Mon, 17 Dec, 2018


आफ्नै बलबुतामा बाँचेको छ नेपाली नाटक
राजन खतिवडा
फरकधार / असोज १३, २०७५

नेपालमा कला, साहित्य तथा नाट्य विधाको इतिहास त्यति लामो छैन । नेपाली नाट्य क्षेत्रको इतिहास पल्टाएर हेर्ने हो भने पनि खासै ठूलो दस्ताबेज भेटिँदैन । नाट्य क्षेत्रको विकासको गति शून्यपायः छ ।

फर्किएर हेर्दा नेपाली नाट्य क्षेत्र हिजो जस्तो थियो, आज पनि उस्तै छ । केवल प्रर्दशन हुने नाटकको संख्या बढेको छ, तर गुणस्तर भने जहाँको त्यहीँ छ । गतिविधि बढे पनि नाटकको स्तर बढ्न सकेको छैन । 

कला क्षेत्रलाई अँगालेर बाँच्नु निकै कठिन चुनौती हो । त्यसैले कला क्षेत्रमा लाग्नेहरूले यसलाई एउटा रुचिको विषय बनाई पेसाका रूपमा अन्य काम गरिरहेका छन् । नाटकमा पनि कमै मात्र मान्छे छन्, जो पूरै समय नाटकलाई अर्पिएर काम गरिरहेका छन् । जिन्दगी चलाउनकै लागि भए पनि अन्य पेसालाई अँगाल्न जरुरी छ यहाँ । कतिपय मेरै सहपाठी मित्रहरू पनि नाटकलाई छाडेर चलचित्रतर्फ लागेका छन् । नाटकमा भन्दा चलचित्रमा आम्दानी धेरै हुन्छ । दयाहाङ राई, सौगात मल्ललगायतलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

राज्य र सरकारबाट कला क्षेत्रमा केही काम भएका छैनन् । कुनै समय प्रज्ञाप्रतिष्ठानमा दुई–दुई महिनाको अन्तरालमा नाटक मञ्चन हुन्थे । अहिले त त्यो पनि भएको छैन । एकेडेमीमा नाटक गर्न मोटो रकम बुझाउनुपर्छ । सरकारले वार्षिक बजेटमा कला क्षेत्रलाई भनेर रकम छुट्टाए पनि काम भने शून्य छ । यस्तोमा नेपाली नाटकले आफूलाई निखार्ने मौकै पाएको छैन । 

नेपाली नाटकको उन्नयन हुन नसक्नुको अर्को कारण नयाँ शैली, सोचको विकास नहुनु पनि हो । केहीले नयाँ शैली ल्याउन चाहे पनि भाषा, शिल्प बदलिन सकेको छैन । चाहेजस्तो शैलीको निर्माण हुन सकेको छैन । 

फरकफरक किसिमका प्रयोग गर्न नसक्नुले पनि नाटक जहाँको त्यही छ । एउटा राम्रो नाटक गहिरो सोच र अध्ययनले जन्माउने हो । जुन नेपाली नाट्य क्षेत्रमा अभावको विषय हो । धेरैजसो नाटकमा एउटै भाषा देखिनु्, संवादहरूको प्रस्तुति एकै किसिमले हुनु नेपाली नाटकका कमिकमजोरी हुन् । पर्याप्त अभ्यास गर्न नसक्नु अर्को कमजोरी हो । यस्ता कमिकमजोरीमाथि छलफल भएको छैन । वैचारिक कुराहरूको अझै अभाव खड्किरहेको छ । नाटकलाई मनोरञ्जनका रूपमा हेर्ने जमातमा वैचारिक कुरालाई प्रस्तुत गर्न चाहिने शैलीको अभाव छ । 

सीमित दर्शकका वरिपरि रहेको नाटकलाई सबैमाझ पुर्याउन सकिएको छैन । पूर्वाधारका कमीको कारण हामीले हरेक व्यक्तिलाई नाटकबारे बुझाउन सकेका छैनौँ । अभ्यास सँगसँगै खोजहरू भएका छैनन् ।  एउटा गतिलो नाटक पढाई हुने ठाउँ छैन नेपालमा । जति पनि अहिले बनिरहेका नाटक छन्, सबै व्यक्तिगत तबरबाट मात्र बनेका छन् । सरकारी तबरबाट नाटकलाई हेर्ने काम भएको छैन । देशभरिमा भएका आठ÷नौवटा नाटकघरमा मात्र सीमित छ, हाम्रो नेपाली नाटक । 

एउटा घटना सम्झिन्छु । कर्णालीका एकजना रंगकर्मी साथीले नाटकको प्रस्ताव लिएर आउँदा सम्बन्धित सरकारी संस्थाले केही ध्यान दिएको थिएन । उनी निराश भएर फर्किएका थिए । 

सुन्दा नरमाइलो लाग्छ, नेपालमा जति पनि नाटकघरहरू छन्, तीमध्ये केहीलाई छोडेर अधिकांशले काम चलाउन मात्र नाटक प्रस्तुत गरेका छन् । नेपाली नाटकमा कुनै टेवा पुर्याउने काम गर्नुको साटो आफ्नो अस्तित्व बचाइराख्नका लागि नाटक गरिरहेका छन् । राम्रो नाटक गर्नेहरूको संख्या निकै कम छ । नेपाली नाट्य क्षेत्रमा भएका उत्कृष्ट नाटकहरूको नाम लिन पर्यो भने एकछिन सोच्नै पर्छ ।

मजस्तै कलालाई धर्मको रूपमा लिएर हिँड्ने रंगकर्मीहरूको भिडमा नाटकको अस्तित्व कसरी माथि लैजाने भन्ने एउटा गहन प्रश्न उठेको छ यतिवेला । जति पनि काम भएका छन्, देखाउनका लागि मात्र भएका छन् । गुणस्तरको रूपमा हेर्दा निकै फितलो रूपमा विकासको सिँढी चढिरहेका छौँ, हामी र हाम्रो नाटक । यसका लागि चाहिने खर्च, ज्ञान, छलफल तथा गोष्ठीको अभाव छ । 

कसैले ‘म एउटा ठाउँमा रहेर रिसर्च गरी त्यहाँको जनजीवनबारे नाटक तयार गर्छु’ भन्दा पनि असम्भव कुरा गरेजस्तो लाग्छ । लागतको अभावमा विकासको सपना देख्नु कति उचित छ, थाहा छैन । तर, विकास हुनलाई केही व्यक्ति मात्र लागेर सम्भव हुन्छजस्तो लाग्दैन । 

नाटकलाई हरेक मान्छेमा पुर्याउनुपर्छ । मानिसका फरकफरक विचार बुझ्न, मानिसहरूबीच सम्बन्ध र सञ्चारलाई बढाउनका लागि नाटक जरुरी छ । तर, हामीसँग खर्च गर्नलाई पर्याप्त लागत छैन । हरेकको पहुँचमा पुर्याउनका निम्ति मुख्य कुरो त लागत चाहिन्छ, जसको अभावमा हामी रंगकर्मीहरू गुज्रिरहेका छौँ । 

चाहेजस्तो रिसर्च, गोष्ठी, गर्न सक्ने हो भने हामी हाम्रो भाषा, संस्कृति, परम्परा बुझ्न सक्छौँ । आफ्ना नाटकमा यस्ता कुरालाई समावेश गर्न सक्छौँ । भोलिको दिनमा राज्यको ठूलो सम्पत्तिको रूपमा नाटकको विकास हुन सक्छ । तर, यसका निम्ति पर्याप्त लगानी हुनुपर्छ । चाहेजस्तो पूर्वाधारको विकास हुनुपर्छ । आउँदो पुस्तालाई आजको समयबारे बताउने माध्यम कला नै हो । त्यसैले पनि हरेक ठाउँमा कला, साहित्य र नाटकको विकास हुनु जरुरी छ । नेपालमा त कतिपय यस्ता ठाउँ छन्, जहाँका मानिसलाई नाटक के हो भन्ने पनि थाहा छैन । 

म र मजस्ता रंगकर्मीहरूले आफ्नो बलबुतामा गर्न सक्ने काम गरिरहेका छौँ । तर, काम निकै कम भएको छ । राज्यले यस क्षेत्रमा ध्यान दिनु जरुरी छ । जनताबाट कर लिएर कला क्षेत्रको विकासको निम्ति सरकारी निकाय स्थापना गरेर मात्र हुँदैन । नाटक भनेको त एउटा अभियान हो, जसले हरेकको कानसम्म आवाजलाई पुर्याउने तागत बोक्छ । यसलाई विकास गर्न सके सबैभन्दा बढी लाभान्वित आममानिस नै हुन्छन् । नाटकले राज्यलाई बौद्धिक तबरमा बलियो बनाउनमा ठूलो भूमिका खेल्छ । तर, सरकारी संघसंस्था, जो नाटक क्षेत्रसँग सम्बन्ध राख्छन्, उनीहरूलाई त यो पनि थाहा छैन कि, नेपाली नाटकको अहिलेको स्थिति के छ ! 

भोलिको निम्ति नाटक क्षेत्रलाई बचाउन र अझै शक्तिशाली रूपमा अघि बढाउन चौतर्फी बहस हुनु आवश्यक छ । नेपाली समुदायमा कतिपय ठाउँमा लुकेर बसेका कुराहरूलाई खोजेर नाटकमा रूपान्तरण गर्न सके यो दस्ताबेजका रूपमा रहन्छ । मुन्धुम, घाटु, सोरठीजस्ता संस्कारलाई हाम्रो नाटकमा ल्याउन सके यिनको संरक्षण हुन सक्छ । फरकफरक सोच भएका मानिसबीच बहस हुँदा नयाँ सोचको जन्म हुन्छ । नयाँ सिद्धान्तको जन्म हुन्छ । तर, यहाँ त सांस्कृतिक संस्थान, प्रतिष्ठानहरू, जो कलाको विकासका लागि स्थापना गरिएका थिए, सबै व्यापार गर्नमै व्यस्त देखिन्छन् । काठमाडौंमा भएका चारपाँच वटा नाटकघर बन्द भएर त्यहाँ मःम पसल खुले भने पनि राज्यले त्यसतर्फ ध्यान दिन्छजस्तो मलाई लाग्दैन । 

कसैले नाटकमा नयाँ सोच लिएर आए त्यसलाई लिएर जाने ठाउँ छैन । उसको सोच आफँैभित्र सीमित रहन्छ । केही समयपछि मर्दै–मर्दै जान्छ । व्यक्तिगत तबरमा रहेका नाटकघरहरूले हरेकको सोचबारे थाहा पाउन सक्दैनन् । सरकारले सुनिदिँदैन । संगीत नाट्य एकेडेमीले मलाई थाहा भएसम्म नाट्य क्षेत्रलाई लाभान्वित हुने कुनै काम गरेको छैन । तलब लिएर कुर्सीमा बस्नेबाहेक कुनै काम भएको छैन । 

फर्किएर हेर्दा कला, साहित्य तथा नाटकको प्रयोग सबैजसो राजनीतिक पार्टीले गरेको पाउँछु । चुनावलगायत जनता आवश्यक पर्दाको समय उनीहरूले यिनै क्षेत्रको मद्दत लिएर जनमानसबीच आफूलाई पुर्याउने गरेको देख्छु । तर, जब तिनै राजनीतिक मान्छेहरू सत्तामा पुग्छन्, आफँैले हिँडेको बाटोलाई फर्किएर हेर्नुपर्छ भन्ने सोच्दैनन् । 

नाट्य क्षेत्रमा लागेपछि मैले युरोप, अफ्रिकामा हुने नाटकहरूलाई नियाल्न पाएँ । अहिलेको अवस्था हेर्दा हाम्रो नाट्य क्षेत्र विश्वनाट्यभन्दा निकै पछि परेको छ । अन्य देशमा कसैले नाटक गर्छु भन्दा सरकारी सहयोग प्राप्त हुन्छ । रंगकर्मीहरूलाई पारिश्रमिक दिइन्छ । तर, हाम्रोमा त यो एउटा पूरा नहुने सपनाजस्तो कुरा हो । यस्तो सपना, जसलाई देखेर आफैँलाई थकित बनाउन मात्र सकिन्छ । 

तर, सरकारी तबरबाट केही भएन भनेर चुपचाप बस्दै जाने हो भने त नेपाली कला क्षेत्रमा रहेको नाटकको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ । त्यसैले पनि हामी व्यक्तिगत तबरमा नाट्यघर सञ्चालन गर्नेहरूले आ–आफ्ना ठाउँबाट सकेजति काम गरिरहेका छौँ । रंगमञ्चको ट्रेनिङदेखि लिएर डाइरेक्टरलाई क्लास दिनेसम्मका काम भइरहेका छन् । केही खोजहरू भइरहेका छन् । दूरदराजमा पुगेर काम गर्न नसके पनि केही मात्रामा आफूले सकेको कदम चलेका छौँ । भोलिको नाट्य क्षेत्रमा आउने पुस्तालाई नाटकमै लागेर खान पुग्ने अवस्था त सिर्जना गर्न सक्दैनौँ होला, तर केही हदसम्म भन्ने हो भने व्यक्तिगत तबरमा रहेका नाट्यघरहरूकै कारण अहिलेको नाट्य क्षेत्र बचेको छ ।

रंगमञ्चलाई नै आफ्नो जीवन मानेर हिँड्नेहरूका लागि व्यक्तिगत रूपमा काम हुन छोड्ने हो भने भोलि नाटकको हाल के हुने हो, त्यो कल्पनाभन्दा बाहिरको कुरा हुन जान्छ ।
 



यो पनि नछुटाउनुहोस्