युरोपेली फुटबलको सर्वोच्च नियाय युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि छानबिन सुरु गरेको छ ।
युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा भएको डेनमार्क विरुद्धको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै इङ्ल्यान्डमाथि छानबिन सुरु गरिएको हो ।
खेलको दौरान डेनमार्कका गोलरक्षक कास्पर स्माइकललाई लक्षित गर्दै दर्शकदिर्घाबाट लेजर लाइट प्रयोग गरिएको थियो ।
अतिरिक्त समयमा धकेलिएको खेलको १०४ औँ मिनेटमा इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो र पेनाल्टी प्रहार गर्न कप्तान ह्यारी केन आए । केनले पेनाल्टी प्रहार गर्नुभन्दा अगाडि कास्परको अनुहारमा पर्ने गरी लेजर लाइट प्रयोग गरिएको थियो ।
केनको प्रहारलाई गोरक्षक कास्परले रोके पनि रिबाउन्ड बललाई भने उनले गोलमा परिणत गरे ।
केनको यही गोलमार्फत डेनमार्कमाथि २-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक युरो कपको फाइनलमा प्रवेश गरेको थियो ।
युइएफएको अनुशासन कमिटिले खेल चलिरहँदा मैदानमा अर्को बल आएको, खेलको सुरुवातमा राष्ट्रिय गीतको दौरान दर्शकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी गरेको विषयमा समेत छानबिन गर्ने भएको छ ।
इङ्ल्यान्डले उपाधिका लागि आइतबार वेम्बली स्टेडियममा इटालीको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।