दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ४३ रनको जित हात पारेको हो ।
आयरल्यान्डले दिएको २९१ रनको बलियो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २४७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि जानेमान मलानले ८४ रनको उत्कृष्ट पारी खेल पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । उनले ९६ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरे ।
रस्सी भान डेर डुसेनले ४९ र डेविड मिलरले २३ रनको योगदान दिए ।
आयरल्यान्डका एन्डी म्याकब्रिनी, मार्क आदिर र जोसुवा लिटिलले समान २-२ विकेट हात पार्दा क्रेग योङ्ग, सामी सिंह, जर्ज डोकरेलले १-१ विकट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि डुब्लिनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रनको बलियो योगफल तयार पारेको थियो ।
उसका लागि कप्तान एन्ड्रयु बलबर्नीले शतकीय पारी खेले । ११७ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे ।
ह्यारी टेक्टरले ६८ बलमा ६ चौका र ४ छक्काको मद्दतले ७९ रनको योगदान दिँदा जर्ज डोकरेलले ४५ रन जोडे ।
दक्षिण अफ्रिकाका एन्डिले फेहलुक्वयोले २, कागिसो राबडा, तावरेज शाम्सी र केशब महाराजले समान १-१ विकेट लिए ।
दक्षिण अफ्रिका विरुद्ध कुनै पनि प्रारूपको क्रिकेटमा पहिलो जित निकालेको आयरल्यान्ड सिरिजमा १-०को अग्रता लिएको छ ।
पहिलो खेल वर्षाले रद्द भएको सिरिजको तेस्रो तथा अन्तिम खेल १६ जुलाईमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।