बालुवाटारः प्रधानमन्त्री निवास कि पार्टी प्यालेस ?

काठमाडौं–  २२ वर्षे लामो राजनीतिक यात्रापछि केहीअघिमात्र पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानले प्रधानमन्त्री पदको सपथ लिए । सपथ लिएकै दिन उनले मन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरुको सेवासुविधामा व्यापक कटौती गरे । त्यसअघि प्रयोग हुँदै आएको भव्य प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरे । ठूलो प्रधानमन्त्री निवासमा बस्नु खर्च धेरै हुनु हो भन्ने उनको तर्क थियो ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली दैनिकजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी दिइरहेका छन् । 

सरकार गठन भएको सात महिना हुँदा बालुवाटारमा झन्डै एक दर्जनपटक पार्टी आयोजना भएका छन् । र, विस्तारै बालुवाटारको दुरुपयोग भएको आलोचना सुनिन थालेका छन् । नसुनिउन् पनि किन बालुवाटारमा अन्य सरकारी तथा पार्टीगत भेला मात्र भएनन्, ओली वंशको पनि कार्यक्रम गरियो । 

प्रधानमन्त्रीको सपथ लिएपछि ओली बालुवाटार गएलगत्तै पार्टीका ९९ प्रतिशत बैठक बालुवाटारमा नै भएका छन् । सरकारी निवास भएकाले पार्टीको बैठक त्यहाँ गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न एकातिर छ । अर्कोतिर, ओलीले अनौपचारिक कार्यक्रमहरु पनि बालुवाटारमा नै गरिरहेका छन् । 

३ फागुनमा प्रधानमन्त्रीबाट राजीनामा दिएका नेपाली कांग्रेस सभापति देउवादे पार्टीको केन्द्रीय समिति बैठक बालुवाटारमा बोलाउँदा पनि चर्को आलोचना भएको थियो । 

त्यतिबेला पूर्वसचिव शारदा त्रितताले फेसबुकमा लेखेका थिए – ‘पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा गर्नु कुनै पनि दुष्टिकोणले उचित होइन भन्ने कुरा कहिलेदेखि अनुभूति होला !’ 



तर, यो क्रम घटेको छैन । बरु ओली प्रधानमन्त्री भएर गएपछि सामान्य भेटघाटमात्र होइन, प्रधानमन्त्री निवासमा गर्नु नपर्ने कार्यक्रम पनि त्यहाँ हुन थालेका छन् ।

 



कलाकारका लागि ‘दिवा भोज’

‘दोस्रो फान अवार्ड’मा अतिथिको रुपमा पुगेका प्रधानमन्त्री ओलीले भोलिपल्ट प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा दिवा भोजको आयोजना नै गरे । 

१७ चैत २०७४ मा बालुवाटारमा चलचित्रकर्मी, नाट्यकर्मी तथा संगितकर्मीका लागि ओलीले दिवा भोज आयोजना गरेका थिए । कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, दीपाश्री निरौला, साम्राज्ञी राज्यलक्ष्मी शाह, सीताराम कट्टेल, केदार घिमिरेलगायत सरिक थिए । 

यो कार्यक्रम प्रधानमन्त्री कार्यालयमा गर्नु पर्ने कुनै आवश्यकता नै थिएन । 

 

पार्टी एकताको दिन रात्री भोज

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताको घोषणा राष्ट्रिय सभागृहमा भयो । ३ जेठको त्यही साँझ झन्डै एक हजारभन्दा धेरै नेता तथा केही कलाकारलाई ओलीले बालुवाटारमा नै डिनर गराए । खासमा दुई पार्टी एकता भएको यो दिनमा बालुवाटारलाई प्रयोग गरिनु पर्ने थिएन । 

‘यो त नयाँ पार्टीले अन्यत्र कतै पार्टी प्यालेसमा गरेको भए हुने थियो,’ एक विश्लेषक भन्छन्, ‘ओली देशको प्रधानमन्त्री हो तर उनले आफ्नो पार्टीका लागि सरकारी रकम, सरकारी स्थान दुरुपयोग गरे । यसका लागि उनको जति आलोचना गरे पनि पुग्दैन ।’

 

‘ओली बन्धु को भेटघाट’

अझ हास्यास्पद त बालुवाटारमा सरकारी निवासमा २३ भदौको दिउँसो भयो । त्यहाँ झन्डै ५÷६ सय मानिसहरुको भेटघाट थियो । उनीहरु थिए, ओली वंशका । ओली वंश भेटघाटका लागि पनि सरकारी स्थान प्रयोग गरियो, सरकारले नै खर्च गर्यो । आम नागरिकबाट उठाएको राजश्वबाट चल्ने प्रधानमन्त्री निवास ओली वंशका लागि प्रयोग गरियो । 

राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले बालुवाटारमा गरिएको यो भेटघाटलाई ट्विटरमा कडा व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘ओली बन्धुहरुको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा ? अब ओली बन्धुहरुको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रिडा पनि त बालुवाटारमै हुने होला । ठीकै हो, भेला ओली सरका बन्धुहरुको, रैरकम राज्यकोषको । भन्छन् नि– लूटको धन, फुपूको श्राद्ध । घरिघरि प्रम बन्न पाइन्न, मौकामा खाने हो !’

अन्य एक ट्विटर प्रयोगकर्ताले प्रधानमन्त्री कार्यालयलाई पार्टी प्यालेस बनाउन लागिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

तर, आयोजक समितिकिा सदस्य घनश्याम ओलीले भने त्यो कार्यक्रममा राज्यकोशको पैसा प्रयोग नभएको दाबी गरेका छन् । उनले कार्यक्रममा त्यहाँ गर्नु प्रधानमन्त्रीको सहजताका लागि मात्र भएको बताउँछन् । 

 

‘प्रधानमन्त्री निवास राष्ट्रिय सभा गृह होइन’

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रधानमन्त्री निवास राष्ट्रिय सभा गृह नभएको बताए । 

‘प्रधानमन्त्रीको सरकारी निवास भनेको राष्ट्रिय सभा गृह वा प्रज्ञा प्रतिष्ठानको हल होइन । प्रधानमन्त्रीका निजी कार्यक्रमहरु त्यहाँ सञ्चालन हुनु हुँदैन्,’ पौडेलले भने, ‘प्रधानमन्त्रीसँग वा राष्ट्रिय सवालका निम्ति छलफलका गर्न बनाइएको हल हो, प्रधानमन्त्री निवास । आफ्नो वंशजलाई बोलाएर कार्यक्रम गर्न होइन ।’

यस्ता कार्यक्रमले प्रधानमन्त्रीको प्राथमिकतालाई पनि समस्या पार्न सक्ने बताउँछन् पौडेल । ‘यो कुराले प्रधानमन्त्रीको प्राथमिकता के हुन् भन्ने कुरालाई पनि समस्यामा पार्न सक्छ,’ उनले भने, ‘यस्ता भेला हुँदा प्राथमिकताबारे ध्यान दिन सकिएन भने, विशेष काम लिएर प्रधानमन्त्री निवास पुग्नेहरुलाई मात्र होइन, प्रधानमन्त्री स्वयंलाई पनि निराश बनाउन सक्छ ।’

 

यो सामान्य प्रक्रिया हो: प्रधानमन्त्रीका प्रेस सल्लाहकार

उता, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल भने यी कुराहरु सामान्य भएको बताउँछन् । मान्छे भएको ठाउँमा मान्छे आउने भएकाले यसलाई धेरै महत्वको विषय बनाउनै नपर्ने उनको तर्क छ । 

‘प्रधानमन्त्री निवास भन्दा बाहिर भएको एउटा घरमा उहाँका आफ्ना व्यक्तिगत मान्छेहरु आउने, जमघट गर्ने जस्ता कामहरु भइहाल्छन्,’ फरकधारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीबाट म्यान्डेट पाएर उहाँ प्रधानमन्त्री हुनुभएको हो, पार्टीका कार्यक्रम पनि यहाँ नै गर्नुहुन्छ । यो कुनै ठूलो कुरा होइन ।’

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दा धेरै कुराहरुमा प्रधानमन्त्रीलाई सहज हुने तर्क गर्छन् । 

‘प्रधानमन्त्रीको सहजता र समयको कारण पार्टीको बैठक सरकारी निवासमा बोलाइएको हो । प्रधानमन्त्रीको व्यस्ततालाई मध्यनजर गरेर बैठक बालुवाटारमा ने आयोजना भएको हो,’ उनले भने, ‘यसमा अन्यथा मान्नु पर्ने कुरा नै छैन ।’
 

  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार १४:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया