भीडबाट फैसला : असफल प्रहरी कि नागरिकको अविश्वास ?
विश्वका अन्य मुलुकमा पनि यस्तै समस्याको बिगबिगी

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘कथित सामाजिक अभियन्ताले अनुसन्धानमा अवरोध गरे ।’ चितवनमा हराएको ९ दिनपछि मृत अवस्थामा फेला परेकी सुजिता भण्डारीको अनुसन्धान प्रकरणमा प्रहरीमाथि असहयोग भएको उनको दाबी थियो ।

अभियन्ताको नाममा विरोध प्रदर्शन गर्ने, सडकमा आन्दोलन गर्ने जस्ता काम भएपछि उनले पत्रकार सम्मेलन गर्दै मुख खोले, ‘काठमाडौंमा ‘फ्लेक्स प्रिन्ट’ छापेर, पोको पारेर, ब्यागमा हालेर, प्लेनबाट ओर्लेर अघिल्लो दिन कतै बास बसेको समूह अहिले आन्दोलनमा छ । यी आन्दोलनकारी अभियन्ताबारे पीडित पक्षलाई पनि थाहा छैन । पीडित पक्षले ती आन्दोलनकारीविरुद्ध हामीसँग गुनासो गरिरहनुभएको छ ।’

अनुसन्धान पूरा नै नभई आफूखुसी निष्कर्ष निकाल्दै अनेक अनुमानका भरमा तर्क गरेर समाजलाई उत्तेजित बनाउने काम भइरहेको उनको भनाइ थियो । सामाजिक अभियान्ता तथा अधिकारकर्मीको जमात यतिबेला चितवन पसेको छ । उनीहरूले सुजिताको बलात्कारपछि हत्या भएको र हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै आएका छन् । जबकि पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारण खुलेको छैन ।

भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआउँदासम्म उनको मृत्युको कारण खुल्ने छैन । तर, उनको न्यायका लागि भन्दै अभियन्ताहरूले प्रदर्शन उग्र बनाएपछि स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनुपरेको छ ।

यसअघि चितवनकै सविता भण्डारीको आत्महत्या प्रकरणमा पनि महिला अधिकारकर्मी भनिने सावित्री सुवेदीसहितको टोलीले प्रदर्शन गरेको थियो । उक्त समूह सविताको घरमै पुगेर नाराबाजी गर्नुका साथै अदालतले धरौटीमा रिहा गरेका उनका श्रीमान् र ससुराको घर घेराउ गरेका थिए । प्रहरीले सविताले आत्महत्या नै गरेको रिपोर्टसहित अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमान् र ससुरामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो ।

अदालतले पनि १-१ लाख धरौटीमा रिहा गरेको थियो । तर, अभियन्ताहरू उनको आत्महत्या मान्न तयार छैनन् । उनको हत्या नै गरिएको र उनीहरूमाथि कारबाही गर्नुपर्ने माग गर्दै सडक आन्दोलनमा उत्रिएका थिए ।



योभन्दा पहिला कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरण त नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बन्यो । जुन घटनापछि थुप्रै खाले अभियन्ताहरूको जन्म भयो । तिनै अभियन्ताहरू अहिले पनि जहाँ मृत्यु हुन्छ, त्यहाँ पुगेर हत्या भएको दाबी गर्छन् र कारबाहीको माग गर्दै सडक तताउन थाल्छन् । 

२०७५ साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या भयो । उनको हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा एक महिनाभन्दा लामो समय प्रदर्शन भयो ।



विरोध प्रदर्शन यति उग्र बन्यो कि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भयो । प्रहरीको गोली लागेर केही घाइते भए । उक्त प्रदर्शनले प्रहरीमाथि दबाव त सिर्जना भयो तर, त्यसले अहिलेसम्म प्रतिफल पाउन सकेन ।

त्यो बेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीमाथि यति दबाब थियो कि, एकातिर घटनाबारे अनुसन्धान गर्नुपर्ने अर्कोतिर भीड नियन्त्रण गर्नुपर्ने अवस्था । प्रहरीमाथि दोहोरो दबाब पर्‍यो ।’

त्यतिबेला भीडले जे भन्यो सबैमा त्यस्तै खालको प्रभाव पर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ‘अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो । हामीले अनुसन्धान गर्न नपाउँदै सीमित स्वार्थवालाले आन्दोलन थालिहाले । अनि हामीले अनुसन्धान गर्ने कि विरोध प्रदर्शन नियन्त्रणमा ध्यान दिने ? यस्तो खालको प्रदर्शन दबाब दिनभन्दा पनि घटनालाई प्रभावित पार्न हुने रहेछन्’, ती अधिकारीले भने ।

त्यही भीडले गरेको प्रदर्शनका कारण अहिले पनि कञ्चनपुर प्रहरीप्रति जनविश्वास राम्रो छैन । अहिले पनि स्थानीयबाट प्रहरीमाथि असहयोग हुने गरेको छ ।

यो घटनापछि भने प्रायजसो हत्या, आत्महत्या जस्ता घटनामा भीडले प्रहरीमाथि दबाब दिने क्रम बढ्दो छ ।

निर्मला प्रकरणपछि यस्तो भीड उग्र बन्दै गएको देखिन्छ । त्यसको अर्को उदाहरण हो, चितवनमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण ।

२० साउन २०७६ मा चितवनको कंगारु होटलमा पत्रकार पुडासैनीले आत्महत्या गरेका थिए । आत्महत्या गरेका उनले फोनमा एउटा भिडियो बनाएका थिए । जुन भिडियो आत्महत्या गर्नुअघिको थियो । भिडियोमा आत्महत्या गर्नुको कारण सञ्चारकर्मी रवि लामिछानेमाथि लगाएका थिए । रवि लामिछानेले दिएको मानसिक तनावका कारण आफू मर्न बाध्य भएको भन्दै भिडियो बनाएका थिए । त्यही भिडियोका आधारमा प्रहरीले रविमाथि आत्महत्या दुरुत्साहन मुद्दा चलाएको थियो ।

काठमाडौंबाट पक्राउ परेका रविलाई चितवन लैजाँदै गर्दा उता एक समूह सडकमा उत्रिहाल्यो । रवि निर्दोष भएको र उनलाई फसाउन खोजेको भन्दै रिहाइको माग गर्दै चितवनका सडक ताते । 

विरोध प्रदर्शनका कारण अनुसन्धानमा निकै समस्या भएको तत्कालीन चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका थिए । ‘एकातिर अनुसन्धानलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने थियो । अर्कोतिर सडकमा हुने विरोध प्रदर्शनबाट हुने सम्भावित घटना कसरी नियन्त्रण गर्ने । यसरी अनुसन्धानमा कुनै प्रभाव त पर्दैन । तर, असहयोग भने पक्कै हुन्छ’, एसपी मल्लको भनाइ थियो ।

सडकमा जम्मा भएको भीडलाई देखेर प्रहरी तर्सिने वा डराउने भन्ने त हुँदैन । तर, पनि प्रहरीले असहजता महसुस भने गरिरहेको हुन्छ । भीडका कारण प्रहरीबारे जनसमुदायमा विश्वास गुम्ने खतरा बढी हुन्छ ।

अहिले त झन् सामाजिक सञ्जालको बढ्दो प्रयोग र युट्युबरका कारण सामान्य घटनालाई पनि ‘तिलको पहाड’ बनाइदिन्छन् । 

यस्ता खालको घटना हुँदा पीडित परिवार एकातिर शोकमा डुबेको हुन्छ । युट्युबर र कथित अभियन्ताहरू आफ्नो च्यानलको भ्युज बढाउन र आफ्नो प्रभावमा पार्न लागिपरेका हुन्छन् ।

यसरी आफैं न्यायाधीश बनेर फैसला गर्ने अनि प्रहरीले केही गरेन भनेर हिँड्ने खालको परिपाटी पछिल्ला दिनमा बढ्दो छ । 

बैतडीमा बलात्कारपछि हत्या गरेकी भागरथी भट्टको केस होस् वा बझाङकी सम्झना कामीको हत्या प्रकरण किन नहोस्, सार्वजनिक भीडबाटै फैसला गरिएकै हुन् । यसमा प्रहरीमाथि नै प्रश्न उठाएर सामाजिक भीडले आफैंले न्याय दिएर प्रहरीको अनुसन्धान प्रक्रियालाई नै कमजोर पारे । 

नेपाल प्रहरीको तथ्यांक हेर्दा यो चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ६२४ जनाको हत्या भयो । २ हजार ३२२ जना बलात्कारका घटना भए । धेरैजसो घटनापछि भीडको उपस्थिति देखियो । त्यही भीडले घटना भएको दाबी गर्ने, प्रहरीमाथि दबाब सिर्जना गर्नुभन्दा आफैंले दाबी गर्ने जस्तो प्रवृत्ति देखियो । 

नेपालमा मात्र नभएर विदेशमा पनि यस्तै 

अमेरिकाको जोर्ज फ्लोइड मृत्यु प्रकरणले संसार नै हल्लाएको थियो । अफ्रिकी मूलका अमेरिकी जोर्ज फ्लोइडलाई प्रहरी अधिकारी डेरेक सोभिनले सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेका थिए । हत्या गरेको आरोपमा अदालतले उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनायो ।

४८ वर्षीय फ्लोइडको मृत्यु सोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो । उनको हत्यापछि अमेरिकामा कोरोना महामारीकै बीच विरोध प्रदर्शन भयो । अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको यो घटनापछि चर्को विरोध प्रदर्शन भएको थियो ।

घटनामा संलग्न अधिकारीलाई बर्खास्त गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । तर, नागरिकहरूले अनुसन्धानमाथि नै शंका गरेर विरोध प्रदर्शन गरे ।

भारतको दक्षिणी सहर हैदराबादमा सन् २०१९ को डिसेम्बरमा एक २७ वर्षीया महिला पशु चिकित्सकको बलात्कारपछि हत्या भयो । उक्त घटनापछि हजारौं मानिस प्रदर्शनमा उत्रिए । कामबाट फर्किने क्रममा हराएकी ती महिलाको जलेको शरीर भेटिएको थियो । प्रहरीले हत्या अगाडि सामूहिक बलात्कार भएको बताएको थियो ।

उनको दोषीलाई मृत्युदण्डको माग गर्दै हैदराबाद नगरको बाहिरी क्षेत्रको एक प्रहरी चौकी बाहिर हजारौं मानिस भेला भएर प्रदर्शन गरेका थिए । महिला बसोबास रहेको समुदायले टोलमा प्रवेश गर्ने मूल गेट नै बन्द गरिदिएका थिए । मिडिया, अभियान्ता र बारम्बारको आवत-जावतले गर्दा आजित भएका स्थानीयले प्रवेश गर्ने गेटमा नै प्लेकार्ड राखेका थिए । जसमा लेखिएको थियो, ‘सञ्चारमाध्यम आउन पर्दैन, प्रहरी पर्दैन, बाहिरिया पर्दैन, कुनै सहानूभूति चाहिँदैन, केवल कारबाही र न्याय चाहिन्छ ।’

त्यसअघि सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीमा एक महिलाको बसभित्रै सामूहिक बलात्कार र हत्या भएको थियो । त्यो घटनापछि भारतभर चर्को आन्दोलन नै भएको थियो ।

यसरी प्रहरीले गर्ने अनुसन्धानमाथि नै अविश्वास खडा गरेर नेपालमा मात्र नभएर विश्वभर नै दबाब, आन्दोलन तथा प्रदर्शन हुने गरेका छन् । यसको कारण विदेशमा के होला त्यो भन्दा पनि नेपालमा थरी थरीका कारण रहेको विज्ञहरू बताउँछन् । 

यसको कारण के ?    

यसको पछाडि थरी थरीका कारण रहेको बताउँछन्, नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल । उनले घटनामा प्रहरीमाथि अविश्वास खडा गर्नु र प्रहरीको अनुसन्धानमाथि शंका गर्नु नै भीडको उपज रहेको बताउँछन् । 

‘पहिलो असर त यस्तो प्रकारको प्रदर्शन तथा भीडले पीडित र समाजलाई प्रहरीप्रति अविश्वास पैदा गरिदिन्छ, उनले भने, ‘प्रहरीले सही काम गरे पनि, जे भइरहेको त्यो सबै गलत भइरहेको भन्ने बनाइदिन्छ । सबभन्दा डरलाग्दो त्यो हो ।’

अर्को कुरा प्रहरीले सही काम गरिरहेको छ, कानुनअनुसार अगाडि बढ्न खोजिरहेको छ, अनुसन्धानलाई सही तरिकाले अगाडि बढाइरहेको छ भने पनि प्रहरीलाई हतोत्साही बनाइदिने काम गर्ने उनको भनाइ छ । ‘राम्रो गर्न खोज्दा पनि यस्तो भइरहेको छ भने यसले असर गरिहाल्छ । किनकि अनुसन्धान अधिकृत पनि आखिर मान्छे नै हो नि’, उनले भने । 

राम्रैसँग अनुसन्धान गरिरहेको भए पनि यस्ता खालको घटनाले हतोत्साहित बनाइदिने, झुटो माहोल पैदा गरिदिने काम गर्ने पूर्व डीआईजी मल्लको बुझाइ छ ।

प्रहरीले दबावबिना काम गर्न सक्दैन भन्न सकिने अवस्था छैन । त्यसका लागि सडकमा प्रदर्शन गरेर मात्र दबाब सिर्जना नहुने मल्लको भनाइ छ ।

‘दबाब दिनु नराम्रो होइन, त्यसका लागि पनि तरिका हुन्छ नि । एक किसिमले मिडियाले पनि यस्ता घटनाको उठान गरिरहेको छ । त्यो पनि एक किसिमको दबाब नै हो,’ उनले भने ।

अहिले प्रहरीले जे गरे पनि भीड वा प्रदर्शनले ठ्याक्कै त्यसको विरुद्धमा इस्यु ल्याइदिने काम गरिरहेको छ । यसले राम्रो भइरहेको कुरामा पनि बिग्रिने उनको भनाइ छ ।

यसका लागि प्रहरीले पीडित परिवारलाई विश्वासमा लिनुपर्ने उनको भनाइ छ । ‘अनुसन्धान हामीले सही तरिकाले गरिरहेका छौं भनेर पीडित परिवारलाई विश्वासमा ल्याउन सक्नुपर्‍यो,’ उनले भने, ‘पीडितको मनमा अनुसन्धान सही तरिकाले भइरहेको छ वा छैन भन्ने हुन्छ । तर, प्रहरीसँग केही गोप्य कुरा हुन्छन्, ती कुरा गोप्य नै राखेर सेयर गर्न सकिने कुरा त प्रहरीले पीडित परिवारलाई जानकारी दिन सक्छ ।’

यसरी पीडित परिवारलाई विश्वासमा लिएर अनुसन्धानलाई अगाडि बढाउन सकियो भने मात्र प्रहरीमाथि पीडित परिवारमा अविश्वासको वातावरण बन्दैन । भइरहेको अनुसन्धानबारे प्रहरीले पीडित परिवारलाई बुझाउन सकेन भने त्यो मान्छे भीडको हातमा जान्छ । त्यसरी अगाडि बढ्न सकेन भने ठ्याक्कै निर्मला पन्तको केश हुन्छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको पीडित परिवारलाई अनुसन्धानमा विश्वास दिलाउन सक्नुपर्ने मल्लको भनाइ छ ।

अधिवक्ता लीलानाथ घिमिरे पनि प्रहरीकै कमजोरीका कारण यस्ता खालका कथित अभियन्ताको जन्म भएको बताउँछन् । ‘प्रहरीले राम्रोसँग काम गरेको भए आज यसरी अभियन्ताको जन्म हुने थिएन । यसले प्रहरीको छबिमाथि नै प्रश्न उठिरहेको छ,’ उनले भने, ‘योभन्दा गम्भीर कुरा त अबका दिनमा हरेक घटनामा यसरी नै आन्दोलन हुनेछ । त्यो प्रहरी र समाजको लागि चिन्ताको विषय हुनसक्छ ।’ 

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख डा. टीकाराम गौतम यस्तो हुनुको पछाडि प्रहरीकै कमजोरी देख्छन् । प्रहरीले अनुसन्धानलाई सही र निष्पक्ष ढंगबाट अगाडि बढाउन नसक्दा त्यो भीडको हातमा जाने उनको भनाइ छ ।

गम्भीर खालको घटना भइसकेपछि प्रहरी पनि गम्भीर भएर अनुसन्धानतिर नलाग्दा यस्तो समस्या आउने गरेको उनको बुझाइ छ । प्रहरीले सफल अनुसन्धान गर्न नसक्दा मानिसमा प्रहरीमाथि नै विश्वास गुम्दै गएको उनले बताए ।

नेपाल प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले यस्तो खालको प्रवृत्ति अनुसन्धान डाइभर्ट गर्ने खालको हुने बताए । 

प्रहरीले घटनास्थलमा भेटिएका प्रमाणबाटै अनुसन्धानलाई अगाडि बढाउने तर, भीड जम्मा भएर अनुसन्धान नै प्रभावित पार्न लागिपर्ने बताए । कुनै पनि घटनाको अनुसन्धान भीडले नभई प्रहरीले गर्ने भन्दै उनले भने, ‘भीडले घटनालाई उत्तेजित पार्ने, मानिसहरूमा प्रहरीप्रति अविश्वास पैदा गर्ने लगायतका काम मात्र गर्छ । हामीले त प्रमाणका आधारमा अनुसन्धान गर्ने हो ।’

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १६:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया