प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की सेवा केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले ससानो लगानी संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समृद्धिका लागि सहायकसिद्ध हुने बताएका हुन् ।

बखानसिंह गुरुङले नेपालमा सहकारी अभियान सुरु गरेको स्मरण गर्दै उनले प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले इजरायलसँग सम्बन्ध बिस्तार गरेर सहकारीलाई थप उचाइमा पुर्‍याएको बताए ।

सहकारीलाई थप व्यवस्थित बनाउन गण्डकी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले भनाइ राखे । उनले गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रमलाई विशेष महत्त्व दिएको पनि उल्लेख गरे । उनले ‘सीप, दक्षता र रोजगारी : युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको बताए ।

सामूहिक रूपमा उद्यम गर्न चाहने युवालाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीबीच लगानी साझेदारीमा ‘उद्यमी युवा : समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम सञ्चालन गरिने समेत उनले बताए ।

हब कोअपरेटिभको यो पहिलो शाखा हो । हब कोअपरेटिभले सहकारीहरूमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फर्छ्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिङ, बैंक एवं सहकारीबीच रकमान्तरण र बिलहरू भुक्तानीका सेवा उपलब्ध गराइरहेको छ ।



नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । ‘यस संस्थाले नेपाल भर सातवटै प्रदेशका १५ वटा जिल्लामा आफ्नो सेवा विस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी ३ वर्ष भित्र सहकारीमार्फत् २० लाख व्यक्तिमा विद्युतीय कारोबार सेवाको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ,’ पौडेलले भने । 

सेवा शुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्था आबद्ध भई ५ करोड निक्षेप संकलन भएको पौडेलले जानकारी दिए । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोइराला, नेफ्सकुन सञ्चालक कमला गिरी, संविधानसभा सदस्य प्रकाश पौडेल लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।



  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १६:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया