नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मकवानपुरमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा रडाको मच्चिएको छ ।
नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँविरुद्ध मोर्चाबन्दी गर्दै मकवानपुरका संस्थापनइतरका कांग्रेस नेताहरू एकै कित्तामा उभिएका छन् । बानियाँले कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जिल्ला तथा क्षेत्रहरूमा आफूअनुकुल नेतालाई पदमा ल्याउन क्रियाशील सदस्य वितरणमा मनलाग्दी गरेको भन्दै मकवानपुर कांग्रेसका संस्थापनइतरका नेताहरू एक हुँदै विरोधमा उत्रिएका हुन् ।
उनीहरूले क्रियाशील सदस्यतामा देखिएको विवादलाई तत्काल अन्त्य गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा धर्ना दिइरहेका छन् । उनीहरूले विशेष गरी हेटौंडा उपमहानगरपालिका-२ र ९ नम्बर वडामा क्रियाशील सदस्य वितरणमा विवाद हुँदा आगामी १४ औं महाधिवेशन प्रभावित हुने भन्दै आन्दोलित भएका हुन् । नेपाली कांग्रेस पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’ सहितका नेताहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।
‘क्रियाशील सदस्यता वितरणमा देखिएको विवादले पार्टीको महाधिवेशनलाई असर पर्ने देखियो । त्यसकारण हामीले पुरानै नवीकरण भएर आएकाहरूलाई मात्र मान्यता दिनका लागि आग्रह गर्दै धर्ना बसेका हौं ।’ नेपाली कांग्रेस मकवानपुरका प्रभावशाली युवा नेता तथा नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालले भने, ‘हाल वितरण गरिएको क्रियाशील सदस्यका कारण पार्टीको जिल्लाको महाधिवेशनलाई असर पर्ने देखिएकाले हामीले जिल्लामा रोक्नलाई आग्रह गरेका थियौं । तर, त्यसो भएन ।’
क्रियाशील विवादका कारण महाधिवेशनको निर्वाचनलाई प्रभाव नपरोस् भनेर नै आफूहरूले केन्द्रीय कार्यालयमा धर्ना दिएको दाहालले बताए । ‘समस्या समाधान नभएसम्म हाम्रो धर्ना जारी रहन्छ ।’ दाहालले हाल सिफारिस भएका क्रियाशीलहरूलाई केन्द्रले तोके अनुसार वडा अधिवेशन सम्पन्न भएपश्चात् मात्र मान्यता दिन समेत आग्रह गरेको बताए ।
असार ९ गते बसेको कांग्रेस जिल्ला कार्यसमिति बैठकले क्रियाशील सदस्य वितरण संयोजक इन्द्रबहादुर बानियाँ, सचिव बुद्ध लामा र आनन्द कठायतले विवाद समाधानका लागि केन्द्रमा सिफारिस गरेसँगै संस्थापनइतरका नेताहरू केन्द्रीय कार्यालयमै धर्ना दिन पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासको पात्र समेत रहेका बानियाँ बागमती प्रदेश संसदीय दलका नेता समेत हुन् । बानियाँ आगामी महाधिवेशनमा बागमती प्रदेशको सभापति वा पुनः जिल्ला सभापतिमा उम्मेदवार बन्ने अझै निश्चित भइसकेको छैन । जिल्लामा पछिल्लो समय संस्थापन पक्ष र संस्थापनइतरबीच विभिन्न कार्यक्रममा मतभेद सिर्जना भइरहेको छ ।
धर्नामा कांग्रेस मकवानपुर नेताहरू जयराम लामिछाने, रीता खनाल, उमा दाहाल, मनहरी गाउँपालिका सभापति नारायण उप्रेती, मकवानपुर क्षेत्र नम्बर ४ सभापति नुरज पौडेल, मकवानपुर-काठमाडौं सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरीलगायत नेताहरू केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् ।
समायोजनबिना क्रियाशील सदस्यता ?
पार्टी समायोजनको प्रक्रिया नै नभए पनि समायोजन भएको भनी नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको भन्दै मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले ध्यानाकर्षण भएको जनाएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का मकवानपुर जिल्ला अध्यक्ष हरिकृष्ण मैनालीले फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकताको क्रममा जिल्लाबाट समायोजनको कुनै प्रक्रिया नभए पनि समायोजन भएको भन्दै २१ जनाले नेपाली कांग्रेसको क्रियाशील सदस्य प्राप्त गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै गत साता नेपाली कांग्रेस मकवानपुर र केन्द्रीय समितिलाई ध्यानाकर्षण गराएको थियो ।
विभिन्न व्यक्तिहरू तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेस पार्टीमा समायोजन भएर कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको भन्ने विषय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मकवानपुरको घोर आपत्ति भएको बताइएको छ ।
फोरम अध्यक्ष मैनालीले जिल्लाबाट समायोजनको प्रक्रिया नै नभएको उल्लेख गरे पनि नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले भने मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को केन्द्रीय समितिले सिफारिस गरेका व्यक्तिहरूलाई नै कांग्रेस मकवानपुरको सिफारिसमा क्रियाशील सदस्यता प्रदान गरिएको जानकारी दिएका छन् ।
फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको सिफारिसमा २१ जनालाई कांग्रेस मकवानपुरले क्रियाशील सदस्यका लागि सिफारिस गरेको सभापति बानियाँले दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।