अर्जेन्टिना र ब्राजिलबीच फाइनल खेल हुने माराकाना स्टेडियमको इतिहास

विश्वकै सबैभन्दा पुरानो र दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको ४७औँ संस्करणको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दै छन् । 

नेपाली समयअनुसार आइतबार बिहान पौने ६ बजे ब्राजिलको माराकाना स्टेडियममा दुई टोलीबीच उपाधि भिडन्त हुने छ  । 

कोपाको जारी सिजनको फाइनल खेल माराकाना स्टेडियममा हुन लागेको मुख्य प्रतियोगिताको चौथो फाइनल खेल हो । यसअघि यो मैदानमा फिफा विश्वकप १९५० र २०१४ तथा कोपा अमेरिका २०१९ को फाइनल खेलाइएको थियो ।

माराकाना स्टेडियमले पहिलोपटक मुख्य प्रतियोगिताका रूपमा सन् १९५० को विश्वकप आयोजना गरेको थियो । 

१ लाख ९९ हजार ८५४ दर्शकको उपस्थिति रहेको फाइनलमा घरेलु टोली ब्राजिल उरुग्वेसँग २-१ ले पराजित भएको थियो । यो विश्व फुटबल इतिहासमा सर्वाधिक दर्शक उपस्थित भएको खेल हो ।



ब्राजिलले सन् २०१४ मा दोस्रोपटक फिफा विश्वकप आयोजना गर्दा माराकाना मैदानमै फाइनल खेल खेलाइएको थियो ।  

७४ हजार ७३८ दर्शकको उपस्थिति रहेको फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकप उपाधि हात पारेको थियो । 



सन् २०१९ को कोपा अमेरिका फाइनल खेल हेर्न माराकाना स्टेडियममा ६९ हजार ९७८ दर्शकको उपस्थिति थियो । फाइनलमा घरेलु टोली ब्राजिल ३–१ ले विजयी भयो । 

सन् १९५० को विश्वकपका लागि तयार पारिएको माराकाना मैदान कुनै समय विश्वको सबैभन्दा ठूलो मैदान थियो ।  

यसको सुरुवाती दर्शक क्षमता कति थियो भन्ने यकिन नभए पनि २ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ ।  

यो सन् २०१४ को विश्वकपका लागि यो मैदानको पुनर्निर्माण गरियो । हाल यो मैदानको दर्शक क्षमता ७८ हजार ८३८ छ । 

रियो दि जेनेरियोको स्वामित्वमा रहेको माराकाना स्टेडियमको सञ्चालन अनुमती भने कम्प्लेक्स माराकाना इन्टरटेन्मेन्टलाई दिइएको छ । 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १६:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया