एमालेले गर्‍याे पुनः कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक पुनः अवरुद्ध गरेको छ । मंगलबार दिउँसो झन्डै साढे २ बजेपछि सुरु भएको बैठकमा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो । बैठक कार्यसूचीमा नै प्रवेश नगरी एमालेले नियमित रूपमा अवरुद्ध पार्दै आएको छ । 

असार एक गते प्रदेशसभामा प्रदेश सरकारले बजेट प्रस्तुत गरेयता एमालेले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । 

संसदमा फ्लोर क्रस गरेपछि सांसद पद समेत नरहने गरी कारबाहीमा परेका सांसदहरूलाई सर्वोच्चले पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएपछि ती सांसदहरूलाई प्रतिपक्षीको सिटमा आएर बस्न एमालेले निर्देशन दिइरहेको छ । ती सांसद प्रतिपक्षमा बस्न नमानेपछि संसदीय व्यवस्था अनुसार ती सांसदलाई प्रतिपक्षमा राख्ने गरी बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरिरहेको छ । एमालेको फ्लोर क्रस गरेका माधव नेपाल समूहका चारजना सांसदमध्ये तीनजना मन्त्री भएका छन् । 

बैठकको सुरुमा नै एमाले सांसद दानसिंह परियारले कर्णालीको प्रदेशसभा एमालेका कारण नभएर प्रदेश सरकारको कारणले चल्न नसकेको बताए । ‘संवैधानिक रूपमा बजेट प्रस्तुत गर्ने हैसियत गुमाइसकेको सरकारलाई हामीले बजेट प्रस्तुत गर्न दियौँ,’ उनले भने,’ ‘तर अहिलेसम्म पनि छलफलमा जान सकेको छैन । जबसम्म दलीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र प्रतिपक्षमा रहन्छ, तबसम्म प्रदेश सभाको गतिविधि अगाडि बढ्दैन ।’

कर्णाली प्रदेश सभामा एमालेको लामो समयसम्म अवरोध भएपछि सभामुख राजबहादुर शाहीले एमाले सांसद्हरूलाई चेतावनी दिएका छन् । मंगलबार सदनमा उभिएर अवरोध गरिरहेका एमाले सांसदहरूलाई शाहीले बैठक सञ्चालन गर्न सहयोग नगरे अवरोधकै बीचमा पनि अगाडि बढ्न बाध्य हुने बताए । 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १७:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया