ज्यानमारा बन्दै ग्रामीण कच्ची सडक

देश संघीय संरचनामा गएसँगै स्थानीय सरकारहरु अधिकारसम्पन्न बने । आफूले पाएको अधिकारलाई उनीहरुले खासगरी डोजरे विकासमा प्रयोग गरे । जसअनुसार देशभरका ग्रामीण क्षेत्रमा यत्रतत्र सडक खनिएका छन् । सुदूरपश्चिममा पनि सबै स्थानीय तहमा डोजर लगाएर स्थानीय सडक खनेका छन् । तर, डोजरले मनोमानी ढंगले खनिएका सडकका कारण यातायात सञ्चालनमा भने जोखिम बढेको छ ।

गएको आइतबार बैतडीको सिगास गाउँपालिका ३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए । तर, अस्पताल नपुगी सोही दिन भएको जिप दुर्घटनामा उनले ज्यान गुमाए । ज्यान बचाउनका लागि अस्पताल तर्फ हिँडेका धामी कहिल्यै नफर्कने गरी अस्ताए । सो जिप दुर्घटनामा उनीसँगै अन्य दुईजनाको पनि मृत्यु भयो भने १२ जना घाइते भए ।

कच्ची सडकमा जिप अनियन्त्रित भएपछि जिप दुर्घटना भएको हो । त्यसैमा सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेनन् । दुर्घटनामा परी घाइते भएका राजेन्द्रसिंह धामीले भन्छन्, ‘ग्रामीण कच्ची सडकहरु काल बन्दैछन् । सडकको स्तरोन्नती छैन । सडकमा ट्राफिक नियम पनि पालना हुँदैन । नियमन गर्ने निकायको उपस्थिति नहुँदा सवारी दुर्घटना बढ्दै गएका छन् ।’

यस्तै, वैशाख २१ गते पञ्चेश्वरको गणमेश्वरमा भएको जिप दुर्घटनामा ५ जनाले ज्यान गुमाए । वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा भएको जिप दुर्घटनामा एकै गाउँका ५ जनाले ज्यान गुमाएका हुन् । सो दुर्घटनामा परी घाइते भएकाहरु अझै पनि अस्पतालमै छन् ।

सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा कच्ची सडकमा बढी दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । चालु आर्थिक वर्षमा अहिलेसम्म १५ ओटा सवारी दुर्घटना भएकोमा १० ओटा कच्ची सडकमा भएका खड्काले बताए । उनले भने, ‘सवारी दुर्घटनाको विवरण हेर्दा कच्ची सडकमा बढी दुर्घटना भएको देखिएको छ ।’

जिल्लामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ३४ जनाको ज्यान गएको छ भने ७८ जना घाइते भएका छन् । रुट परमिट नभएका सडकहरुमा समेत सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको प्रहरीको भनाइ छ । 



कतिपय ठाउँमा चालकको लापरवाहीले सडक दुर्घटना भएका छन् भने कतिपय ठाउँमा सडकका कारण दुर्घटना भएका छन् । कच्ची सडकहरुमा ग्रेड नमिलेको, मोड सुधार नभएकाले पनि सवारी दुर्घटना बढी हुने गरेको पाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । यस्तै, क्षमताभन्दा बढी यात्रु बोक्ने परिपाटीले पनि सडक दुर्घटना बढ्दै गएका उनले बताए । 

स्थानीय तहहरुले जथाभावी खनेका सडकहरु स्तरोन्नती नहुँदा सवारी दुर्घटना बढ्दै गएको प्रहरीको विश्लेषण छ । ग्रामीण कच्ची सडकहरुमा ट्राफिक नियम पालना नगर्ने, सवारी चालक अनुमति नभएका सिकारु चालकहरुले सवारी साधन चलाउने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएको सिगास–३ का राजेन्द्र धामीले बताए । 



ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने र गुणस्तरीय सडक नहुँदा बढी दुर्घटना हुने गरेको धामीले बताए । उनले भने, ‘कच्ची सडकमा सञ्चालन हुने सवारी साधनको निगरानी राम्रोसँग गर्न नसक्ने दुर्घटनाहरु बढी रहन्छन् । त्यसैले कच्ची सडकहरुमा सञ्चालन हुने सवारी साधनको अनुगमन हुनु जरुरी छ ।’

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १५:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया