पाटनस्थित मानसिक अस्पतालमा बिरामीको चाप दिनहुँ बढिरहेको अस्पतालको तथ्यांकले देखाएकोे छ । लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक १ सय २० भन्दा बढी संख्यामा मानसिक बिरामी आउने गरेका छन् । त्यसमध्ये करिब ६० प्रतिशतभन्दा बढी युवायुवती हुने गरेका छन् ।
गत साउन महिनाभरि अस्पतालमा ४ हजार ४ सय ८५ मानसिक बिरामी आएका थिए । त्यसैगरी, भदौ महिनामा त्यो संख्या बढेर ४ हजार ६ सय २१ पुग्यो । अस्पतालको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७१/०७२ मा ३० हजार २१ जना बिरामीमध्ये १५ हजार ५ सय ५८ जना पुरुष र १४ हजार ४ सय ६३ जना महिला मानसिक समस्या लिएर अस्पताल पुगेका थिए ।
त्यसैगरी, २०७२/०७३ मा ३१ हजार ३ सय ३२ बिरामीमध्ये १६ हजार ४ सय १४ पुरुष र १४ हजार ९ सय १८ जना महिला अस्पताल गएका थिए । २०७३/०७४ मा बिरामी संख्या बढ्न गई ३३ हजार ४ सय ९४ जना मानसिक समस्या लिएर अस्पताल पुगेका थिए । यी बिरामीमध्ये १५ हजार ९ सय ७३ जना महिला र १७ हजार ५ सय २१ पुरुष रहेका थिए ।
आव २०७४/०७५ को तथ्यांक हेर्दा ३६ हजार १ सय ६ जना मानसिक रोगी अस्पताल गएका थिए । जसमध्ये १८ हजार ५ सय ७८ पुरुष र १७ हजार ५ सय २८ महिला थिए ।
माथिको तथ्यांकअनुसार मानसिक रोगीहरूको संख्या बर्सेनि बढिरहेको छ । त्यसमा पनि महिलाभन्दा पुरुष मानसिक रोगीको संख्या बढी देखिन्छ ।
मानसिक रोगीलाई लक्षित गरेर नेपाल सरकारले २०४९ सालमा विस्तार गरेको मानसिक अस्पताल समयक्रमसँगै मानसिक समस्या भएका व्यक्ति बढ्दै गएको पनि तथ्यांकले देखाएको छ । तर, बिरामीको चाप बढेसँगै अस्पतालले ५० बेडमा सीमित हुनुपरेको बताउँछन् मानसिक अस्पतालका मनोविश्लषेक डा. अनन्त अधिकारी ।
उनका अनुसार मानसिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । तर, अस्पतालको बेड संख्या न्यून भएका कारण अस्पताल आएका सबै बिरामीलाई भर्ना लिन सकिएको छैन ।
न्यून जनशक्ति तथा भौतिक संरचना पर्याप्त नभएका कारण पनि बिरामीलाई भर्ना गर्न सकिएको छैन । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढ्दै जाँदा नेपालमा बस्ने महिलामा मानसिक समस्या बढ्दै गरेको बताउँछन् मनोविश्लेषक डा. अधिकारी ।
सरकारी तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८० लाख रहेको छ । सो जनसंख्याको ३० प्रतिशतमा कुनै न कुनै मानसिक रोग देखिन्छ । अधिकारी भन्छन्, ‘नेपालमा कुनै तंथ्याक आधिकारिक रूपमा संकलन भएको छैन । तर, करिब ८५ लाख मानिस मानसिक समस्याबाट पीडित भएको आँकलन गर्न सकिन्छ । पछिल्लो समय बढ्दो सहरीकारण, हत्याहिंसा, बलात्कार, गरिबी, बेरोजगारीजस्ता समस्याले मानसिक समस्या बढ्दै गएको छ ।
त्यसैगरी, लागूपदार्थ सेवन, मदिराजन्य पदार्थको सेवनले गर्दा युवावर्गमा मानसिक समस्या बढ्दै छ । मनोविश्लेषक डा. अधिकारी भन्छन्, ‘कतिपय मानिसलाई वंशानुगत कारणले पनि मानसिक रोग लाग्ने गर्दछ । अहिले युवावर्गमा थप समस्या भनेको प्रेममा विछोड हुनु र परिवारमा एक्कासि कुनै अप्रिय घटना हुनुले पनि थप समस्या देखिएको छ ।
नेपालमा मात्र होइन, विश्वमै मानसिक रोगीको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तंथ्याकलाई हेर्न हो भने करिब २० देखि २५ प्रतिशत मानिसमा मानसिक समस्या रहेको बताइन्छ ।
मानसिक अस्पताल पाटनको तंथ्याकअनुसार ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्षसम्म उमेरका मानिसमा बढी मानसिक समस्या देखिएको छ । मानसिक समस्या यही कारणबाट देखियो भन्ने हुँदैन । मनोविश्लेषक डा. अधिकारी भन्छन्, ‘मानिसलाई जैविक मनोसामाजिक, सामाजिक परिवेशको प्रभावले पारेको हुन्छ ।’
जैविक मनोसामाजिक कारणले गर्दा मानिसको मस्तिष्कमा केही प्रकारको अघात परेका कारण बच्चा जन्मने अवस्थामा केही इन्फेक्सन भयो पनि केही खालको मानिसमा पछि गएर मानसिक समस्या देखिने सम्भावना बढी हुन्छ ।
त्यसैगरी, सामाजिक परिवेशले पनि मानिसलाई केही हदसम्म प्रभाव पारेको हुन्छ । जस्तो कि घर परिवारमा कलह, सामाजबाट अपहेलना, श्रीमान्–श्रीमतीबीच राम्रो सम्बन्ध नहुनुजस्ता कुराले मानिसलाई प्रभाव पारेको हुन्छ । यी कुराले बिस्तारै मानिसमा तनाव, चिन्ता, डिप्रेसनजस्ता समस्या देखिन्छ । पूर्णतः बिस्तारै यसले भयानक अवस्था लिन सक्छ ।
केही मानिसमा सहन गर्ने क्षमता कम हुन्छ, कसैमा धेरै हुन्छ । सहन गर्ने क्ष्मता कम भएका मानिसमा कडा खालको मानसिक समस्या देखिने गर्दछ । कडा खालको मानसिक रोगी र सामान्य रोगी दुई भागमा विभाजन गर्न सकिन्छ । वर्तमान समयमा हेर्दा कडा खालका मानसिक रोग भएका बिरामीको अस्पतालमा धेरै चाप रहेको मानसिक अस्पतालका मिनोविश्लेषक डा. अन्नतप्रसाद अधिकारी बताउँछन् ।
अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्नेबित्तिकै नकारात्मक सोच राख्ने गरिन्छ । भएका मानिस खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्दछन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने हुन्छ ।
समाजमा मानसिक रोग लागेका मानिसलाई ‘पागल’ वा ‘बहुला’को रूपमा हेर्ने गरिन्छ । त्यसकारण पनि रोगीहरू कसैले देख्छ भन्ने डरले पनि अस्पताल नआउने गरेको बताउँछन् मनोविश्लेषण डा. अधिकारी ।
धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै छन् । बाँकी, सिजोफ्रेनिया, डिमोन्सिया, रक्सी र लागूऔषध सेवनका कारण आत्महत्या गर्ने पुग्छन् ।
मानसिक रोगको उपचार गर्नु भनेको आत्महत्याको रोगथाम गर्नु पनि हो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका मानिसहरूमा धेरै आत्महत्या गर्ने क्रम बढ्दै गएको छ ।
युवावर्गमा आर्थिक पक्ष अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि आत्महत्याको सिकार बन्दै गएका छन् । विशेषगरी दक्षिण कोरियामा काम गर्ने युवा–युवतीमा यो समस्या देखिएको छ ।
डा. अधिकारी भन्छन्, ‘घर–परिवारमा कुनै सदस्यले अनौठो क्रियाकलाप देखाउने, निराश हुने, बढी डराउने, आत्तिनेजस्ता क्रियाकलाप गर्ने थाल्यो भने मानसिक रोगको सिकार भएको हुन सक्छ । त्यसैगरी, अनावश्यक रूपमा निद्रा बिग्रन थाल्यो, व्यक्ति दुब्लाउँदै गयो, आत्महत्याको सोच आयो भनेर कोही सँग कुरा गर्न थाल्यो भने मानिसमा मानसिक रोग बढ्दै जान्छ ।
आधुनिक परिवेशमा हुर्किएका बालबालिकामा डिप्रेसनको समस्या बढ्दै गएको छ । त्यसको न्यूनीकरणका लागि स्कुल तहबाट जनचेतना बढाउनुपर्दछ । मनोविश्लेष डा. अधिकारीका अनुसार मानसिक रोगको पहिलो उपचार भनेकै सकारात्मक सोच राख्नु हो ।
पहिलो चरणमा मानिसमा मानसिक समस्या चिन्न सकियो भने समयमै उपचार गर्न सकिन्छ । कडा खालको मानसिक रोग लागेका व्यक्तिलाई औषधि प्रयोग, मनोपरामर्श, विद्युतीय प्रवाह गरी उपचार गर्ने सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।