ओली–प्रचण्ड दुवै विदेश जाँदा नेकपाका कार्यवाहक अध्यक्ष को ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देशबाहिर छन् । प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् भने प्रचण्ड पत्नी सीताको उपचारका लागि सिङ्गापुर गएका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिका जानुपूर्व कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका थिए । यता, पार्टीमा चाहिँ उनी विदेश जाँदा अध्यक्ष प्रचण्ड नेपालमा नै भएकाले कार्यवाहकको जिम्मेवारी दिनु परेन । 

तर, प्रचण्ड पनि बुधबार साँझ सिङ्गापुर गए । 

उनले पनि सिङ्गापुर जाँदा पार्टीमा कार्यवाहकको जिम्मेवारी कसैलाई दिएनन् । 

आखिर किन ? के नेपाल कम्युनिस्ट पार्टीमा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसैलाई दिनु पर्दैन ?

नेकपाले केही महिनाअघिमात्र सार्वजनिक गरेको पार्टी विधानको धारा १८ मा केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरु गर्ने भनेर महासचिवको अधिकार छुट्टाइएको छ । सोहीअनुरुप पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी पनि महासचिव विष्णु पौडेलले नै गर्ने अन्डरस्टान्डिङ छ ।



अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसर अध्यक्षले कुनै पनि जिम्मेवारी तोकेर हिँडेका छैनन् । सापकोटाले भने, ‘अध्यक्षज्यूले कुनै जिम्मेवारी तोकेर जिम्मा लगाउनुभएको छैन । तर, पार्टी विधानमा उल्लेख भएअनुसार नै पार्टीको कार्यकारी जिम्मेवारी महासचिव कमरेडले नै गर्नुभएको छ ।’

यसअघि पनि दुवै अध्यक्ष देशबाहिर हुँदा नेकपाले कुनै जिम्मेवारी तोकेको थिएन । त्यसकारण, दुवै अध्यक्ष नहुँदा पार्टीको कार्यवहाक अध्यक्ष नतोकिएपनि महासचिव विष्णु पौडेलले त्यसको जिम्मेवारी सम्हालिरहेका छन् ।*



 

सच्याइएकाे :

*यसअघि दुवै अध्यक्ष प्रचण्ड र अाेली नेपाल बाहिर हुँदा  माधव नेपाललाई ५ असारमा लिखितरुपमा कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिइएकाे थियाे । पहिले प्रकाशित समाचारमा भूलवश याे कुरा नसमेटिएकाे क्षमायाचना गर्दछाैँ ।

  • प्रकाशित मिति : असोज ११, २०७५ बिहीबार १६:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया