लेखकका निम्ति ‘मोबाइल उपवास’
फरकधार / २१ असार, २०७८

एक हातमा मोबाइल छ, अर्कोमा पुस्तक ! यस्तो अवस्थामा कुन हात बढी सक्रिय होला ? जवाफ सबैलाई थाहा छ– मोबाइलवाला हात । मोबाइलको अति प्रयोगले हाम्रा सिर्जनशीलतालाई कतै भुत्ते त बनाइरहेको छैन ? मोबाइलका माध्यमबाट हामीले हरदम प्रयोग गर्दै आइरहेको सोसल मिडियाले हाम्रो दिमागलाई ‘डल’ पारिरहेको त छैन ? हामी यसको व्यसनमा नराम्ररी फसिरहेका त छैनौँ । के लेखक-साहित्यकार, के समाजसेवी-राजनीतिज्ञ, सबैले एक पटक मनन गर्नुपर्ने अवस्था आएको छ ।



एकआपसमा शीघ्र सम्पर्क र दूरी कम गर्ने माध्यमका रूपमा सोसल मिडियाको प्रयोग सुरु भयो । फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सोसल मिडिया टुलले मानिसलाई ठूलो सुविधा दियो । यो सुविधा लेखक-साहित्यकारले पनि नलिने कुरै भएन । संयमित र उचित ढंगमा यसको प्रयोगबाट फाइदा थियो र छ पनि ।

सोसल मिडियाका माध्यमबाट आत्मीयजनसँग सम्पर्क, वार्तालाप, तस्वीर आदानप्रदान सम्भव भयो । कतिपय अवस्थामा यसको प्रयोग पुराना कुराको जगेर्ना गर्नका लागि पनि भयो । हामीले बाल्यकालमा छुटेका मित्र वा आफन्तसँग कुरा गर्न र तस्वीर साटासाट गर्न पनि पायौँ । कतै प्रकाशित भइसकेका रचनालाई सुरक्षित गर्न पनि सोसल मिडिया सहयोगी भयो । घर बसेरै लगभग सारा संसार हेर्न पाउनु सुखद संयोग हो, जसलाई सोसल मिडियाले सम्भव बनाइदियो । 

आत्मीयजनलाई मात्र होइन, साहित्यकार-लेखक र तिनका कृतिलाई अघिल्तिर ल्याएर देखाइदिने काममा सहयोगी बन्यो सोसल मिडिया । पाठकहरूले कहिल्यै नदेखेका र आवाज सुन्न नपाएका आफ्ना प्रिय लेखकसँग कुराकानी गर्ने र तिनका तस्वीर हेर्ने अवसर पाए । लेखकप्रति रहेका आफ्ना गुनासा, प्रतिक्रिया र प्रश्नहरू सहजै पाठकले गर्न पाए ।



 मन लागेको बखत लेखकका कृति पढ्न, त्यसबारे प्रतिक्रिया दिन पनि सोसल मिडियाले सहज पारिदियो । गुगल, फायरफक्सजस्ता सर्च इन्जिनका साथै सोसल मिडिया टुलले पढ्न-लेख्न आमपाठकका साथै साहित्यकारलाई पनि फाइदा भयो । ज्ञान आर्जन त हुने नै भयो साथै लेखन कार्यशालामा बसेर लाभ लिन नवलेखकले पाए । वरिष्ठ लेखकलाई पनि इ-गोष्ठी, समारोह, अन्तर्वार्ता तथा विश्वस्तरमा अध्ययन गरिरहेका पाठकसँग वार्ताको अवसर प्राप्त भयो । सोसल मिडियाले नवप्रवेशी लेखकलाई त झनै ठूलो मौका दियो । 

सोसल मिडिया तथा नयाँ प्रविधिको लाम साहित्यकारका साथै प्रकाशकलाई पनि भयो । पिडिएफ फाइल बनाएर प्रुफरिडिङ, कम्पोजिङ, सम्पादन तथा प्रचार-प्रसार गर्न सहज भयो । यसबाट समाचारपत्र तथा अन्य पत्रिकाले पनि लाभ लिन सके । सोसल मिडियाले साहित्यिक प्रतिभालाई अनगिन्ती सम्भावनासँग परिचित गराइदियो, ज्ञान विस्तारका लागि असीमित क्षितिज उघारिदियो ।

अति सर्वत्र वर्जयेत्

सोसल मिडियाले जसरी साहित्यको हित गर्‍याे, उसैगरी यसको दुरुपयोगले लेखकलाई ‘एडिक्ट’ बनाइदिएको छ । यसलाई एडिक्सन अर्थात् व्यसन बनाउनेहरूले साहित्यिक गल्लीहरूमा दंगा फैलाइदिएका छन् ।

साहित्यकारहरूको गुट निर्माण हुन पुगेको छ भने कतिपय स्तरीय लेखकमाथि अन्याय भएको छ । सोसल मिडियामा राखिएका रचना आफ्नो गुटको जस्तो भए पनि प्रशंसा गरिदिने र अर्काको गुटको राम्रै रचना भए पनि गाली गर्ने आमचलन विकसित भएको छ । अहिले भर्चुअल स्पेस ‘इ-वेस्ट’ बन्न पुगेको छ !

लेखकहरू विना मेहनत वाहवाही कमाउने लोभमा फसेका छन् । ‘म तेरो प्रशंसा गर्छु, तँ मेरो गर्’ भन्नेजस्ता ‘पर्म’ कर्म सोसल मिडियामा खुबै फस्टाएको छ । पढ्दै नपढी आलोचना वा प्रशंसा गर्ने काम अब संस्कृति नै बन्दै गएको छ । 

बच्चा, वृद्ध, कामकाजी वर्ग, गाउँ, सहर अहिले सबै नै भर्चुअल दुनियाँको चपेटमा परेका छन् । महत्वपूर्ण सामाजिक वा निजी कामलाई सोसल मिडियाको एडिक्सनले पर धकेलिदिएको छ । हामी अधिकांश समय टाउको निहुराएर बिताउन थालेका छौँ । परिवार र समाजका समस्या, समाधानका उपाय र मनोरञ्जनजस्ता नियमित काम सोसल मिडियाबाट फत्ते गराउन थालेका छौँ । यसले विशेष गरी हाम्रा आत्मीय सम्बन्धहरुलाई कमजोर बनाइदिको छ ।

सोसल मिडियामा विभिन्न खालका भीड छन् । हरेक कुरालाई नकारात्मक रूपमा बुझ्नेको संख्या अधिक छ । तिनले अनेक विवाद र लफडा सिर्जना गरिदिएका छन् । धार्मिक भावना, अखण्डता, झुटा कुरा फैलाउने र उन्माद बढाउने काममा सोसल मिडिया दुरुपयोग हुन थालेको छ । यसको रोकथाम अनिवार्य छ । 

सोसल मिडियामा लेखन तथा साहित्यिक गतिविधिबाट जहाँ रचनात्मकता वृद्धि भएको छ, त्यहाँ नै अधिक मात्रामा यसको चिन्तनमननमा आघात पुर्‍याइएकाे छ । राम्रो लेखक जहाँ पनि राम्रै लेख्छ । उसले सोसल मिडियामा दुई पंक्ति लेखे पनि स्तरीय मात्रै लेख्छ । राम्रो लेखक जेसुकै लेख्दा पनि मेहनत गर्छ, मनन गर्छ । आफ्ना कृतिलाई सकेसम्म परिष्कृत गर्छ । स्वसम्पादन, चिन्तनमनन गर्न र लेख्न अनि प्रकाशन गर्न पनि उसले निकै समय लगाउँछ । तर जो झुर लेखिरहेको छ, उसले जहाँ पनि झुर कुरा नै गरिरहेको हुन्छ । सोसल मिडियामा उसले आफ्नो सक्रियता बढाउँछ र प्रकाशन गर्न वा देखिन हतार गर्छ । यसबाट थुप्रै गल्ती-कमजोरी बाहिर आउँछ । त्यस्ता कमजोरी लुकाउन झुर लेखकले सोसल मिडिया दुरुपयोग गरिरहेको हुन्छ । 

कतिपय अवस्थामा त जिम्मेवार र राम्रा लेखकले आफ्ना मौलिक कृति सोसल मिडियामा राख्दा चोरी हुने डरसमेत हुन्छ । यस्ता कुरामा पनि असल लेखक सतर्क हुनुपर्ने स्थिति छ । सबै प्रकारका व्यक्तिगत विवरण सोसल मिडियामा राख्दा खतरा बढ्न थालेको छ । ‘साइबर सेक्युरिटी’ को खतरा चौतर्फी कायम छ ।

अचेल एउटा शब्द खुबै चल्न थालेको देखिन्छ– ‘मोबाइल उपवास’ । एक कुशल लेखकका निम्ति ‘मोबाइल उपवास’ अबका दिनमा निकै उपयोगी तरिका साबित हुन सक्छ । यसबाट चिन्तनमनन्, अध्ययन, अनुसन्धान गर्नका लागि समय मिल्छ । मस्तिष्क पुनः रचनात्मक सक्रियताको ‘मोड’मा आउँछ । परिपक्व लेखन र विमर्श हुन थाल्छ । 

यति हुँदाहुँदै पनि यदि सोसल मिडियाको सन्तुलित प्रयोग हुन सक्दा स्तरीय साहित्य सृजना हाम्रा औंलाहरूमा आएर बस्न सक्छ । सृजन, प्रेषण, समीक्षा सबै कुरा यो जादुमय दर्पणमा सम्भव छ । नवलेखक हुन् या वरिष्ठ साहित्यकार, सबैले सोसल मिडियाको सन्तुलित र संयमित ढंगमा प्रयोग गर्न सक्दा यसबाट लाभैलाभ छ ।
 
(एजेन्सीहरूको सहयोगमा)
 

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १३:२३:१६,   अन्तिम अपडेट : असार २१, २०७८ साेमबार १३:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया