सुजिता प्रकरणमा प्रहरीको गुनासो : काठमाडौंबाट जहाजमा आएका आन्दोलनकारीले अनुसन्धान गर्नै दिएनन्
एसपी अधिकारी भन्छन् : अवरोध भइरहे घटना टुंगोमा पुग्दैन

चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा काठमाडौंबाट जहाज चढेर आउनेको आन्दोलनका कारण अनुसन्धान गर्नै नपाएको गुनासो प्रहरीले गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरेर अनुसन्धान तीव्रता पारेपछि अनावश्यक अवरोधले समस्या भएको जनाएको छ।

चितवन प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले अवरोधबीच पनि विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताएका छन्। उनले छिट्टै घटनाको सत्य तथ्य सार्वजनिक गरिने बचन पनि दिएका छन्। 

तर उनले गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउनुको साटो उल्टै आन्दोलन गरेर समस्या बढाइएको बताएका छन्। 'प्रहरीलाई अनुसन्धानमा सघाउने गरी स्थानीयले भूमिका खेल्नुपर्ने बेला हो यो। तर अनुसन्धान नै प्रभावित हुने गरी अवरोध खडा गरिएको छ', उनले भने, ‘हामी न्यायको कुरा गर्छौँ। न्याप प्राप्तिको प्रक्रियालाई भने आन्दोलनका नाम अवरोध गरिएको छ। न्यायको कुरा गर्नेले नै आन्दोलन गरेर प्रहरीलाई अवरोध गरिदिँदा अनुसन्धानमा समस्या भएको छ।'

अधिकारीले घटनाका प्रमाण जुटाउने, अनुसन्धान गर्ने र निचोड निकाल्ने प्रक्रियामै जाने गरी काम गर्नुपर्ने त्यसो गर्नै नदिएको पनि बताएका छन्। अनुसन्धान गर्न नदिइ सडक आन्दोलन तताइएकोमा पनि उनले दु:ख व्यक्त गरे।

‘दुःखका साथ भन्दैछु, आजसम्म पनि पीडित परिवारलाई हामीले भनेको र चाहेको बेला भेट्न पाएका छैनौं’, उनले भने, ‘अपराध अनुसन्धानलाई प्रभावित पार्ने गरी सडक आवागमन रोक्ने, सूचना लिन जाँदा प्रहरीलाई रोकेपछि न्याय प्राप्ति कसरी कसरी सम्भव हुन्छ?'



उनले अनेक किसिमका अभियन्ताका नाममा भइरहेको आन्दोलनले अनुसन्धानलाई झनै प्रभावित पारेको गुनासो गरे। 'काठमाडौंमा 'फ्लेक्स प्रिन्ट' छापेर, पोको पारेर, ब्यागमा हालेर, प्लेनबाट ओर्लेर अघिल्लो दिन कतै बास बसेका समूह अहिले आन्दोलनमा छन्', उनले भने, 'यी आन्दोलनकारी अभियन्ताबारे पीडित पक्षलाई पनि थाहा छैन। पीडित पक्षले ती आन्दोलनकारीविरुद्ध हामीसँग गुनासो गरिरहनु भएको छ।'

प्रहरीको अनुसन्धान पूरा नै नभइ आफूखुसी निष्कर्ष निकाल्दै अनेक अनुमानका भरमा तर्क गरेर समाजलाई उत्तेजित बनाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाएका छन्। 



'यो बेला सबै संयम भएर बस्नुपर्ने हो', एनले भने, 'हाम्रो अनुसन्धानका क्रममा सुजिता र दिदी कविताबीच पटक-पटक फोन सम्पर्क भएको छ। सुजिताले पटक पटक मोबाइल डाटा प्याक लिएको पनि भेटेका छौँ। अपहरणबारे कुनै जानकारी नआउँदा दिदीबहिनीबीच सहज फोन संवाद भइरहँदा अपहरण नै भएको ठोकुवा गर्न सकिँदैन। आन्दोलनका नाममा अवरोध नभएमा हामी अनुसन्धानलाई निचोडमा पुर्‍याउँछौँ।' 

भिडियो

  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १६:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया