[अन्तर्वार्ता] 'मेरो रहरको विषय पेसा बन्न सक्दैन भने सफलता प्राप्त हुँदैन'
'जीवनमा सफल बन्नुभन्दा पनि ठूलो कुरा महत्वपूर्ण बन्नु हो'

नेपाली सुगम संगीतमा संगीतकार सन्तोष श्रेष्ठको नाम निक्कै लोकप्रिय छ । ‘तिम्ले पराइ ठानेपछि, पराइ हुन के भयो र ?’ अञ्जु पन्तले गाएको यो गीत नसुन्ने सायदै होलान् । लोकराज अधिकारीले लेखेको यो गीतका संगीतकार श्रेष्ठनै हुन् । यो गीतले गीत संगीतका तीनजनै स्रष्टालाई स्थापित बनायो ।

पहिले मैले संगीतवद्ध गरेको गीत बजारमा ल्याइदिनुस् न भन्दै म्युजिक कम्पनी चहार्ने सन्तोषलाई यो गीतको सफलतापछि एल्बम निकाल्न अफर गर्नेहरुको लाइन नै लाग्यो । हुन त यो गीतभन्दा अघि उनले संगीत गरेको ‘आउँछु भनी निष्ठुरीले’ बोलको गीत पनि हिट भइसकेको थियो । 

तर, ‘तिम्ले पराइ ठानेपछि’ गीतबाट भने उनको लोकप्रियता झन धेरै चुलियो । त्यसपछि उनले कयौँ गीतमा संगीत गरे । उनका प्राय गीत लोकप्रिय बन्न पुगे । उनै संगीतकार श्रेष्ठसँग फरकधारका लागि राधिका अधिकारीले गरेको कुराकानी

तपाईले पहिलो संगीत कहिले र किन गर्नु भयो ?
२०५८ सालमा मैले औपचारिक रुपमा पहिलो संगीत गरेँ । मेरो संगीतको पहिलो गीत दामु मर्सिफूलको रचनामा रामकृष्ण ढकालले गाउनुभएको थियो । त्यो गीत ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’ हो । वास्तवमा मैले संगीतकार बन्नकै लागि पहिलो पटक संगीत गरेको थिएँ । मेरो पहिलो गीत सबैको माया र विश्वासले लोकप्रिय पनि भयो ।

तपाईको संगीत भर्ने शैली भन्नु पर्दा ?
सबै संगीतकारहरुको संगीत भर्ने शैली आआफ्नै हुन्छ । मेरो पनि आफ्नै किसिमको शैली छ । म मेरो शैलीलाई नेपाली मौलिक शैली भन्न रुचाउँछु । जब नेपाली मौलिक शैली हराउँछ, अनि संगीत गर्नु, नगर्नुको कुनै अर्थ हुँदैन । संगीतमा मौलिक शैली हराउनु भनेको साभार शैलीको सुरुवात हुनु हो ।

संगीत गर्ने विचार कहाँबाट आउँछ ?
विचार दुई तरिकाबाट आउँछन् । एउटा मष्तिष्कबाट, अर्को हृदयबाट । संगीतमा विचार हृदयबाट आउनु पर्दछ । म हृदयबाट आएको विचार नै प्रस्तुत गर्दछु । जब एउटा गीतकारको गीत म कहाँ आइपुग्छ, मलाई मेरै वा मेरै अभिव्यक्ति हो भन्ने विचार हृदयबाट आउँछ अनि संगीतको निर्माण हुन्छ ।



अरु संगीतकारबाट प्रेरणा लिनु हुन्छ ?
संगीतमा म अरुबाट प्रेरणा लिन्छु, तर कसैबाट प्रेरित भने हुँदिन । म कसैको जस्तो संगीत गर्न चाहन्न केवल मेरै जस्तो मात्र गर्न चाहन्छु । गीतकार, संगीतकार, संगीत संयोजक, गायक गायिकाको बीचमा छलफल भएर अगाडि बढ्न सकिन्छ, तर आफ्नो मौलिक शैली गुमाउनु हुँदैन वा कसैबाट प्रेरित हुनु हुँदैन भन्ने कुरामा म सजग छु । प्रेरणा लिनु तर प्रेरित नहुनु भनेको अरुको जस्तो नगरी आफ्नै जस्तो गर्नु हो । 

तपाईले गरेका संगीतको वर्णन गर्नु पर्दा कसरी गर्नु हुन्छ ?
म जहिले पनि संगीत हृदयदेखि गर्दछु । जब कुनै शब्द मेरो हातमा पर्छ, त्यो मलाई मेरै वा मैले नै लेखेको अनुभूति भएपछि मात्रै संगीतवद्ध गर्छु । मेरो संगीत मेरै जस्तो हुनुपर्छ भन्ने कुरामा म प्रष्ट छु । मेरो संगीत वर्तमानमा मात्रै नभएर कालान्तरसम्म बाँच्ने र सदाबहार बन्न सकुन् भन्ने प्रयत्न गरिएका पनि हुन् । 



के तपाई संगीत गर्दा श्रोताको बारेमा सोच्नु हुन्छ ?
संगीत रेकर्ड नहुन्जेल केवल मेरो हुन्छ वा मसँग सीमित हुन्छ । रेकर्डिङ भइसकेपछि श्रोताको माझमा पुग्छ । म श्रोताको बारेमा पनि सोच्दछु । किनकि संगीत सस्तो र क्षणिक मनोरञ्जनको साधन मात्र होइन । संगीत समाजको अनि राष्ट्रको अभिव्यक्ति हो । संगीतले श्रोताको मन मस्तिष्कमा पार्ने सकारात्मक प्रभावका बारेमा एउटा संगीतकर्मी अग्रिम सचेत हुनु आवश्यक छ । 

तपाईले कहिले सोच्नु भयो ‘म एउटा संगीतकार हुँ’ भनेर ?
जब म भित्र सांगीतिक चेतनाको विकास भयो । जब मैले शब्दलाई संगीतवद्ध गरेर औपचारिक रुपमा रेकर्डिङ गरेँ र सबैको माझमा मेरो संगीत पुग्यो अनि मलाई लाग्यो म पनि एउटा संगीतकार हुँ । २०५८ सालमा मेरो संगीतमा औपचारिक रुपमा गीत रेकर्डिङ भएपछि आधुनिक संगीतको यात्रा सुरुवात भएको हो । 

संगीत तपाईको लागि रहर हो कि पेसा ?
संगीत मेरो जीवन हो । संगीत साधना हो । संगीत रहर हो । संगीत पेसा हो । संगीत अबिरल यात्रा हो । संगीत आनन्द हो । संगीत सन्तुष्टि हो । संगीत राष्ट्रको सन्देश हो । जब म भित्र संगीतको तीव्र रहर हुँदैन म सफल हुनै सक्दिनँ । जब मेरो रहरको विषय पेसा बन्न सक्दैन, त्यहाँ पनि सफलता प्राप्त गर्न सकिँदैन ।

रहरको विषय पेसा बन्नु भनेको उत्पादित सामग्री उचित मूल्यमा बिक्री वितरण गर्नु जस्तै हो । जति उत्कृष्ट सामाजिक उत्पादन भएपनि गोदाममा थन्किएपछि के अर्थ छ ? रहरको विषय पेसा बन्न सक्नु जीवनमा सफलता हाँसिल गर्नु र महत्वपूर्ण बन्न सक्नु हो । जीवनमा सफल बन्नुभन्दा पनि महत्वपूर्ण बन्नु ठूलो कुरा हो । 

अन्त्यमा तपाई केही भन्न चाहनु हुन्छ ?
मेरो सांगीतिक यात्रामा आजसम्मको साधना आगामी दिनमा पनि निरन्तर रुपमा अगाडि बढाइरहनका लागि निरन्तर क्रियाशील रहने छु । म प्रतिको श्रोताको माया, विश्वास घट्न नदिनका लागि सांगीतिक साधना जारी रहने छ । सिर्जनशीलता कायम राख्ने छु । नेपाली संगीतको विकास र बिस्तारका लागि निरन्तर रुपमा अगाडि बढिरहने छु । 

  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १२:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया