सहमति नजुट्दा प्रदेशसभा निरन्तर अवरुद्ध

बजेट सहमति नजुट्दा बागमती प्रदेशसभा निरन्तर अवरुद्ध रहेको छ ।  वैशाख १७ गतेबाट अवरुद्ध बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेका छन् । 

सरकारले प्रतिपक्ष दललाई फकाउने प्रयास गरे तापनि बहुमत भए पेलेरै जाने नीतिका कारण कार्य व्यवस्थामै सहमति जुट्न सकेको छैन । सोही अनुरुप प्रदेशसभा अवरुद्ध, स्थगितको शृङ्खला चलिरहेको छ । शनिबार भनिएको बागमती प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना जारी गरेर स्थगित भएको हो । 

प्रतिपक्षी दलसँग सहमतिबिना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । बैठकमा सहमति जुटाउनु भन्दा अंक गणितीय हिसाबले पेलेर लैजाने ढंगबाट सत्तापक्ष आएपछि प्रतिपक्षले यसको विरोध गरेको उनको भनाइ छ ।

बैठक सुचारु गर्न शनिबार मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ सहितको बैठकमा आइतबार बैठक सञ्चालन गर्नेबारे छलफल भएको थियो ।  

प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याएको बजेटमा असन्तुलन रहेको, सरकारले सञ्चारगृह चलाउन लागेको, बिना पूर्वाधार विद्युतीय सवारी खरिद गर्न लागेको जस्ता विषयको विरोधमा प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १९:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया