कसले जित्ला युरो कपको उपाधि ?

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको १६ औँ संस्करणको उपाधिका लागि इङ्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । खेल इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा आइतबार नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ । 

पहिलोपटक युरो कपको फाइनल प्रवेश गरेको इङ्ल्याल्ड पहिलो प्रयासमै उपाधि हात पार्ने लक्ष्यमा हुनेछ । उसलाई घरेलु दर्शकको पनि राम्रो साथ मिल्नेछ ।इङ्ल्यान्डले सन् १९६६ को फिफा विश्वकप उपाधि हात पारेयता उसले पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । 
 
घरेलु मैदानमा भएको त्यो विश्वकपछि  इङ्ल्यान्डले पहिलोपटक मुख्य प्रतियोगितामा  फाइनल खेल्दै छ र त्यो पनि घरेलु मैदानमा । उसलाई ५५ वर्ष अघिको इतिहास दोहोर्‍याउने अवसर मिलेको छ तर पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको इटालीलाई हराउन त्यति सहज भने छैन ।  

पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्ने सोचमा हुनेछ । सन् १९६८ को युरो उपाघि हात पारेको इटालीले पछिल्लोपटक सन् २०१२ को युरो फाइनल खेलेको थियो । 

इटाली इङ्ल्यान्डलाई हराउँदै दोस्रोपटक युरो कप उपाधि उचाल्न चाहन्छ तर घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डलाई पराजित गर्न त्यति सहज भने हुने छैन । 

हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गरेका छन् । इटाली ११, इङ्ल्यान्ड ८ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ ।  यी दुईले एक अर्काविरुद्ध मुख्य प्रतियोगितामा भने जम्मा ४ खेल खेलेका छन् । जसमा चारै खेल इटालीले आफ्नो पक्षमा पारेको छ । 

उनीहरूले मुख्य प्रतियोगितामा पहिलोपटक सन् १९८० को युरो कपमा एक अर्काको सामना गरेका थिए । यो खेलमा इटाली १-० ले विजयी भएको थियो । 
विश्वकप अन्तर्गत सन् २०१४ मा भएको पछिल्लो खेल पनि इटाली २-१ ले आफ्नो पक्षमा पारेको थियो ।



प्रतियोगितामा अपराजित रहेका दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

यस्तो छ दुवै टोलीको फाइनलसम्मको यात्रा :



इङ्ल्यान्ड

युवा खेलाडीको राम्रो साथ पाएको इङ्ल्यान्डले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 

इङ्ल्यान्ड २ जित र १ बराबरीको नतिजासहित ७ अंक जोडेर समूह ‘डी’को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । उसले समूह चरणमा क्रोएसिया र चेक गणतन्त्रलाई समान १-० ले पराजित गर्दा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम १६ मा उपाधि दाबेदार मनिएको जर्मनीलाई २-० ले हराएको इङ्ल्यान्डले  क्वाटरफाइनलमा  युक्रेनमाथि ४-० को सानदार जित दर्ता गर्‍याे ।

सेमिफाइनलमा डेनमार्कको चुनौतीलाई २-१ ले पन्छाउँदै इङ्ल्यान्डले पहिलोपटक युरो कपको फाइनलमा स्थान पक्का गरेको हो । ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डले फाइनलसम्म आइपुग्दा १० गोल गर्दै जम्मा १ गोल व्यहोरेको छ । 

इङ्ल्यान्डलाई जोर्डन पिकफोर्ड, बुकायो साका, ह्यारी म्यागुइर, रहिम स्टर्लिङ, मेसन माउन्टजस्ता खेलाडीको साथ रहने छ ।  

इटाली 

इटालीले पछिल्लो समय निकै लोभलाग्दो खेल प्रस्तुत गरिरहेको छ । 

पछिल्ला ३३ खेलमा अपराजित उसले शतप्रतिशत जितसहित ९ अंकका साथ समूह ‘ए’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो ।  इटालीले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३-० ले पराजित गर्दा वेल्समाथि १-० को जित हात पारेको थियो । 

उसले अन्तिम १६ मा अस्ट्रिया र क्वाटरफाइनलमा उपाधि दावेदार बेल्जियम माथि समान २-१ को जित दर्ता गर्‍याे ।

सेमिफाइनलमा उपाधि दावेदार मानिएको अर्को टोली स्पेनको चुनौतीलाई पेनाल्टी सुट आउटमा ४-२ ले पन्छाउँदै इटालीले सन् २०१२ पछि युरो फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियोे । 

इटालीले फाइनलसम्मको यात्रा तय गर्दा १२ गोल गर्नुका साथै ३ गोल व्यहोरेको छ । जर्जियो चिलिनीको कप्तानीमा रहेको टोलीमा अनुभवी तथा युवा खेलाडीको राम्रो मिश्रण छ । 

इटालीले लियोनार्दो बुनाची, सिरो इम्मोबीले जस्ता अनुभवी तथा जियानलुजी डोनारुम्मा, म्यानुएल लोकाटेली, फेडेरिको चेइसा जस्ता युवा खेलाडीको राम्रो साथ पाएको छ । 

 


 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १३:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया