[टिप्पणी] अफगानिस्तानमा अमेरिकामा हार्‍याे कि जित्यो ?

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्तामा आउँदासाथ अफगानिस्तानबाट आफ्नो नेतृत्वका सैनिक फिर्ता ल्याउने घोषणा गरिदिए । जुन उद्देश्यले अमेरिकाले त्यहाँ सैनिक तैनाथ गरेको थियो, के अब त्यो उद्देश्य पूरा भयो ? के अफगानिस्तानमा तालिवानी लडाकूको त्रास बन्द भयो ?

जब अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ताको घोषणा भयो, तब त्यहाँ तालिवानीहरूले विभिन्न क्षेत्रमा आफ्नो कब्जा जमाउँदै गएका छन् । यसबाट के प्रष्ट हुन्छ भने, तालिवानले हारेको छैन । तालिवान छिट्टै अफगानिस्तानमा पुनः स्थापित हुने बाटोमा छ ।

अमेरिकाले आतंकवाद विरुद्धको संघर्षका नाममा अफगानिस्तानमा तालिवानको अन्त्य गर्न २० वर्षअघि सैनिक पठाएको थियो । उक्त अवधिमा तालिवानसँग भएका संघर्षहरूमा कम्तीमा २३०० अमेरिकी सैनिक मारिएका छन् । अमेरिकाले त्यहाँ दुई ट्रिलियन डलर खर्च गरिसकेको छ । 

यति धेरै राशि खर्च र सैनिकको मृत्युपछि पनि तालिवान हारेको छैन । उसले पछिल्लो समय हमला तीव्र पार्न थालेको छ । यो अवस्थामा प्रश्न उठ्न थालेको छ, के अमेरिका अफगानिस्तानमा तालिवानसँग हारेको हो ? अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई पराजय मानेका छैनन् । साथै, अफगानिस्तानमा अमेरिकाको विजय पनि घोषणा उनले गर्न सक्ने छैनन् ।

उनै बाइडेनले बुधबार अगस्त ३१ तारिखका दिनदेखि अफगानिस्तानमा सैनिक अभियान अन्त्य गर्ने घोषणा गरे । उनले के पनि स्वीकारे भने, २० वर्षसम्म भएको युद्धमा विजयको उत्सव मनाउने सफलता मिलेको छैन । उनले अमेरिकाले भियतनामसँग व्यहोरेको जस्तो हार पनि अफगानिस्तानमा भोग्नु नपरेको बताए । 

बाइडेनमाथिका प्रश्न यतिमै सकिएका छैनन्, युद्धविश्लेषकहरूले केही दिनअघि बगराम एयरबेसबाट चुपचाप सैनिक भागेको कुरा पनि उठेको छ । बगराम एयरबेसबाट सैनिकहरू रातिको समयमा चुपचाप प्रस्थान गर्नुलाई हारको प्रतीक मानिएको छ । १९७५ मा भियतनाम युद्धको अन्त्यताका पनि अमेरिकी सैनिक साइगनबाट यसैगरी चुपचाप निस्केका थिए । बाइडेनले भियतनामसँग भएको युद्धको समय र अहिलेको समय फरक भएको प्रतिक्रिया दिएका छन् ।



उनलाई भियतनाम र अफगानिस्तान युद्धबीचको तुलना पटक्कै मन परेको छैन । तर उनले अफगानिस्तानमा अमेरिकाको ‘मिसन’ पूरा भएको बताउन पनि सकिरहेका छैनन् । केही मिसन पूरा भएको जिकिर भने उनले गरे । सोही युद्धका क्रममा ओसामा बिन लादेन पत्ता लागेकोमा खुसी हुनुपर्ने उनको भनाइ थियो । तर आतंकवाद अफगानिस्तानबाट निर्मूल पार्न नसकिएको पनि उनले स्वीकारेका छन् ।

तालिवान अहिले सबैभन्दा मजुबत स्थितिमा



२००१ पछि तालिवान यतिखेर सबैभन्दा मजबुत अवस्थामा रहेको बाइडेन स्वीकार्छ । तर गुरिल्ला युद्ध गरेर अफगानिस्तानको सत्ता कब्जा गर्न भने उनीहरूले नसक्ने पनि उनको ठहर छ । यस्तो केही नहुने र हुनै नसक्ने उनी बताउँछन् । अफगान सेनामाथि आफूलाई विश्वास रहेको उनको भनाइ छ । यति भन्दाभन्दै पनि तालिवान र अफगान सरकार निकट भविष्यमै गृहयुद्धमा फस्न सक्ने कुरालाई भने उनी अस्वीकार गर्न सकेनन् । 

अमेरिकाले २००१ मा जब अलकायदा र सबैखाले आतंकवादविरुद्ध हमलाको घोषणा गर्‍याे, तब यसको अभियान स्वरूप अफगानिस्तानमा आफ्नो नेतृत्वमा सैनिक तैनाथ सुरु गरेको थियो । तालिवानीहरूले अलकायदालाई शरण दिइरहेको र अफगानिस्तानमा आतंकारीहरू बसेको अमेरिकाको ठहर थियो । सोही कारण अफगानिस्तानमा सैनिक पठाएको हो । 

अहिले २० वर्षपछि सैनिक फिर्ता ल्याउँदा मिसन पूरा भएको घोषणा गर्न नपाउँदा निश्चित रूपमा अमेरिकामाथि प्रश्न उठ्न थालेका छन् । किन अमेरिकाले त्यति लामो समय अफगानिस्तानमा सैनिक तैनाथ गर्‍याे ?, किन त्यति ज्यादा रकम खर्च गर्यो र अहिले आएर मिसन अधकल्चो छाडेर किन फर्कियो ? यो प्रश्नको स्पष्ट जवाफ बाइडेन र अमेरिकासँग छैन । यसलाई सफलता र असफलताको बीचमा बसेर बुझ्नुपर्ने अमूर्त जवाफ बाइडेनबाट आउनुले अमेरिकाले अफगानिस्तानमा असफलता व्यहोरेको तर्क गर्नेहरू बलिया हुन पुगेका छन् । 

अधिकांश अफगान जनता अमेरिकी सैनिकको फिर्तीबाट आफू असुरक्षित रहेको महसुस गर्न थालेका छन् । तालिवान लडाकूले अहिले कब्जा जमाएका क्षेत्रमा आफ्नो कानुन लागू गर्न थालिसकेका छन् । केही दिनअघिमात्रै तिनले महिलालाई घरबाट बाहिर ननिस्कन र पुरुषलाई लामो दाह्री पाल्न आदेश दिएका छन् ।  
 

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १४:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया