[कोमल ओलीको ब्लग] के नेपालमा महिला राजनीतिमा आउनुहुँदैन ?

हामी सबैलाई थाहा छ– म सक्रिय राजनीतिमा आएपछि ममाथि बारम्बार नियोजित रुपमा विभिन्न आरोप लगाइँदै आइएका छन् । बारम्बार ममाथि चारित्रिक हमला भइरहेको छ । हामीले हिजो जसलाई आफ्ना आदर्श मानेका थियौँ, जसले यो समाजलाई उदाहरणीय काम गरेर सकारात्मक दिशामा लैजानुभएको छ भन्ने सोचेका छौँ, विडम्बना ! उहाँहरुबाटै हामी निरास हुनुपरेको छ ।  

तपाईंहरु यो नसोच्नुस् कि कोमल वलीमाथि भइरहेका टीकाटिप्पणी तथा नीच शब्दको प्रयोग, ममाथि मात्र भएको हो । यो त हाम्रो पुरुषवादी समाजको सोच हो । र, ममाथि जे भइरहेको छ, त्यो सम्पूर्ण नेपाली महिलामाथि गरिएको आक्रमण हो ।

यसका अनेकौँ उदाहरण हामीले लिन सक्छौँ । राजनीतिमा होस् या समाजका अन्य विभिन्न ठाउँमा नै किन नहोस्, कोही पनि महिलाले केही विशेष काम गर्दा वा कुनै महत्वपूर्ण पदमा पुग्दा यो समाजले नाक खुम्च्याउँछ । अनि त्यसपछि समाजका केही व्यक्ति, विशेषगरी पुरुषहरु त्यो महिलामाथि कस्ता लान्छना लगाउने भन्नेबारे योजना बनाउन थाल्छन् ।

हामीले बिर्सिनुहुँदैन, यस्तो गर्नेमा शारीरिक रुपमा पुरुष देखिएका मात्र होइनन्, महिला भएर पनि पुरुषवादी चिन्तन र सोच लिनेहरु पनि अर्की महिलालाई कसरी कमजोर बनाउन सकिन्छ भनेर लागेका हुन्छन् ।

हो, हामीलाई थाहा छ, हाम्रो यो समाज पुरुषवादी वा पुरुषप्रधान समाज हो भनेर भनिँदै आइएको छ ।

तर, एकै छिन सोचौँ त । के यही हाम्रो समाज होइन जसले लक्ष्मी, सरस्वती तथा देवीजस्ता महिला देवीलाई पूजा गर्दै आइरहेको छ ? मन्दिरमा पसेर हामी देवीसँग केही मागिरहेका हुन्छौँ, त्यहाँ हामीलाई कुन देवी किन महिला हुन् भन्ने कुनै चासो हुँदैन ।



तर, जब मन्दिरबाट हामी बाहिर निस्किन्छौँ र केही गरिरहेकी एक महिलालाई देख्छौँ, हामीमा कुन विकृत सोच विचरण हुन्छ र त्यसले हामीलाई नकारात्मक ‘न्यारेटिभ’ विकास गर्न सहयोग गर्छ ? 



आज मैले यसो भनिरहेको मेरो सन्दर्भमा वा ममाथि अनुचित आक्रमण भइरहेको छ भनेर मात्र होइन । हुन सक्छ, महिलामाथि हेर्ने दृष्टिकोण वा महिलालाई कमजोर सोच्ने सोच मेरै घरमा पनि छ । मेरो बुवा मेरो आमालाई आफूभन्दा धेरै कमजोर सोच्नुहुन्छ । हुन सक्छ, मेरो दाजु मेरो भाउजूलाई आफूभन्दा धेरै कमजोर सोच्नुहुन्छ, मेरो भाइ मेरी बुहारीलाई, मेरो काका, मेरी काकीलाई कमजोर सोच्नुहुन्छ । तर, के यो सोच परिवर्तन गर्ने समय अब आएको होइन ?

यही कुरा तपाईंको घरमा पनि वर्षौंदेखि चलिआएको चलन हुन सक्छ । अहिले पनि तपाईंको घरमा कुनै महत्वपूर्ण निर्णय लिनुपर्यो भने तपाईंकी आमा, तपाईंकी दिदी, तपाईंकी बहिनी वा भाउजू छलफलमा सहभागी हुने गरेका छन् कि छैनन् ? तपाईं पुरुष हुनुहुन्छ भने के घरको वा आफ्नो करिअरको महत्वपूर्ण निर्णय लिँदा तपाईं श्रीमती, आमा, दिदी वा बहिनीसँग पनि सोध्नुहुन्छ कि बाबु, दाजु वा भाइसँग सोधे पुगिहाल्छ भन्ने सोच्नुहुन्छ ?

र, तपाईं महिला हुनुहुन्छ भने के तपाईं पनि आफ्नो जिम्मेवारीबारे वा भविष्यबारे कुराकानी गर्दा बाबु, दाजु वा काका वा भिनाजुसँग मात्र सल्लाह गर्नुहुन्छ ? के तपाईंलाई आवश्यक गाइडेन्स आमा, दिदी, भाउजू वा बहिनीबाट हुनसक्छ भन्ने लाग्दैन ?

जब हामी यी र यस्तै हजारौँ प्रश्नमा महिलालाई एउटा कित्तामा र पुरुषलाई अर्को सर्वोच्च कित्तामा राख्ने सोचिरहेका हुन्छौँ, तपाईंहरु निर्धक्क हुनुहोस्, हाम्रो समाजले महिलालाई अगाडि बढ्न दिँदैन, तपाईंले एउटी महिलालाई अगाडि बढ्न दिनुहुन्न, र हाम्रो सोचले महिलालाई अगाडि बढ्न दिँदैन ।

एकैछिन विदेशका पनि कुरा गरौँ । भारतमा इन्दिरा गान्धी, जर्मनीमा एन्जेला मर्केल, न्युजिल्यान्डमा जेसिन्डा अर्डन, अमेरिकामा हिलारी क्लिन्टनहरुले देश चलाएका थिए, छन् । ती देशका महत्वपूर्ण रोडम्याप उनीहरुले बनाएका थिए । यी त केही उदाहरण हुन् । यो सूचीमा नाम थप्दै जाने हो भने अहिले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससम्म पुग्न सकिन्छ । जे होस्, विश्व समुदायमा महिलाको उपस्थिति उल्लेख्य मात्र होइन, प्रभावकारी पनि छ । 

अब, यता नेपालको सन्दर्भ आऔँ । हामीले आजसम्म नेतृत्व तहमा पुगेका कतिजना महिलाको नाम लिन सक्छौँ ? नेपालमा अहिलेसम्म कार्यकारी प्रमुखमा कतिजना महिला निर्वाचित हुनुभएको छ ? नेपालमा अहिलेसम्म कुन पार्टीमा महिलाको लिडरसिप चलेको छ ? यी र यस्ता प्रश्नमा हामीले गर्व गर्न सक्ने उदाहरण कम छन् । हो, अहिले हाम्रो राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यू हुनुहुन्छ । तर, के एकजना महिला राष्ट्रपति भएको यो समाजले सहज रुपमा स्वीकार गरिरहेको छ त ? 

यो प्रश्न तपाईंले सुनेपछि पक्कै मनमा अनेक अड्कलबाजी गर्नुभयो, हिजो तपाईंले सुन्नुभएका ती आरोप स्मरण गर्नुभयो होला । हो, हामी ठिक ठाउँमा अब आएका छौँ । सोच्नुस् त एउटा महिलाले जिम्मेवार ठाउँमा रहेर केही गरिरहँदा यो समाजले उसलाई कस्तो उपमा दिँदो रहेछ ? के हाम्रो संस्कार यही हो ? के हामीले महिलालाई मन्दिरमा मात्र सीमित गरेर पूजा गर्न अभ्यस्त बन्दै यसलाई निरन्तरता दिन खोजिरहेका हौँ ?

तपाईंहरु पनि यसमा प्रश्न थप्दै जानुहोला । यी प्रश्नको सूची निकै लामो हुन सक्छ ।

आखिर किन हाम्रो समाज एउटा महिलालाई अगाडि बढेको देख्न चाहँदैन ? के यो प्रश्नको जवाफ दिन यो देशमा आफूलाई बौद्धिक, नेतृत्वमा छु भन्नेहरु तयार हुनुहुन्छ ?

अब फेरि प्रसंग मोडौँ, मतिरै ।

केहीअघि एमालेकै नेतामध्येका एक भनिएका रघुजी पन्तले मेरोबारे जे टिप्पणी गरे, त्यसले मलाई कति चोट पुर्यायो होला ? के उनले मजस्तो संघर्षबाट आफ्ना पदचापलाई अगाडि बढाइरहेकी एउटी महिलालाई सफलताको यात्रामा ठेस पुर्याउनु पर्छ भन्ने सोचेर त्यस्तो अभिव्यक्ति दिएका हुन् ? यसबारे मैले यसअघि नै फरकधारमा ब्लग लेखिसकेकी थिएँ ।

फेरि अहिले २१ असारमा मैले राष्ट्रिय सभामा कविता वाचन गरेपछि ममाथि टिप्पणी गर्नेहरुले छुद्र शब्दहरु व्यक्त गरिरहेका छन् । व्यक्तिगत र अनर्गल आरोप लगाएर एउटी महिला सिर्जनशील हुँदा उनीहरु त्यसमाथि टीकाटिप्पणी गरिरहेका छन् ।

मसँग यो सन्दर्भका लागि एउटै प्रश्न छ– तपाईंको घरमा तपाईंकी श्रीमती वा तपाईंकी छोरीले कुनै राम्रो काम गर्दा त्यसमा केही लुकेको छ भन्ने आशंका तपाईं गर्नुहुन्छ कि ऊ मजस्तै मानिस हो र उसको सफलतामा मेरोजस्तै पसिना बगेको छ भन्ने सोच्नुहुन्छ ?

यस्ता प्रश्नहरुको शृंखला बढ्दै जान्छन् ।

अब मेरो ठाउँमा एउटा पुरुष राष्ट्रिय सभाको प्रेक्षालयमा उभिएको कल्पना गर्नुहोस् । त्यो पुरुषले मैले भनेजस्तै एउटा कविता वाचन गरेको कल्पना गर्नुहोस् । कुनै पनि सन्दर्भमा त्यससँग सम्बन्धित त्यो कविता वाचनलाई तपाईं वाहवाही गर्नुहुन्थ्यो कि त्यो पुरुषको व्यक्तिगत चरित्रमा तपाईंको टिप्पणी हुन्थ्यो ?

ममाथि प्रश्न गर्ने, मेरो सफलताको आरिस गर्ने, मेरो संघर्षलाई नजरअन्दाज गर्ने र मेरो नाममा नेपाली महिला कसैले पनि केही नगरोस् भन्ने चाहनेहरुसँग यो समाजले कहिले प्रश्न गर्छ ? के त्यस्ता पुरुष वा पुरुषवादी सोच भएका महिलालाई समाजबाट बहिष्कार गर्ने समय अब आएको होइन ?

जीवनको यो कालखण्डमा आइपुग्दा फरकधारडटकममार्फत तपाईंहरुसँग सोध्नका लागि मसँगै एउटै प्रश्न छ– के नेपालमा महिलाले राजनीति गर्नुहुँदैन, सफलता चुम्नुहुँदैन र के हामी नेपाली महिला दोस्रो दर्जाका नागरिक हौँ ?

 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार २१:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया