हप्ता दिनको प्रयासपछि लाङटाङमा बल्ल पुग्यो हेलिकोप्टर

हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएका कारण हप्ता दिनको प्रयासपछि सोमबार लाङटाङमा हेलिकोप्टर पुगेको छ । सोमबार मध्याह्न मौसममा केही क्षण सुधार आएसँगै फिस्टेल एयरको हेलिकप्टरले सामान बोकी काठमाडौँबाट लाङटाङका लागि एक उडान भरेको हो ।

वर्षाको समय असहज पैदलमार्ग, मोटरबाटोको पहुँच नपुगेको, लाङ्टाङ क्षेत्रमा पुग्न भौगोलिक कठिनाइले गर्दा अत्यावश्यक घरेलुलगायत निर्माण सामग्री हेलिकोप्टरमार्फत लानुपर्ने बाध्यता भएको लाङटाङका तेम्वा लामाले बताए ।

फिस्टेल एयरका उडान व्यवस्थापकद्वय कृष्ण देउजा र शाक्केन शाक्यका अनुसार त्रिशूली नदी र लाङटाङ खोलाआसपासका क्षेत्रमा केहीबेर कुहिरो हटेको मौका छोपी आफूहरू कार्यरत कम्पनीका पाइलट क्याप्टेन किरण पुनले उडान भर्ने कार्य सफल पारेका हुन् ।

हेलिकोप्टरबाट लाङटाङ एवं गोसाइँकुण्ड जाने पर्यटक तथा  धार्मिक यात्रुसमेत प्रतिकूल मौसमले प्रभावित भएका छन् । वर्षातको समय हवाईमार्गमा कुहिरो बस्ने र स्थलमार्गका सडकमा पहिराले अवरोध गर्ने  समस्या रसुवामा रहेको र स्थानीय अस्पतालमा उपचार हुन नसकी काठमाडौँ लान थप कठिनाइ पर्दै आएको अनुभव स्थानीय बासिन्दाको छ । 

यही असार १२ गतेदेखि सक्रिय रूपमा हुस्सुको प्रभाव बढेको छ । आज बिहान क्षणिक समय केही सुधार भए पनि पुनः प्रतिकूल बन्दै गएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १७:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया