Mon, 19 Nov, 2018


अब पुरस्कारका लागि नेपालमा मनोनयन गर्दिनँ, विदेशी छोड्दिनँः बुद्धिसागर
कमल विष्ट  |  असोज १३, २०७५

नयाँ पुस्ताका चर्चित लेखकहरुको अंग्रपंक्तिमा पर्छ, आख्यानकार बुद्धिसागरको नाम । कर्णाली ब्लुज र फिरफिरे दुई उपन्यास लेखेर बुद्धिसागरले राम्रो चर्चा कमाएका छन् । पछिल्लो समय एउटा फिल्मको स्क्रिप्ट लेख्दा पनि बुद्धिसागरले राम्रै चर्चा पाए । तिनै बुद्धिसागरसँग फरकधारका कमल विष्टले केही दिनअघि भेटेका थिए । त्यो कुराकानीमा बुद्धिसागरले खुलेर कुरा गरे । त्यसैको सम्पादित अंशः 

तपाईंको पहिलो उपन्यास कर्णाली ब्लुज र दोस्रो फिरफिरेले राम्रै बजार पाएकाले आम पाठकको बुझाइ छ, बुद्धिसागर सफल लेखक हो । तर, गहिराइमा अध्ययन गर्नेले बुझेका छन्, फिरफिरेमा कर्णाली ब्लुजमा समेट्नु पर्ने प्रसङ्ग आएका छन् । दोस्रो पुस्तकमा पहिलोको ह्याङओभर देखिनु सफल लेखकको गुण हो कि झन् असफलता ?

सबैभन्दा पहिलो महत्वपूर्ण कुरा भनेको एउटा लेखक किन लेख्छ भन्ने हो । मलाई लाग्छ, लेखक दुई प्रकारका हुन्छन् । एकथरि हुन्छन् जो कल्पनाको उडान भर्छन् र त्यही उडानमा रहेर सिर्जना गर्छन् । अर्काथरी हुन्छन् जो आफ्नै वरिपरि दैनिक भइरहने घटनालाई विषय बनाउँछन् अनि त्यसलाई मीठो भाषा तथा शैली प्रयोग गरेर लेख्छन् । म चाहिँ दोस्रो कित्ताको लेखक हुँ जस्तो लाग्छ । किनकि म ती कुराहरुमात्र लेख्छु जुन मैले देखेका, सुनेका, भोगेका र अनुभूत गरेका कुराहरु हुन् । 

मेरो लेखनको पहिलो प्राथमिकता भनेको नै मैले महसुस गरेको कुरा अभिव्यक्त गर्नु हो । मेरो जीवनको धेरै समय गाउँमा बित्यो, गाउँमा जे देखेँ, जे भोगेँ, अनुभूत गरेँ, त्यही कुरा अहिले लेखिरहेको छु । मलाई कल्पनामा रमाउनुभन्दा पनि वास्तवितकतालाई सुन्दर भाषाको प्रयोग गरेर अभिव्यक्त गर्न मन लाग्छ । 

यो अभिव्यक्ति के हुँदो रहेछ भने एउटै किताबमा समेट्न नसकिने रहेछ । त्यसैले फिरफिरेमा मेरो पुराना अनुभूति दोहोरिए । अब पनि मेरा अरु पुस्तकमा फेरि फेरि पुरानै कुरा दोहोरिँदैन भन्न सक्दिनँ । अर्को कुरा के हो भने यो मैले निर्धारण गर्ने कुरा होइन, पाठकहरुले कसरी लिन्छन्, उनीहरुमा नै निहित छ । यसलाई एउटा लेखकको गुण माने गुण हो, असफलता माने असफलता नै हो । म आफूलाई नै चाहिँ असफल र सफल यो आधारमा मान्दिनँ । जे होस्, मलाई वास्तविक कुरालाई थोरै कल्पनाशीलता प्रयोग गरेर लेख्दा आनन्द आउँछ ।

 

हुन त गद्यमा कर्णाली ब्लुज तपाईंको पहिलो पुस्तक थियो, आफ्नै अनुभूति लेख्नु भएको रहेछ । त्यसलाई उपन्यास भन्नुभयो, संस्मरण भन्नुभएन । नयाँ लेखक हुँ, संस्मरण भनेँ भने असफल हुन्छु भन्ने भयले तपाईंलाई रोकेको हो कि त्यो उपन्यास नै हो ?
 

हो, कर्णाली ब्लुजमा धेरै हदसम्म वास्तविक अनुभूतिहरु छन्, मैले भोगेको विगत छ । तर, त्यो पूर्ण वास्तविकता मेरो मात्रै होइन । अब सबै कुरा आफ्नो मात्र नभएकाले मैले त्यसलाई आफ्नो संस्मरण पनि भन्न मिलेन, संस्मरण भन्दा त्यति मजा पनि हुने थिएन । फेरि त्यो किताबमा मैले काल्पनिकताको पनि त व्यापक प्रयोग गरेको छु । 

त्यसैले, स्थापित भएको छैन, संस्मरण लेखेँ भने चल्दैन भन्ने डरले कर्णाली ब्लुजलाई उपन्यास भनेको होइन, त्यो त उपन्यास नै हो । न त्यो कथा मेरो एक्लो हो, न सबै कुरा वास्तविक हुन् । फेरि पनि के हो भने कुनै दिन बुद्धिसागरले जीवनी लेख्यो भने मान्छेहरु यसको जीवन त यस्तो पो रहेछ भनेर आश्चर्यचकित चाहिँ हुनेछन् ।

 

तपाईंका दुवै उपन्यासलाई आधार मानेर थप एउटा अर्को प्रश्नः किन दुवै उपन्यासमा दुःखको भारी बिसाउनु भएको ? साहित्यमा रोनाधोनाले प्रश्रय पाउँदा सिर्जनात्मक अभ्यास कमजोर त हुँदैन ? 

हो, मलाई थाहा छ, केही मान्छेहरु मलाई रुन्चे लेखक पनि भन्छन् । मैले उपन्यासमा दुःखका कुरा, रोनाधोनाका कुरा मात्र धेरै लेखेको छु भन्ने आरोप लगाउँछन् । उनीहरु बिर्सन्छन्, मेरा पुस्तकमा हाँसो ठट्टाका पनि थुप्रै कुरा छन्, कतिपय पाठकहरु त्यहाँ लेखिएका कुरा पढेर मुर्छा परेर हाँसेका छन् । 

यसको अर्थ म कमेडी लेख्ने लेखक चाहिँ होइन । अब पुस्तकमा के छ भन्ने कुरा एउटा पाठकले कुन मनोदशमा पुस्तक पढ्यो भन्ने कुराले पनि अर्थ राख्छ । एउटा पाठकले कुनै पनि पुस्तक पढ्दा त्यहाँ आफूलाई खोजेको हुन्छ, मेरा पाठकले पनि मेरा पुस्तकमा आफूलाई खोज्छन् । 

पाठकका लागि त्यो पुस्तक प्रिय हुन्छ जसमा ऊ आफू भेटिन्छ । अहिले त्यस्ता केही पाठक छन्, जो बुद्धिसागरको मात्र पढ्न खोज्छन्, किनकि बुद्धिसागरको सोचाइ र उनीहरुको सोचाइ मिल्छ, बुद्धिसागरको बुझाइ र उनीहरुको बुझाइ मिल्छ, बुद्धिसागरको अनुभूति र उनीहरुको अनुभूति मिल्छ । यसले पाठक र लेखकलाई कनेक्ट गराउँछ, भावना मिलाउँछ । म पनि धेरै लेखकका पुस्तक पढ्छु, तर केही लेखकमा मात्र आफूलाई भेट्छु । मेरा हकमा पनि त्यही कुरा लागु हुन्छ । हो, मेरा पुस्तकमा अलिक बढी भावुकता, रोनाधोना हुन्छ, यो कुरा चाहिँ म स्वीकार्छु ।

 

तपाईं पनि बाहिरका पुस्तक निकै पढ्नुहुन्छ । पछिल्ला अंग्रेजी तथा अन्य पुस्तकहरुमा कल्पनाशीलताको उच्चतम प्रयोग हुन थालेको छ । हामी ती फ्यान्टासीमा रमाउँछौँ तर यता नेपालमा चाहिँ आफ्नै विगत, अनुभूति र घटना लेखेँ, पाठकसँग भावना कनेक्टेड छ भनेर रमाउँछौँ । तपाईंलाई लाग्दैन, यसले नेपाली साहित्यमा प्रयोगहरुलाई निषेध गरिरहेको छ ?

हेर्नुस्, अहिले पनि नेपाली साहित्य विकास हुने क्रममा नै छ । नेपालीहरुले पनि अब विस्तारै साहित्य पढ्न थालेका छन् । त्यसमाथि हाम्रो इतिहास पनि त्यति लामो हैन, नेपाली साहित्य विकास हुने क्रममा नै छ र अहिले हामीले धेरै अपेक्षा गर्न पनि मिल्दैन । भारतजस्तो देश जहाँ सयौं भाषामा साहित्य लेखिन्छ, त्यहाँ त अहिले विस्तारै साहित्यले गति लिँदै छ । हामीले हाम्रो देशमा अझै धेरै सुधार गर्नु पर्ने आवश्यकता छ, त्यसका लागि समय पनि लाग्छ ।

अब हामी पछिल्लो ५० वर्षको अवधिलाई हेर्यौँ । हामीले यी वर्षमा कति लेखकले चर्चा पाए, कति पुस्तकले प्रख्याती पाए । औंलामा गन्न सकिन्छ चर्चित भएका लेखकलाई, चर्चित भएका पुस्तक र सफल लेखकहरुलाई । त्यो समयमा अहिलेजस्तो विविधता थिएन, विविध विषयमा कलम चल्दैनथ्यो । तुलनात्मक रुपमा हेर्ने हो भने भिन्नभिन्न विधामा र क्षेत्रमा अहिले कलम चलेका छन् । अहिले विविधिता आएको अवश्य छ, तर हामी अझ अगाडि जानु छ ।

 

हो, विविधता त आएको छ, ‘फिक्सन’मा धेरै काम भएको देख्न सकिन्छ । तर, न्यारेटिभ फिक्सनले बजारमा फिक्सन पढिने क्रम नै घट्ने हो कि भन्ने डर पनि सुनिन्छ । खासमा एउटा फिक्सन न्यारेसन हो कि क्रियटिभ इनोभेसन पनि ?

मेरो हकमा भन्ने हो भने म काल्पनिक कथा पनि लेख्न सक्छु । बिर्सनु हुँदैन सबै लेखकका आआफ्नै दायरा हुन्छन्, मेरो पनि आफ्नै सीमा छ । फेरि सबै लेखकले सबै विषयमा लेख्नु पर्छ भन्ने पनि त छैन । आफूलाई जुन विधा र आयाममा सजिलो लाग्छ, त्यही विधा र आयाममा लेख्ने हो, त्यही विषयमा लेख्ने हो । 

एउटा लेखकले लेख्ने उसको आत्मसन्तुष्टिका लागि हो । आफूलाई नै मन परेन भने अरुलाई मन पर्ने कुरा हुँदैन, लेखन हुँदैन । यो मेरो शैली हो, म जुन शैलीमा लेख्छु, त्यसैमा रमाउँछु । हामीले नै फरक गर्नुपर्छ भन्ने छैन, फरकपन आउँदै गर्छ । नयाँ पुस्ताले नयाँपन ल्याउँदै जान्छन्, हामी आफ्नो ठाउँमा जति साँघुरिँदै जान्छौँ, त्यहाँ नयाँ पुस्ताले ठाउँ बनाउँदै जान्छ । जस्तै, लव स्टोरी चल्यो भनेर सबैले प्रेम कथामा अधिरित भएर लेख्नु पर्छ भन्ने छैन । र, सबैले लेख्नै सक्दैनन् भन्ने पनि होइन । सबैले सबैको जसरी लेख्न नसक्नु नै लेखकको पहिचान हो । 

 

यो त सर्वमान्य कुरा भयो, सबैले सबै कुरा लेख्न सक्दैनन् । तर, तपाईं त पहिले जमेर कविता र गजल लेखिरहनु भएको थियो, अहिले चटक्कै ती विधा छाडेर उपन्यासतिर मात्रै डुबुल्की मार्दै हुनुहुन्छ नि ?

धेरै लेखकले सुरु एउटा विधाबाट गर्छन्, लेख्दै जाँदा अर्को विधामा पुग्छन् जहाँबाट उनीहरुलाई अनुभूति हुन थाल्छ कि मैले भन्न चाहेको, लेख्न चाहेको कुरा सबैभन्दा सशक्त रुपमा यो विधाबाट प्रस्तुत गर्न सक्छु । अनि त्यो लेखक त्यही विधामा डुबुल्की मार्छ । म पनि गजल, कविताबाट आख्यानमा पुगेँ अनि थाहा भयो, म आख्यानमा बढी रमाउँदो रहेछु । मेरालागि गजल र कविता आख्यानसम्म आउने बाटो भए । मलाई भित्रैबाट छोएको, हल्लाएको कुरा म गजल र कविताभन्दा आख्यानबाट राम्रोसँग ब्यक्त गर्न सक्छु जस्तो लाग्यो । अनि म आख्यानमा रमाउन थालेँ । 

मलाई लेख्न औधी मन पर्छ । म दाबीका साथ भन्न सक्छु, नेपाली साहित्यमा सबैभन्दा धेरै लेख्न र कम प्रकाशित गर्ने  लेखकमध्ये म एक हुँ । आख्यानमा एउटै कुरालाई धेरै व्याख्या गर्न सकिने भएर पनि मलाई आख्यान मन पर्न थालेको हो । 

फेरि अर्को कुरा कविता कठीन विधा रहेछ । कविता मन्त्र हो, लाइनमा थोरै भए पनि धेरै गहिरो भाव र अर्थ बोक्छ । रियल कविता बुझ्न लेखनाथका कविताहरु पढन पर्ने रहेछ । म पछिल्लो समय लेखनाथ पौड्यालका कविताको पारखी भएको छु । उनी गाह्रोभन्दा पनि गाह्रो कुरालाई सरल लाइनमा व्यक्त गर्न सक्छन् । ती दुई लाइनलाई केलाउन सकियो भने पनि संसार बुझ्न सकिँदो रहेछ । 

कविता भनेको महान् विधा हो, अहिले मलाई आफ्ना कविताहरु कविता नै लाग्दैनन् । वास्तविक कविता लेख्न गाह्रो कुरा पनि हो । कविताहरु पढ्दै जाँदा मैले आफ्ना कविता कमजोर पाएँ, अर्थ नभएका पाएँ । म आजभोलि पनि कविता लेख्छु, तर प्रकाशनका लागि होइन । ती कविताहरुलाई म आफ्नो आख्यानमा विम्बको रुपमा प्रयोग गर्न चाहन्छु । कविता त एउटा खेलाडीले खेल्नुपूर्व गर्ने वार्मअपजस्तै हो रहेछ एउटा लेखकका लागि । म आख्यान लेख्न कविता पढ्ने र लेख्ने गर्छु ।

 

अहिले तपार्इंलाई लेख्न केले बाध्य बनाउँछ ? मेरा पाठक छन् फ्यान छन् किताब लेख्नु पर्छ भन्ने कुराले कि मेरो काम नै लेख्ने हो भन्ने कुराले ? कि त्यस्ता केही भाइव वा तरङ्ग छन् जसले तपाईंलाई मवाहेक अरुले यो कुरा लेख्दैन भन्ने बोध गराउँछ ? 

म लेख्दा जुन दुनियाँ बनाउँछु, त्यो म आफैंलाई एकदमै मन पर्छ । मलाई धेरै लेख्नु पर्छ, पाठक, शुभचिन्तकहरु त छँदै छन् । थकाई लाग्दा मलाई इनर्जी, प्रेरणा दिने पाठकहरु नै हुन् । यसो लेख्दालेख्दै थाकियो भने सामाजिक सन्जाल खोलेपछि पाठक, शुभचिन्तकहरुको माया, सदभाव, प्रतिक्रिया देखेपछि एउटा शक्ति उत्पन्न हुन्छ जसले लेख्न प्रेरित गर्छ । 

तर, फेरि मैले मेरा शुभचिन्तक तथा पाठकहरुकै लागि मात्र लेख्छु भन्ने पनि हुन्नँ । किनकि लेखन कसैले लेख भनेर लेख्न सकिने कुरा होइन । प्रेसर फिल गरेर त लेखकले लेख्नै सक्दैन । लेखकले लेख्दा सुरुमा आफूले इन्जोय गरेको हुनुपर्छ । लेखकले लेख्दा इन्जोय गर्न नसकेर लेखेको पुस्तक पढ्दा पाठकले पनि इन्जोय गर्न सक्दैन । त्यसकारण सुरुमा लेखक आफैंले इन्जोय गरेको हुनुपर्छ । यसको अर्थ के हो भने लेखकले लेख्दा आफ्नो आनन्द र खुसी पहिलो प्राथमिकतामा हुन्छ, पाठक तथा शुभचिन्तकका कुरा त त्यसपछि मात्रै हो ।

 

एउटा लेखकका लागि पाठककाे माया नै सर्वश्रेष्ठ पुरस्कार हुने नै भयाे । तर, नेपालमा पुरस्कार, गुठी तथा सम्मानहरु नै पनि बारम्बार विवादमा अाइरहेका हुन्छन् । साहित्य सिर्जनामा लागिरहनु भएकाे तपाईंलाई यस्ता विवादबारे केही भन्नु छ कि ?  

मलाई यो विषयमा केही टिप्पणी गर्न मन छैन । तर, के चाहिँ सत्य हो भने हाम्रा लेखकहरुको पारा छैन । उनीहरु पुरस्कार पाउँ भनेर निवेदन पनि दिन्छन्, अनि पछि नपाएपछि रिसाउँछन् पनि । तर म चाहिँ अब कुनै पनि पुरस्कारका लागि मनोनयनमा आफ्नो पुस्तक दर्ता गराउँदिनँ । पुस्तकमा सर्वाधिकार दाबी गरिएको पेजमा नै मलाई लेख्न मन छ, ‘यो पुस्तक कुनै पनि मनोनयनका लागि दर्ता गरिएको होइन’ भनेर स्पष्ट लेख्न मन छ । अब हेर्नु न नेपालमा कर्णाली ब्लुजपछि कतिवटा किताबले कतिवटा पुरस्कार पाए, ती किताब कहाँ छन् अहिले ? त्यसैले मैले त अब निर्णय गरिसकेको छु, नेपालका कुनै पनि प्रतियोगितामा भाग लिन्नँ, विदेशी छोड्दिनँ । 

 

संसारमा एउटा मात्र किताब लेखेर चर्चा पाएका लेखक पनि छन्, सुरुमा केही चर्चा भए पनि पछि लेख्दै जाँदा कमजोर लेख्दै गएका पनि छन् । पहिले चर्को लेखेर पछि ल्याङ लेख्नेहरु पनि छन् । बुद्धिसागरको हकमा चाहिँ के होला ?

अरुको कुरा त म के गरुँ, मेरो हकमा चाहिँ अहिलेसम्म यस्तो भएको छैन, मेरा दुवै कृति चलेकै छन् । आगामि दिनमा कस्तो होला भन्ने मलाई थाहा छैन, तर लेखनमा हुने प्रतिस्पर्धा चाहिँ मैले राम्रोसँग बुझेको छु । लेखनमा एउटा यस्तो प्रतिस्पर्धा हुन्छ कि एउटा बिन्दुमा पुगेपछि लेखनको कुरा त परै जाओस् केहीले तपाईं हाँसेको पनि मन पराउँदैनन् । 

तर, कसको लेखन कस्तो भन्ने कुरा पाठकले निर्धारण गर्ने हो । कोही तपाईंको पुस्तक खोजीखोजी पढ्छन् त कोही सहजै उपलब्ध भए पनि त्यो पुस्तक पढ्दैनन् चाहे त्यो जतिसुकै राम्रो पुस्तक किन नहोस् । फेरि एउटा पुस्तक कस्तो छ भन्ने थाहा पाउन समय पनि लाग्छ । अर्को कुरा, मानिसहरु अर्को मानिस असफल भएकै हेर्न चाहन्छन् ।

यी कुराहरु पुस्तक प्रकाशित भएलगत्तै हुने कुरा हुन्, धेरै मन पराइने वा धेरै मन नपराइने । तर, केही पुस्तकहरु ढिलो पनि चल्न सक्छन् । आज मन नपरेका पुस्तकहरु कसैलाई दस वर्ष पछि मन पर्न सक्छ । फेरि एउटा पाठकले पुस्तकबाट के अपेक्षा राख्यो वा कस्तो मनोदशामा पढ्यो भन्ने पनि हुन्छ । 

लेखकहरु एउटा लेखकका सबै पुस्तक चर्चित भएकोसँग मात्र तुलना गरेर पढ्छन् र आफ्नो धारणा निर्धारण गर्छन् । त्यसैले कहिलेकाहीँ लेखक एउटा चर्चित पुस्तकले जति हाइटमा पुग्छ, अर्को एउटा पुस्तकले निकै तल पनि झर्न सक्छ । हरेक लेखकलाई चिनाउने उसको एउटा पुस्तक हुन्छ, एउटा टाइटल हुन्छ । त्यही एउटा पुस्तक नै उसका लागि सफलता हुनसक्छ । पचास वटा किताब लेखिसके पनि कुनै लेखकलाई एउटा पुस्तकले मात्र चिनाउँछ, मलाई चिनाउने त्यो पुस्तक भनेको कर्णाली ब्लुज हो ।

 

अब एउटा इनफर्मल प्रश्न, पहिले नयाँ लेखक हुनुहुन्थ्यो काठमाडौँमा गाह्रो थियो । अहिले त सफल लेखक हुनुभएको छ, काठमाडौँ कत्तिको सजिलो बनेको छ ?

संघर्ष गर्दाताकाका दिनहरु र स्थापित भइसकेका दिनहरुमा अन्तर त हुन्छ नै । तर, समय र आवश्यकताको गतिशीलतासँगै समस्या र चुनौति बढ्दै जान्छन् । संघर्षका दिनमा आधारभूत आवश्यकताको समस्या थियो तर आज त्यो कुरामा दुःख अथवा समस्या छैन । 

फेरि अब स्थापित भइसकेको छु, अर्कै खाले दुःख र संघर्ष छ । आज म लेखन तथा कलासँग संघर्ष गर्दै छु, जुन झन् धेरै पीडादायी छ । जीवन संघर्ष र समस्या विहिन हुनै सक्दैन । संघर्षको स्तरमा नै परिवर्तन आउने हो, जीवनमा समस्या कहिल्यै पनि एकखालै हुँदो रहेनछ । समस्याहरु पनि कुनै व्यक्त गर्न सकिँदो रहेछ, कुनै सकिँदो रहेनछ ।
 



कमल विष्ट

पपरक सङ्गीतमा विशेष रुची राख्ने कमल विष्ट फरक धारका लागि साहित्य, कला तथा संगीत क्षेत्रकाे रिपाेर्टिङ गर्छन् ।

यो पनि नछुटाउनुहोस्