माधव नेपालको स्पष्टोक्ति : सर्वोच्चको मुद्दामा गरिएको हस्ताक्षरमा २३ जना सांसद दृढ छौँ
फाइल फोटो

एमालेभित्रको विवाद मिलाउन भन्दै सहमतिका लागि गएराति १० बुँदे प्रस्ताव अघि सारिएको छ । विवाद समाधानका लागि बनाइएको कार्यदल आइतबार बिहानै देखि सिंहदरबारमा छलफलका लागि बसेको थियो । 

अर्थ मन्त्रालयभित्र भएको १२ घण्टा भन्दा लामो छलफलपछि एमालेमा विद्यमान समस्या समाधानका लागि प्रस्ताव भनेर १० बुँदाको एक पत्र सार्वजनिक गरिएको छ ।  तर पत्रमा कसैको हस्ताक्षर छैन । 

पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर सहमतिलाई अनुमोदन गर्न भनिएको छ । 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सोमबार फैसला आउँदै छ । सो फैसला अगाबै सहमति भयो भन्ने खालको सन्देश दिने योजना ओली पक्षको थियो । 

यही योजना अनुसार मध्यराति कार्यदलमा रहेका दुवै पक्षले सहमतिका १० बुँदा सार्वजनिक गरे । 

यो सहमतिपछि ओली पक्षले एमाले सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर स्वतः फिर्ता भएको अर्थमा व्याख्या गरे।



सहमतिका बुँदा सार्वजनिक हुनेबित्तिकै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेखे ‘शेरबहादुर देउवाको साथमा
निवर्तमान प्रतिनिधिसभाका सदस्यहरू अब १४६–२३ =१२३ मात्र सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना  मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो’ 

थापाको यस्तो भनाइप्रति बरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका छन्। सोमबार बिहान आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता नेपालले प्रधानमन्त्रीका सल्लाहकारको भनाइ आपत्तिजनक रहेको बताएका छन् । 



अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने उद्देश्यले अभिव्यक्ति आएको नेपालको भनाइ छ । ‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ’ नेपालले भनेका छन् । 

सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका एमाले २३ जना सांसद एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको उनले स्ष्ट पारेका छन् । 

विवाद समाधानका लागि पस्ताव भनिएको पत्रमा सर्वोच्चको मुद्दामा गरिएको हस्ताक्षर फिर्ता लिने वा नलिने भनी खुलाइएको छैन । 

‘प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौं’ भनी लेखिएको छ । 

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार ७:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया