ख्याति श्रेष्ठको हत्या आरोपमा १२ वर्ष जेल बसेकी मेरिना शाक्य जेल सजाय भुक्तान गरेर छुटेकी छन् ।
ख्यातिको अपहरण र हत्यामा संलग्न मेरिना १२ वर्ष जेल सजाय पूरा गरेर आज केन्द्रीय कारागार सुन्धाराबाट थुना मुक्त भएकी हुन् ।
अदालतले १३ वर्ष चार महिना कैद सजाय तोकेको थियो । उनले छुटसहित १२ वर्ष जेल सजाय काटेकी थिइन् । जेलबाट छुटेकी मेरिनालाई लिन उनका बुबाआमा सुन्धारा पुगेका थिए ।
अनामनगरमा २२ जेठ २०६६ मा १९ वर्षीया ख्याति श्रेष्ठको अपहरणपछि विभत्स हत्या गरिएको थियो । श्रेष्ठको परिवारसँग १० लाख फिरौती रकम माग गरिएको थियो ।
फिरौती बुझाएपनि उनको ललितपुर, काठमाडौं र चितवनमा टाउको र हात खुट्टाबिनाको शव फेला परेको थियो ।
उनको अपहरणपछि हत्या घटनाका मुख्य आरोपी वीरेन्द्र श्रेष्ठ अहिले पनि जेलमा छन् । अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उनले जुवा खेल्दा ऋणमा डुबेपछि अपहरण योजना बनाएका थिए । उनलाई शाक्यले सहयोग गरेकी थिइन् ।
एउटा म्यागेजिनमा अन्तर्वार्ताका लागि भन्दै शाक्यले ख्यातिलाई अनामनगरमा बोलाएकी थिइन् । त्यहीँबाट उनको अपहरण गरेर १० लाख फिरौती माग गरिएको थियो । फिरौती बुझाएपनि उनको हत्या गरिएको थियो ।
घटना हुँदा शाक्यले एसएलसी परीक्षा दिएकी थिइन् । पछि जेलमा रहँदा नै उनको रिजल्ट आएको थियो । एसएसलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भएपछि शाक्यले जेलभित्रै थप पढाई अगाडि बढाएकी थिइन् ।
शाक्यले जेलबाटै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थिइन् । उनी सुन्धारा कारागारमा रहेको विद्यालयको प्रधानाध्यापक समेत बनेकी थिइन् ।
जेलभित्र रहँदा शिक्षिका र प्रधानाध्यापक भएवापत उनको एक वर्ष चार महिना कैद कट्टा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।