तेस्रोपटक मुख्य प्रतियोगिताको फाइनल आयोजना गर्दै वेम्बली रंगशाला

युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कपको १६औँ संस्करणमा उपाधिका लागि इङ्ग्ल्यान्ड र इटाली आमनेसामने हुँदैछन् । 

नेपाली समयअनुसार आइतबार राति पौने १ बजे वेम्बली स्टेडियममा हुने फाइनल खेल घरेलु टोली इङ्ग्ल्यान्ड र इटालीबीच हुनेछ । 

वेम्बली स्टेडियममा हुन लागेको युरो कप फाइनल मुख्य प्रतियोगिताको तेस्रो फाइनल खेल हो । यसअघि यो मैदानमा  फिफा विश्वकप १९६६ र युरो कप १९९४ को फाइनल खेल भएको थियो । 

वेम्बली स्टेडियमले पहिलोपटक मुख्य प्रतियोगिताका रूपमा सन् १९६६ को विश्वकप आयोजना गरेको थियो । 

९६ हजार ९२४ दर्शकको उपस्थिति रहेको फाइनलमा घरेलु टोली इङ्ग्ल्यान्डले तत्कालिन पश्चिम जर्मनी (हाल जर्मनी) माथि ४–२ को जित निकाल्दै विश्वकप उपाधि हात पारेको थियो । 

इङ्ग्ल्यान्डले सन् १९९६ को युरो कप आयोजना गर्दा फाइनल खेल यही वेम्बली स्टेडियममा खेलाइयो । 



७३ हजार ६११ दर्शकको उपस्थिति रहेको फाइनल खेलमा जर्मनीले चेक गणतन्त्रलाई २-१ गोल अन्तरमा पराजित गर्दै युरो उपाधि हात पारेको थियो । 

युरो २०२० को फाइनल खेल हेर्न ६५ हजारभन्दा बढी दर्शक उपस्थित हुनेछन् ।



सन् १९२३ मा निर्माण भएको वेम्बली स्टेडियमको सुरुवाती दर्शक क्षमता १ लाख २५ हजार थियो । सन् १९९० मा यसको क्षमता घटाएर १ लाख बनाइयो । 

सुरुवातमा यो मैदानको स्वामित्व वेम्बली कम्पनीको नाममा थियो । पछि सन् २००२ देखि २००७ सम्म पुनर्निर्माण गरिएपछि वेम्बली स्टेडियम अहिलेको स्वरुपमा आएको हो । 

यो मैदानको पुनर्निर्माणका लागि ७८९ मिलियन पाउन्ड खर्च भएको बताइएको छ । हाल यो स्टेडियमको दर्शक क्षमता ९० हजार रहेको छ । 

अहिले इङ्ग्ल्यान्ड फुटबल संघको स्वामित्वमा रहेको स्टेडियम सञ्चालनको जिम्मा भने वेम्बली नेसनल स्टेडियम लिमिटेडलाई नै दिइएको छ । 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १५:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया