संघीयता, धर्म निरपेक्षता र शासकीय स्वरुपबारे अब समीक्षा गर्नु पर्ने समय आएको छ भन्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोलेपछि नेकपा नेता महेश बस्नेतको चौतर्फी आलोचना सुरु भएको छ । यो विषयमा बहस पनि उठेको छ ।
कतिपयले बस्नेतको यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा आएको हुनसक्ने अनुमान पनि गरेका छन् । केही विश्लेषकहरुले सामाजिक सन्जालमा हिजो कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना धारणा बाहिर ल्याउन छोरी सुजातालाई प्रयोग गरेजस्तै प्रधानमन्त्री ओलीले आफ्नो धारणा बाहिर ल्याउन बस्नेतलाई प्रयोग गरेको हुनसक्ने अनुमान पनि गरेका छन् ।
शनिबार र आइतबार दुई दिन प्रधानमन्त्री निवासमा चलेको एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बस्नेतले यो प्रस्तावमाथि छलफल गर्न खोजेका थिए । सोमबार उनले प्रस्तावलाई लिखित रुपमा बुझाएका पनि छन् ।
बस्नेतले यी प्रस्ताव ल्याएपछि हामीले के बस्नेत अब भारतीय अजेन्डामा काम गर्न थालेका हुन् भन्ने सामग्री सोमबार प्रकाशित गरेका थियौँ । यस्तो किन भने पछिल्लो समय धर्म र संघीयतामाथि भारतीय संस्थापन पक्षले बारम्बार आवाज उठाइरहेको छ । र, पछिल्लो समय भारतीय अजेन्डासँग नजिक रहेर बस्नेतले काम गर्न थालेको फरकधार स्रोतको दाबी छ ।
यही विषयमा एमालेका एक केन्द्रीय सदस्यले फरकधारलाई भनेका थिए, ‘हामीले संविधान ल्याएको पाँच वर्ष पनि भएको छैन । तर, संविधानको मर्ममाथि प्रहार हुने गरि एमाले नेताहरुले नै अभिव्यक्ति दिनु ठिक होइन ।’ उनले एक सय वर्ष पुगिसकेको चिनियाँ कम्युनिस्ट पार्टी अहिलेसम्म बहसमा रहेको तर हामीले अहिले नै संविधानलाई असफल बनाउन यसका डाइनामिक्सामथि प्रहार गर्न थाल्नु ठिक नहुने बताएका थिए । त्यसो त नेपालमा संविधान जारी भएसँगै भारतले अहिलेसम्म नेपालको संविधानलाई पूर्ण रुपमा स्वीकार गरेको छैन, उसले नेपालमा नयाँ संविधान जारी भएपछि आफूलाई जानकारीमा आएको भन्दै सामान्य रुपमा त्यसलाई लिएको थियो । त्यसैले बस्नेतका यी अजेन्डा पनि उनको भारतीय कनेक्सनका कारण आएको हुनसक्ने अनुमान नेकपा एमाले भित्रकै नेताहरुले गर्न थालेका छन् । यसबारे फरकधारको सम्पादकीय पढ्नुहोस्– कसका अजेन्डा बोकेका हुन् महेश बस्नेतले ?
बस्नेतले यस्तो अभिव्यक्ति दिएको सन्चारमाध्यममा सार्वजनिक भएपछि अधिकांशले यसलाई गम्भीर रुपमा लिएका छन् र यसले नेपालको संविधानमाथि प्रहार गर्न खोजेको भन्दै बस्नेतको आलोचना पनि गरेका छन् । यसलाई उत्साहका रुपमा लिएका छन्, राप्रपाका कमल थापाले ।
अर्कोतिर बस्नेतको यो अभिव्यक्तिपछि नेकपा एमाले ओली समूहमा पनि मतभिन्नता देखिएको छ ।
‘हामीले अहिले पनि संक्रमणकालिन अवस्थामा छौँ,’ नेकपाका ओली समूहकै एक नेताले भने, ‘यस्तो समयमा यो छलफलको विषय पनि होइन । भोलि हामीले महाधिवेशन गर्ने समयमा वा हाम्रो संविधानको पूर्ण कार्यान्वयन भएर अगाडि बढेको समयमा यस्ता पक्षमाथि बहस गर्न सकिएला । तर, अहिले नै संविधानको मर्ममाथि प्रहार हुने अभिव्यक्ति आउनु कदापि ठिक होइन ।’
बस्नेतले यस विषयमा बोल्दा केन्द्रीय कमिटी बैठकमा उपस्थित नेताहरु केहीबेर मौन भएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार उनले आफ्ना कुरा राखिनसक्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई प्रश्न गरेका थिए– नेतृत्वमाथि विश्वास र भरोसा छैन ?
ती नेताका अनुसार बैठकमा बस्नेत त्यसपछि चुप लागे ।
बस्नेतको यो प्रस्ताव तथा अभिव्यक्ति आएपछि अधिकांशको अनुमान छ, यो ओलीकै धारणा बाहिर आएको हो । विश्लेषण गर्दा उनीहरुले भनिरहेका छन्– बस्नेतले त बोलेका मात्र हुन्, यसको अन्तर्य र यस्तो अभिव्यक्तिको चाहना प्रधानमन्त्री ओलीकै हो ।
तर, नेकपा एमालेमा ओलीनिकट नेताहरु पछिल्लो समय ओली र बस्नेतको सम्बन्ध सुमधुर नभएको बताउँछन् ।
‘उहाँले बारम्बार अनावश्यक महत्वकांक्षा देखाउनु भएको छ,’ प्रधानमन्त्री ओलीनिटक एक नेता भन्छन्, ‘र, उहाँविरुद्ध पार्टीमा उठ्ने गरेका आवाजहरुका कारण पछिल्लो समय प्रधानमन्त्रीज्यू उहाँसँग खुसी हुनुहुँदैन ।’
पछिल्लो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गर्दा पनि बस्नेतले आफूलाई ‘एक मन्त्रालयको जिम्मेवारी पक्कै आउने’ दाबी गरेका थिए । तर, अन्तिम समयमा उनी प्रधानमन्त्री ओलीको विस्तारित मन्त्रिपरिषद्मा परेनन् । यस विषयमा उनले आफैं सामाजिक सन्जालमा लेखेर असन्तुष्टि पनि पोखेका थिए ।
पछिल्ला दिनमा भारतीय संस्थापनसँग निकट भएर उनीहरुको अजेन्डामा बस्नेतले काम गर्न खोजेका हुन् भन्ने आशंका पनि ओलीनिकट नेताहरुमा बढ्दै गएको छ । यसले पनि ओलीसँगको बस्नेतको सम्बन्ध थप बिग्रिएको ओलीनिकट नेताहरु बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।