एमाले बैठक : स्थगित गर्ने रावलको प्रस्ताव, ओलीले भने- ‘बैठक चल्छ, कार्यसूची अघि बढाउनू’
स्थायी कमिटी बैठकमा पुगेर निस्कियो नेपाल समूह

नेकपा एमाालेको स्थायी कमिटी बैठकमा पुगेर माधव नेपाल समूह बाहिरिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा भएको बैठकमा नेपाल समूह केही ढिलागरी पुगेको थियो । बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य पुगेका थिए । 

बैठकमा झण्डै १५ मिनेट जति बसेर उनीहरु सबै निस्किएका छन् । बैठकबाट निस्किँदै पार्टी उपाध्यक्ष समेत रहेका नेपाल समूहका नेता रावलले आफूहरुले बैठकमा उपस्थित भएर ४÷५ वटा विषय ओलीलाई सुनाएको बताए । 

रावलले कार्यदलमा भएको सहमति कार्यान्वयन हुनुपर्ने बैठकमा बताएको भन्दै आफूलाई बैठकमा बोल्न पाउनुपर्ने बताएका थिए । लगत्तै ओली सहमत भएपछि उनले बैठकमा आफ्ना कुरा राखेको पत्रकारहरुलाई सुनाए ।

रावलले भने, ‘अहिले भर्खरै त्यो बैठक कक्षभित्र प्रवेश गरेर ती कुराहरु राख्नका लागि आह्वान ग¥यौँ । हामीले भन्यौँ हामीलाई कार्यदलका तर्फबाट बोल्न दिनुस्, यदि त्यो हुँदैन भने म पार्टीको उपाध्यक्ष हुँ, उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेर आग्रह ग¥यौँ । अन्ततः उहाँ सहमत हुनुभयो । हामीलाई कुरा राख्न दिनुभयो ।’ 

संक्षेपमा पार्टी एकता हुनुपर्ने भन्दै आफूहरुले ४÷५ वटा कुरा राखेको रावलले बताए । ‘संक्षेपमा हामीले ४/५ वटा कुरा राख्यौँ । १, कार्यदलले जुन सहमति गरेको छ तदनुरुप बैठक अघि बढाउने । २, नेकपा एमालेको एकतालाई खण्डित हुने दिशातर्फ अघि नबढ्न यसको एकता र राष्ट्रको वृहत हितको लागि एमालेको सम्पूर्ण कार्यकर्ताका लागि यो अपरिहार्य छ । भन्यौं । ३, राष्ट्र अप्ठेरो अवस्थामा छ अर्कोतर्फ हाम्रो राजनीतिक असहजताको अवस्था छ ।’ 

रावलले अघि भने, ‘यस्तो अवस्थामा एमालेलाई एकीकृत गराउनका लागि सम्पूर्ण नेताहरुले गम्भीर रुपमा सोच्नुस् । ४, पार्टी अध्यक्ष स्वयंले आफ्नो घरमा सर्ने बेलामा दिएको अभिव्यक्तिले हामीलाई असजिलो पारेको छ, त्यसकारण हामीलाई समय दिनुस् । ५, तपाईंहरु यसलाई स्थगित गर्नुस्, पार्टी एकताका लागि हाम्रो भूमिका रहन्छ भन्यौँ । सबैभन्दा पहिला अध्यक्ष र त्यसपछि वरिष्ठ नेताले सोच्नुपर्छ भनेका छौँ ।’



बैठकमा बोल्दै रावलले आज बोलाएको संसदीय दलको बैठक र स्थायी कमिटी स्थगित गर्न भनेका थिए । ‘यो बैठक पनि स्थगित गर्नुस् र संसदीय दलको बैठक पनि स्थगित गर्नुस् । शीर्ष तहमा छलफल गर्ने र कार्यदलमा गरिएको सहमति अनुसार अघि बढ्न आग्रह गर्यौँ’, रावलले भने ।

रावलले थपे, ‘उहाँले त्यति केही भन्नुभएन । उहाँले यो बैठक जारी रहन्छ, यसको कार्यसूची अघि बढाउनुस् भनेपछि अनि हामीले उहाँलाई हामीले राखेका कुराहरु सुनुवाइ हुँदैन भने यो बैठकमा बस्दैनौँ भनेर हिँडेका छौँ ।’



  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १३:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया