विद्युतीय बस चलाएर छाड्ने सरकारको दाबी
कमिसन बारे थाहा छैन : मन्त्री फुयाँल

बागमती प्रदेश सरकारले यो वर्ष विद्युतीय बसको योजना कुनै पनि हालतमा बजेटमा रहेर पास हुने जिकिर गरेको छ । प्रदेश सरकारले विद्युतीय बस खरिद गरेर सञ्चालन गर्न कसैले रोक्न नसक्ने बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले जानकारी दिएका हुन् ।

बागमती प्रदेशसभा बजेटमा सोही विषय समावेश भएकै कारण प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन् । शनिबार बस्ने प्रदेश सभाको बैठकमा पनि सोही विषयमा केन्द्रित हुने देखिएको छ । तर, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले असार मसान्त सम्ममा बजेट पास हुने र त्यसमा विद्युतीय बसको योजना हुने दाबी गरेका हुन् । 

पहिले चार्जर अनि बस 

प्रदेशका भौतिक पूर्वाधार मन्त्री फुयाँलले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बस एकैचोटि ल्याएर कुदाउने योजना नभई सुरुमा चार्जर ल्याएर चार्जिङ स्टेसन निर्माण गर्ने अनि मात्रै बस खरिद गर्ने बताएका हुन् ।

‘अहिले ३० वटा बस र १५ वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना हाम्रो छ,’ उनले भने, ‘अहिलेलाई २० वटा सिटी बस र १० वटा कोच बस सञ्चालन गर्नेछौं । साउनबाट यसको प्रक्रिया सुरु गरेर आगामी जेठसम्ममा विद्युतीय बस सञ्चालन गर्ने हाम्रो योजना छ ।’ बस खरिदका लागि सम्झौता भएको ९ महिनामा बस नेपाल आइपुग्ने उनले बताए । 

बस आएको ३ महिना अघि नै बसको चार्जर नेपाल आइपुग्ने पनि फुयाँलको दाबी थियो । ‘हामी स्टेसन राख्छौँ । बस र चार्जिङ स्टेसनको एउटै टेन्डर छ । जसले प्राप्त गर्छ उसले मर्मतको जिम्मा पनि लिनुपर्छ,’ उनले भने, ‘बस एकदिन पनि त्रिपालले छोपेर नराखी आउने बित्तिकै सञ्चालन हुने हिसाबले हामी अघि बढेका छौं । प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड बनाएर बस खरिद प्रक्रियालाई हामीले अघि बढाएका छौं ।’



प्रतिस्पर्धात्मक ढंगले कार्यकारी निर्देशक र २ जना कार्यकारी उपनिर्देशक नियुक्त गरेका उनले जानकारी दिए । ‘उहाँहरूले काम थालिसक्नुभएको छ । सडक सुरक्षा र जनताको सुरक्षालाई पनि ध्यान दिएर बस सञ्चालन गर्छौं ।’

मन्त्री फुयाँलले प्रदेश सरकारले स्थानीय तहको समन्वयमा चार्जिङ स्टेसन बनाउने बताए । उनले यस नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई लक्षित गर्दै धादिङमा पनि चार्जिङ स्टेसन बनाउने र कसैले विरोध गर्न नसक्ने बताए । 



कमिसन खानेलाई थाहा होला 

पत्रकार सम्मेलनमा उठेको प्रश्नको रुखो जवाफ दिएका मन्त्री फुयाँलले कमिसनको खेल भन्ने शब्द खानेलाई थाहा हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘मलाई आजसम्म त्यो थाहा छैन । कहाँ कसरी कमिसनको खेल हुँदैछ, मलाई यसबारे जानकारी छैन । थाहा हुनेले बताइदिए हुने नि । लिखित रूपमा त्यस्तो पुष्टि हुने जानकारी दिनुस् । दोषी कोही भए कारबाही हुन्छ । अन्तर्राष्ट्रिय बोलपत्र नै आह्वान भइसकेको छ । अब यो कसलाई पर्छ भन्ने नै थाहा छैन । यस्तोमा कसरी कमिसनको लोभ हुन्छ ?’

पत्रकार सम्मेलनमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका नीतिगत र यो आर्थिक सम्पन्न भएका कामहरूका बारेमा जानकारी गराइएको थियो ।

यो पनि पढ्नुस्

​‘कमिसनको खेलमा बागमती सरकार’

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार २०:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया