हुम्लामा चीन-नेपाल सीमा विवाद : खबर सार्वजनिक भएको १० महिना पछि प्रदेश सरकारको अनुगमन

कर्णाली प्रदेश सरकारले हुम्लामा पर्ने नेपाल-चीन सीमाको स्थलगत अवलोकन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहितको टोलीले शनिबार हवाई मार्फत जिल्लाको नाम्खा गाउँपालिका-५ को लोलुङजोङ पुगेर सीमा अवलोकन गरेको हो ।

गत वर्ष भदौमा चीनले नेपाली भूभागमा आफ्ना भवन बनाएको खबर सार्वजनिक भएको थियो । नाम्खा ५ लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखेपछि चीनले नेपाली सिमाना मिचेको खबर निकै चर्चामा आएको थियो । त्यो समयमा चुपचाप लागेको प्रदेश सरकारले झण्डै १० महिनापछि फुर्सदमा सीमा अवलोकन गरेको हो ।

यसअघि हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले समेत उक्त क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । चालु आर्थिक वर्षको अन्त्यमा मुख्यमन्त्री शाही सहितको टोली चीन नेपाल सीमामा पुग्नुलाई विभिन्न तरिकाले हेरिएको छ । 

प्रदेश सरकारले ढिलै भए पनि औपचारिक रूपमा विवाद उत्पन्न स्थलको वस्तु स्थितिबारे जानकारीका लागि स्थलगत निरीक्षण गरेर आफ्नो क्षेत्र भित्रको भूमिको रक्षार्थ पहल सुरु गरेको काँग्रेस संसदीय दलका नेता शाहीले बताए ।

लिमीको लाप्चा, ललोङ्गजोम र हिल्सा, किट क्षेत्रमा १२, १० (२), ९ (२), ८ (१), ७ (१), ६ (१) र ६ (२), ५ (१) र ५ (२) सीमा स्तम्भहरू रहेका छन् । नेता शाहीले सीमाको मुद्दा हुम्लाबासीको मात्रै नभएर प्रदेश सरकारले चासो दिएको बिस्तारै संघीय सरकार र सिंगो राष्ट्रले पनि चासो दिने बताए । 

साथै उनले संघीय सरकारले पनि उक्त स्थानमा विज्ञ टोली खटाई यथार्थ विवरण सार्वजनिक गरेर छिमेकी चिनसँग कूटनीतिक माध्यमबाट हुम्लाको उत्तरी क्षेत्रमा पछिल्लो समयमा उत्पन्न यस समस्याको स्थायी समधानका लागि पुनः संघीय सरकारलाई अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १९:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया