सुजिता प्रकरण नसेलाउँदै चितवनबाट अर्की युवती बेपत्ता, प्रहरीको नियन्त्रणमा प्रेमी

राप्ती नगरपालिका-३ की २३ वर्षीय सुजिता भण्डारीको शव उनी हराएको १० दिनपछि भेटिएसँगै पूर्वी चितवन तनावग्रस्त छ। केही दिनदेखि जारी आन्दोलन र उग्र प्रदर्शनका कारण आज साँझदेखि भोलि साँझसम्मलाई जिल्ला प्रशासन कार्यालयले राप्ती नगरको राजमार्ग क्षेत्रमा कर्फ्यु नै लगाएको छ।

पूर्वी चितवनकी युवती सुजिता मृत्यु प्रकरणलाई लिएर तनाव चुलिएका बेला नवलपुरको गैँडाकोट-४ की २१ वर्षीया बीना सापकोटा पनि चितवनबाटै‌ ८ दिनयता बेपत्ता छिन्। 

गैँडाकोटबाट प्रेमीसँग चितवन पुगेकी उनी ८ दिनदेखि बेपत्ता भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताएका छन्। अधिकारीले बीना हराएपछि उनको खोजी  तीव्र पारिएको बताएका छन्।

बीनाले हराउन केही दिनअघि नारायणी पुलमाथि फोटो खिचाएर फेसबुकमा हालेकी थिइन्। त्यही फोटोमा भएको लुगामै उनी हराएकी हुन्। बीना हराएपछि उनका प्रेमी र अर्की युवतीलाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन्। 

चितवनको राप्ती नगरबाट असार ११ गतेदेखि बेपत्ता अर्की युवती सुजिताको शव तीन दिनअघि फेला परेको थियो। भण्डारीको शव आइतबार साँझ राप्तीकै ब्रह्मस्थानी सामुदायिक वनको झाडीमा भेटिएको थियो। अहिलेसम्म उनको हत्या या आत्महत्या पुष्टि हुन सकेको छैन।

प्रहरीका अनुसार बीनाले उनका प्रेमी अरु युवतीसँग लागेको थाहा पाएकी थिइन्। त्यसपछि उनले प्रेमीलाई भेटका लागि आग्रह गरेकी थिइन्। त्यसपछि ती प्रेमीले बीनालाई गैँडाकोटबाट स्कुटरमा भरतपुर पुर्‍याएका थिए।



त्यहाँ प्रेमीले अर्की युवतीसँग उनलाई भेटाएका थिए। त्यहाँ भेटघाट भएपछि बीना र प्रेमी गैँडाकोट नै फर्किएको विवरण प्रहरीले भेट्टाएको छ। रात परेपछि उनीहरु स्कुटरमै गैँडाकोट हिँडेका थिए।

प्रेमी भनिएका युवकले प्रहरीलाई दिएको बयान अुनसार उनी पैसा निकाल्न एटिएम बुथमा छिर्दा बीना बाहिरै बसेकी थिइन्। तर उनी पैसा निकालेर निस्किँदा बीना गायब थिइन्। 



त्यसपछि उनले बीना हराएको भन्दै परिवारलाई खबर गरेको प्रहरीले जनाएको छ। परिवारले बीनाको खोजीका लागि चितवन र नवलपरासी दुवैतिरका प्रहरीकहाँ निवेदन दिएका छन्। तर अहिलेसम्म पनि बीनाको अवस्था पत्ता लाग्न सकेको छैन।

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार २०:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया