसकेका थिए । उनी झोलुङ्गोबाट आगोमाथि परे, दुवै खुट्टा आगोले पोल्यो । अस्पतालमा उनलाई पुराइयो तर उनको दुवै खुट्टा काटेर फाल्नु पर्ने भयो । 

‘मानिसहरु खुट्टा नभएको मान्छेको जीवन सकियो भन्ने सोच्दा हुन्,’ केही दिनअघि कुपण्डोलस्थित उनकै कार्यालय नेपाल परिवार विकास प्रतिष्ठानमा भेटिएका महेश्वरले भने, ‘तर, म त आफैं आफ्नो खुट्टामा उभिएको छु, कर तिरेकै छु, परिवार पालेकै छु ।’

त्यसपछि नोस्टाल्जिक भए महेश्वर ।

तत्कालीन हगाम गाविसको बराम्ची नामको गाउँमा जन्मिएका हुन् । दुईतीन महिना हिउँले ढपक्कै ढाक्ने बराम्चीमा बालबच्चा हुर्काउन प्रायःले आगोकै वरपर राख्ने गर्थे । बराम्चीको चलन थियो यो, चलनभन्दा पनि बढी बाध्यता । झोलुङ्गोमा नै बच्चा किन नहोस्, आगो बलिरहेको अगेनो नजिकै हुन्थ्यो । आगोको रापले कोठा र बच्चालाई न्यानो पारिन्थ्यो । 

महेश्वर जन्मिएपछि चिसो नलगोस् भनेर उनकी आमाले पनि यही फर्मूला प्रयोग गरिन् । महेश्वरलाई अगेनो छेउको झोलुङ्गोमा सुताएर पधेँरी गइन् । 

त्यति बेला महेश्वर ६ महिनाका मात्र थिए । उनले केही बुझ्ने उमेर नै भएको थिएन । केही नबुझ्दै महेश्वरको जीवनमा सबैभन्दा ठूलो दुर्घटना भयो । महेश्वर झोलुङ्गोबाट खसे । र, ठ्याक्कै अगेनो भएको ठाउँमा नै परे । 

पछि आमाले सुनाएको कुरा महेश्वरले सम्झिए, ‘म निकै चर्को स्वरमा रोएछु, आमा दौडँदै आउँदा म आगोमा परिसकेको रहेछु, मेरा दुवै खुट्टा पोल्न थालिसकेका रहेछन् ।’

उनलाई तत्काल चौताराको अस्पतालमा पुराइयो । तर, अस्पतालमा सोचेजस्तो उनको उपचार हुन सकेन । ‘अस्पतालले लापरवाही गर्यो भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘अस्पतालमा धेरै दिनसम्म पनि हुन्छ हुन्छ भनेर टारिएछ, पछि घाउमा संक्रमण भएपछि हामी सक्दैनौँ भनिएछ ।’ महेश्वरका अनुसार पहिले उनको पैतालामात्र काम नलाग्ने भएको थियो रे, पछि संक्रमण बढेपछि घुँडाभन्दा तल दुवै खुट्टा काट्नु पर्ने भएछ । 

 

कृत्रिम खुट्टा, साइकलमा सरर स्कुल

छोराले दुवै खुट्टा गुमाएपछि घिमिरे परिवार चिन्तित भयो । महेश्वरका बुबा शिक्षक थिए । उनले छोरालाई पढाउनै पर्छ भन्ने अड्डी कसे । अनि महेश्वरलाई लिएर उनको परिवार चितवन बसाइँ सर्यो । चितवनको रत्ननगरको एउटा स्कुलमा उनको भर्ना पनि गरियो । 

अब उनलाई स्कुल पुर्याउने र स्कुलबाट घर ल्याउने जिम्मेवारी उनकी हजुरआमाले लिन थालिन् । 

‘हरेक दिन हजुरआमाले मलाई स्कुल पुर्याउनु हुन्थ्यो, हरेक दिन लिन आउनुहुन्थ्यो,’ महेश्वरले ती स्कुले जीवन सम्झिए, ‘कहिलेकांही हजुरआमा लिन आउन ढिला हुन्थ्यो, म उहाँ नआइन्जेल कक्षामा बसिरहन्थेँ ।’

दुई वर्ष त्यो स्कुलमा पढे महेश्वर । त्यसपछि अर्को स्कुलमा पढ्न जान थाले । तर, पहिलेको जस्तै यो दोस्रो विद्यालयमा पनि उनलाई सहज भएन । पढाइमा ध्यान दिने भएकाले नै उनलाई त्यहाँबाट भरतपुर लगियो । 

‘भरतपुरमा मामाघर थियो,’ उनले सम्झिए, ‘त्यहाँ पनि सोचेजस्तो सजिलो भएन, एक वर्षपछि नै म रत्ननगर गएँ ।’

महेश्वर आठ वर्ष लागे । स्कुल फेर्दै फेर्दै भए पनि उनी पढिरहेका थिए । त्यही वर्ष काठमाडौं जोरपार्टीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले खगेन्द्र नवजीवन केन्द्रमा पुनर्स्थापनाका लागि अस्पताल स्थापना भयो । यो कुरा महेश्वरको परिवारले पनि थाहा पायो । 

महेश्वरका काका त्यति बेला जनकपुर चुरोट कारखानामा काम गर्थे । त्यहाँ आउने गोरखापत्रमा समाचार पढेपछि उनले नवजीवन केन्द्रबारे थाहा पाए । उनैले महेश्वरलाई लिएर काठमाडौं आए । 

महेश्वरलाई आवश्यक पर्ने कृत्रिम खुट्टाको नाप लिइयो । उनले कृत्रिम खुट्टाको सहयोग पाए । त्यसपछि महेश्वरलाई काकाले भने, ‘अब सिन्धुपाल्चोक जाउ ।’

‘पहिलो पटक खुट्टा लगाउँदा मलाई निकै अप्ठ्यारो भयो,’ उनले भने, ‘त्यो गह्रुँगो थियो ।’ तर, केही दिनमा नै उनी अभ्यस्त बने । अब त साथीहरुसँग हिँड्न पनि उनलाई अप्ठ्यारो भएन । 

एक वर्ष सिन्धुपाल्चोकमा नै बसे महेश्वर । त्यसपछि चितवन फर्किए, ५ कक्षामा पढ्न थाले । फुल पाइन्ट लगाएपछि महेश्वरलाई आफू अरु साथीजस्तै भएको आभास भयो, उनले आफूले नक्कली खुट्टा हालेको कुरा नै बिर्सिए । ‘म पनि अरु साथीभन्दा केही कुरामा फरक छैन भन्ने महसुस हुन थाल्यो,’ उनले ती दिन सम्झिए, ‘अनि बल्ल मलाई काम लाग्ने चिज नै लगाउन दिइएको रहेछ भन्ने भयो ।’

घरनजिकैको स्कुलमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो । ६ कक्षा पढ्न अलिक टाढा जानु पथ्र्यो । यही समयमा महेश्वरका मामाले उनलाई एउटा साइकल ल्याइदिए, सानो, उनकै उचाइसँग मेल खाने । महेश्वरले साइकल सिके, कृत्रिम खुट्टाले उनलाई सहयोग गर्यो । जब साइकल पेलेर उनी स्कुलसम्म पुग्थे, उनले आफ्नो खुट्टामा अर्कै खुट्टा जोडिएको छ भन्ने नै ‘बिर्सिन’ थाले । 

त्यसको केही वर्षपछि उनलाई पहिले बनाइएको खुट्टा सानो हुन थाल्यो । अनि उनले अर्को खुट्टा बनाउँदा प्राविधिकलाई अनुरोध गरे– साइकल चलाउन सजिलो हुनेगरि बनाइदिनु न । 

नयाँ खुट्टा पाएपछि उनी फेरि सिन्धुपाल्चोक चौतारा फर्किए । त्यति बेला १३ वर्षका थिए, महेश्वर । चौतारामा उनले श्रीकृष्ण माध्यमिक विद्यालयबाट एसएलसी पास गरे, दोस्रो श्रेणीमा । 

एकातिर जीवनमा नयाँ अनुभव गरिरहेका थिए महेश्वर अर्कोतिर देशको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा थियो । ०४६ सालको वरपर गाउँगाउँमा राजनीतिक माहोल बढेका थिए, शिक्षकहरुदेखि गाउँका बुझ्नेहरु पञ्चायतको विरोधमा उत्रिन थालेका थिए । महेश्वरमा पनि राजनीतिक सेन्स बढ्न थाल्यो ।

देशमा बहुदल आयो । 

यो राजनीतिक परिवर्तनलाई नजिकबाट नियालिरहेका महेश्वरले पनि आफूमा ‘म्याचुरिटी डेभलप’ भएको अनुभव गरे । ‘वर्ग के हो, समाजमा मानिसहरुलाई कसरी पछाडि पारिन्छ,’ महेश्वरले भने, ‘सिन्धुपाल्चोक बसेकाले नै यस्ता कुरा बस्न पाएँ । चितवन बसेको भए आफ्नो समाजलाई बुझ्न मलाई औधी गाह्रो हुने थियो भन्ने लाग्छ ।’

तर, त्यो सिन्धुपाल्चोकमा लामो समय बस्न पाएनन् महेश्वर । एसएलसी पास गरेपछि फेरि उनी चितवन झनुपर्यो, उच्च शिक्षा हासिल गर्न । रत्ननगरको सहिद स्मृति क्याम्पसमा भर्ना भए उनी । अनि पहिले स्कुले जीवनमा छोडेका सखीहरुसँग भेट भयो । 

‘लौ, महेश्वरको त खुट्टा आएछ,’ उनका साथीहरुले कहिलेकांही भन्न पनि भ्याए । नयाँ भेटिएकाहरुले त उनको खुट्टा कृत्रिम हो भन्ने नै थाहा भएन ।

आइकमको दुई वर्ष सकाएपछि महेश्वरले चितवनमा आफ्नो ‘भविष्य’ देखेनन् । सत्र वर्षको उमेरमा उनले भविष्यको सुन्दर कल्पना गर्न थालिसकेका थिए । आत्मविश्वास र दृढ अठोटले उनलाई अगाडि बढ्न त सहयोग गरेको थियो, तर परिवार उनको राजनीतिक चेतका कारण डराएको थियो । 

‘क्रान्तिकारी थिएँ, आमूल परिवर्तनको कुरा गर्थेँ,’ उनी हाँसे, ‘परिवारले विहे नै गर्नुपर्छ भनेर विवाह गरिदियो । तर, म त्यसमा पनि खुसी नै भएँ, जसरी पनि अगाडि बढ्नुपर्छ भन्ने मात्र सोचेँ ।’

त्यो अगाडि बढ्ने प्रढका लागि उनले काठमाडौं बसाइँ सारे । अनामनगरमा डेरा लिएर बसे ।  

त्यसपछि सुरु गरे, बिबिएस पढ्न । ‘मीनभवन कलेजमा पढ्न थालेँ,’ उनले भने, ‘टप टेनभित्र परेको थिएँ, छात्रवृत्ति पनि पाएँ ।’

छात्रवृत्तिमा पढ्न त थालेका थिए, तर उनको प्राथमिकता पढाइ थिएन । परिवार पनि आफैंले चलाउनु पर्छ भन्ने सोचले उनलाई कुनै काम गर्ने मुड विकास गरिदियो । 

‘मैले एसएलसी पछि नै आफ्नो लागि खर्च जुटाएको थिएँ,’ उनले भने, ‘जनै बाँट्ने काम गर्थेँ, त्यसैबाट खर्च टथ्र्यो ।’

 

भृकुटीमण्डपमा कम्प्युटर कोर्ष, महेश्वरको जीवनमा यु–टर्न

काठमाडौंमा कहाँ र के काम पाइएला भनेर ‘भौंतारिरहेका’ थिए महेश्वर । त्यही समयमा उनले सुने– भृकुटीमण्डपमा निःशुल्क कम्प्युटर कक्षा संचालन भइरहेको छ । यो कक्षा अपाङ्गता सहायता कोषले सन्चालन गरेको थियो । 

कम्प्युटरको तालिम लिदाँ महेश्वरलाई फाइदा त अवश्य भयो, त्योभन्दा बढी त्यही कोर्ष जाँदा बाटोमा वर्षौ पछि रामकृष्ण पराजुली भेटिए । यो भेट उनका लागि निकै सहयोगी सावित भयो । 

पहिलो भेटमा पराजुलीले महेश्वरलाई थर्काए– कहाँ गएको, कहाँ हराएको ? त्यसपछि उनैले जानकारी पनि दिए– धोवीघाटमा अपाङ्ग बाल अस्पतालमा मान्छे मागेको छ, निवेदन दिनू ।

त्यही जानकारी पाएको दिन त्यहाँ आवेदन दिने अन्तिम दिन रहेछ । महेश्वर हतारहतार अस्पताल पुगे, निवेदन दिए– ल्याब असिस्टेन्ट तथा फिजियो थेरापी असिस्टेन्टको पदका लागि । 

२६ जनाले आवेदन दिएका थिए । महेश्वरको नाम एक नम्बरमा नै निस्कियो । तर, तालिम लिन उनी भारत जानु पर्ने भयो । 

‘तर, मैले मानिनँ,’ महेश्वरलाई भारत जान मन थिएन, ‘पछि सिटिइभिटीले यही काेर्ष सुरु गरेपछि मैले नेपालमा नै पढ्न थालेँ ।’

एक वर्षपछि उनले अपाङ्ग बाल अस्पतालमा काम गर्न थाले । दुई वर्ष दुई महिना त्यहाँ काम गरेपछि उनले अस्पताल छोड्ने निर्णय गरे । उनी त्यहाँ काम गरेर मात्र हुँदैन, अपाङ्गता भएका व्यक्तिहरुका लागि आफैंले केही न केही काम गर्नुपर्छ भन्ने मान्यतामा थिए । 

अस्पतालको ल्याबमा काम गरिरहँदा उनले आफूजस्ता सयौं बालबालिका देखे, दिनहुँ नयाँ–नयाँ केस आइरहन्थे । 

‘म ती बालबालिकाको अनुहारमा मात्र होइन, त्यो परिवारमा पनि पीडा देख्न सक्थेँ, पढ्न सक्थेँ,’ महेश्वरले सम्झिए, ‘त्यहाँ अस्पतालमा काम गरिरहनु मैले जीवन धान्न खोज्नु मात्र हो भन्ने लागिरह्यो ।’

पीडितका व्यथा र उनीहरुका परिवार र आफन्तको आँखामा निरन्तर बगिरहने आँसुलाई महेश्वरले आफ्नो आँसु सोचे, अनि सोचे, ‘म केही गर्छु, आफैंले केही पहल गर्नुपर्छ ।’

त्यसपछि मासिक ६ हजार तलब आउने कमाइ छोडेर महेश्वरले आफ्नै बाटो कोर्न थाले । 

जागिर छाडेर राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीसहित उनीहरु ७ जना साथीहरु मिलेर अपाङ्ग मानवअधिकार केन्द्रको स्थापना गरे । उनीहरुको संस्था त जन्मियो, तर उनीहरुकै समकालीनहरुले पनि त्यसमा आशङ्का व्यक्त गरे । 

महेश्वरहरुले सुरुमा संस्थाबाट पत्रिका प्रकाशन गर्यो । तर, पत्रिका लक्षित समूहसम्म पुगेन । अनि ‘ब्रोडकास्टिङ जर्नालिजम’को माध्यम रोजे उनीहरुले, रेडियो नेपाल । त्यहाँबाट अपाङ्ग आवाज भन्ने कार्यक्रम प्रसारण गर्न थाले, मिनेटको ६ सयका दरले सातामा १५ मिनेट ।

‘हामीले संचार नै समाज परिवर्तनको सूचक हो भन्ने बुझिसकेका थियौँ,’ महेश्वर भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिहरुको आवाज दबिनु हुँदैन भन्ने हाम्रो उद्देश्य थियो । हामी एक अर्काको कथाव्यथा सुन्थ्यौँ, नसुनिएका आवाजलाई बाहिर ल्याउने प्रयास गथ्र्यौँ ।’

यतिमा मात्र महेश्वर रोकिएनन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि अधिकार दिलाउन सक्दो प्रयास गरे महेश्वरले । ‘अहिले बनेका धेरैजसो अधिकारमा मैले केही काम गरेको छु भन्न पाउँदा निकै गर्व महसुस हुन्छ,’ महेश्वरले भने, ‘मैले यो अभियानमा लागेर जे पढेँ, त्यो वर्षौं विश्वविद्यालय गएको भए पनि पढ्न सक्दिनथेँ ।’

अभियानकै क्रममा महेश्वर २५ भन्दा धेरै देश घुमिसकेका छन् । 

अपाङ्ग मानवअधिकार केन्द्र छोडेपछि महेश्वरले नेपाल सरकार स्वास्थ्य मन्त्रालयका लागि दशवर्षे रणनीति कार्ययोजनाको काम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न थाले । अहिले पनि यो योजनामा काम भइरहेको छ । 

त्यसपछि पनि थुप्रै अध्ययन अनुसन्धानहरुमा आफूलाई संलग्न गराए । अहिले उनी हातखुट्टा गुमाएकाहरुका लागि काम गर्ने संस्था एम्पुटी एसोसिएसनमा अध्यक्षको रुपमा रहिआएका छन् । त्यसका अलावा नेपाल परिवार विकास प्रतिष्ठानमा कार्यरत छन् । अपाङ्गता भएका व्यक्तिहरुका परामर्श दाता पनि हुन उनी । 

सधैं उत्पादनसँग जोडिनुपर्छ भन्ने मान्यताका साथ आफैंले उद्योग समेत सञ्चालन गरेका छन् । सिमेन्टका झ्यालढोका र चौकोस निर्माण गर्ने उद्योग चितवनमा नै सञ्चालन गरेका छन् । 

उनकै शब्दमा भन्दा – समाजले निर्माण गरेका सोचाइ, व्यवहार र भौतिक वातावरणका बाधाहरु मात्रै अपांगता हुन् । 

उनको यो भनाइ किन पनि गहकिलो लाग्छ भने उनले आफैं उदाहरण भएर सबैलाई देखाउन सक्छन् । त्यसैले उनको अनुरोध पनि छ– कसैले पनि अपाङ्ग सन्तान जन्मियो भनेर पीर नमाने हुने थियो । 

‘मलाई पनि अरुले अपाङ्ग त सोच्लान् तर म आफैंलाई मेरो अवस्थाप्रति कुनै गुनासो छैन,’ उनले भने, ‘कर तिरेकै छु, गाडी चलाएकै छु, बुलेट बाइक हाँकेकै छु ।’ 

त्यसपछि उनको गम्भीर प्रश्न छ, ‘म कसरी अपाङ्ग ?’



समिक्षा अधिकारी

नन–फिक्सनका पुस्तक अध्ययनमा विशेष रुची राख्ने समिक्षा अधिकारी फरक धारका लागि सामाजिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

यो पनि नछुटाउनुहोस्