अबको दुनियाँ एआई र क्वान्टम कम्प्युटिङको : सुन्दर पिचाई

गुगलका प्रमुख सुन्दर पिचाईका अनुसार आगामी २५ वर्षमा दुईचिजले संसारमा क्रान्ति ल्याउने छ, ती हुन्- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्वान्टम कम्युटिङ । उनले भने, ‘म एआईलाई मानवले बनाउने सबैभन्दा उत्तम प्रविधिका रूपमा हेर्छु । तपाईं आगो, बिजुली या इन्टरनेटबारे अहिले जे साच्नुहुन्छ, त्यो त्यस्तै हुने छ । मलाई लाग्छ- त्योभन्दा पनि स्तरीय ।’

एआई मानिसले जसरी नै काम गर्नका लागि बनाइन लागेको हो । खासगरी कुनै विशेष प्रकारको समस्या निराकरण गर्नका लागि । अहिले पनि कतिपय त्यस्तै सिस्टमले काम गरिरहेको छ । क्वान्टम कम्प्युटिङ पूर्ण रूपमा फरक ‘कन्सेप्ट’ हो । यसबाट एक पदार्थलाई एकै समयमा कयौं देशमा प्रयोग गर्न सकिने सम्भावना रहन्छ । साधारण कम्प्युटिङ बाइनरीमा आधारित हुन्छः ० या १ । यसको बीचमा केही पनि हुँदैन । यसलाई बिट्स भनिन्छ ।

क्वान्टम कम्प्युटिङले क्युबिट्समा काम गर्छ । यसलाई बुझ्न केही कठिन छ, तर यसले ठूलो परिवर्तन ल्याउन सक्छ । पिचाईलगायतका प्रविधिसँग जोडिएका विशेषज्ञहरूका अनुसार यो सबै स्थानमा काम आउँदैन । 

करबारे पिचाई के भन्छन् ?

करसम्बन्धी विषयमा गुगलको प्रतिक्रिया रक्षात्मक छ । कयौं वर्षदेखि कम्पनीले कर दायित्वलाई कानुनी रूपमा कम गर्नका लागि एकाउन्टेन्ट र वकिलहरूलाई ठूलो रकम तिरिरहेको छ । २०१७ मा गुगलले आफ्नो ‘डबल आयरिस, डच स्यान्डविच’ नामक रणनीतिका आधारमा, एक डच सेल कम्पनीको माध्यमबाट २० बिलियन डलरभन्दा बढी रकम बरमुडा पठाएको थियो ।

पिचाई अब कम्पनीले यो स्किमको प्रयोग नगर्ने बताउँछन् । र, कम्पनीले संसारकै सबैभन्दा ठूलो करदातामध्ये एक हुने पनि उनको भनाइ छ । गुगलले सबै देशको कर कानुन पालना गर्नेसमेत उनले बताए । पिचाईले भने, ‘कर्पोरेट ग्लोबल मिनिमम ट्याक्सबारे भइरहेको वार्ताबाट हामी उत्साही छौँ ।’



अन्य विषयमा पनि गुगल परीक्षणको सामना गरिरहेको छ । डेटा प्राइभेसी र सर्चको क्षेत्रमा एकाधिकारबारे प्रश्नहरू उठिरहेका छन् । एकाधिकारबारे पिचाईले गुगल एक निःशुल्क उत्पादन भएकाले प्रयोगकर्ता सहजताका साथ अन्यत्र जान सक्ने बताए । यस्तै तर्क फेसबुकले पनि केहीअघि गरेको थियो ।

पिचाई संसारभरका इन्टरनेटको स्वतन्त्रतामाथि भइरहेको हमलाबाट चिन्तित छन् । कपितय देशले सूचना प्रवाहमा रोक लगाइरहेको र स्वतन्त्रताको मोडललाई हल्का रूपमा लिइरहेको उनी बताउँछन् । बिबिसीसँग कुरा गर्दै उनले प्राइभेसी, डेटा र ट्याक्ससँग जोडिएका विवादबारे खुलेर कुरा गरेका थिए ।



चिनियाँ इन्टरेनट मोडलमा कडा सरकारी नियन्त्रण हुन्छ यो कतिसम्म उचित हो भन्ने प्रश्न पिचाईलाई सोधिएको थियो । जवाफमा उनले चीनको नाम नलिई भने, ‘स्वतन्त्र र मुक्त इन्टरनेटमाथि हमला भइरहेको छ ।’ त्यसपछि पुनः थपे, ‘हाम्रा प्रमुख उत्पादन र सेवा कुनै पनि चीनमा उपलब्ध छैन ।’

को हुन् पिचाई ? 

एक अन्तर्वार्तामा उनलाई ‘तपाईं अमेरिकी हो कि भारतीय’ भनी सोधिएको थियो । जवाफमा उनले भनेका थिए, ‘म अमेरिकी नागरिक हुँ । तर भारत मेरो मनभित्र बसेको छ र म जे हुँ, त्यसको अहम् हिस्सा हो ।’

पिचाई १९७२ मा भारतको तमिलनाडुमा जन्मिएका हुन् । उनका पिता इलेक्ट्रिकल इन्जिनियर थिए भने माता स्टेनोग्राफर थिइन । पिता बेलायती कम्पनी जिइसीमा काम गर्थे । 

पिचाईले इन्जिनियरिङको उच्च शिक्षा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा लिएका थिए । उनी २००४ मा गुगलसँग जोडिएका थिए । २०१५ मा गुगल अल्फाबेट कम्पनीको हिस्सा बन्दै उनी त्यसको प्रमुख कार्यकारी बने ।

(बिबिसी)


 

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ११:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया