पार्टीमा अहिलेसम्मका अजेन्डा के थिए भन्ने पुष्टि भएको छः खगराज अधिकारी

नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद अब समाधानतर्फ उन्मुख भएको छ । 

नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले १० बुँदे सहमतिको खाका प्रस्ताव गरेसँगै अब विवाद समाधान हुने र एमाले विभाजन रोकिने सम्भावना बढेको धेरैको अनुमान र विश्लेषण छ ।

तर, एमालेमा १० बुँदे सहमतिले कुन रुप लिने छ भन्ने हेर्नका लागि सोमबार कुर्र्नुको विकल्प छैन । यो सहमतिमा सोमबार विहान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर गर्ने बताइएको छ । 

तर, यसअघि नै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिप्रति असन्तुष्टि जनाइसकेका छन् । 

आइतबार दिनभर सिंहदरबारमा चलेको बैठक भाँडिन सक्ने धेरैको अनुमान थियो । तर, आइतबार अबेर राति यो कार्यदलले १० बुँदे सहमतिको खाका अगाडि ल्याएको छ । 

सहमतिको खाका अगाडि आएसँगै फरकधारले पूर्वगृहमन्त्री तथा एमाले नेता खगराज अधिकारीसँग यो सहमतिबारे उनको धारणा बुझ्न फोन गरेको थियो ।



‘सहमतिले अब एमाले एक हुने कुरा बाहिर ल्याएको छ,’ उनले भने, ‘पार्टी एक हुने कुरामा हामी सधैं एक थियौँ, पार्टी एक भए मात्र हाम्रो कम्युनिस्ट आन्दोलनले आफ्नो उद्देश्य पूरा गर्छ भन्ने हाम्रो मान्यता हो । अहिले जुन १० बुँदे सहमति आएको छ, त्यसलाई हामीले स्वागत गर्नु पर्छ । यसले कम्तिमा पनि पार्टीलाई एक बनाउने सपनालाई साकार बनाउने प्रयास सुरु गरेको छ ।’

कार्यदलले राखेका १० बुँदे सहमतिले पार्टीमा संस्थापन पक्षले अहिलेसम्म राखेका अजेन्डा तथा कदमहरुलाई संस्थागत गरेको पनि उनले बताए ।



‘यसले पुष्टि गरेको छ,’ उनले भने, ‘हिजो हामीले जे भनिरहेका थियौँ, ती कदमहरु सही रहेछन् । अब हामीले पार्टीलाई एक बनाएर अगाडि लैजानु पर्छ ।’ उनले यो सहमतिको बुँदमा पार्टीका सबैले अपनत्व महसुस गर्नु पर्ने र शीर्ष नेताहरुले पनि यसलाई अभिभावकत्व देखाउँदै अगाडि बढ्नु पर्ने बताए । 

‘एकता हुनुपर्छ भन्ने संस्थापनको आवज थियो,’ उनले भने, ‘हामीले जे भनिरहेका थियौँ, त्यही कुरा अहिले १० बुँदामा आएको छ । यसलाई सबैले स्वागत गर्नुपर्छ ।’

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार ०:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया