प्रदेश २ : जसपाका दुई मन्त्री आउट, माओवादीको इन्ट्री
साह र कर्णले लिए मन्त्री पदको सपथ

प्रदेश २ सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका दुई सांसदले मन्त्री पदको सपथ लिएका छन् । 

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पार्टीको निर्देशनानुसार राजीनामा दिएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुईजना सांसदलाई मन्त्री बनाएका हुन् ।
 
मन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश प्रमुख डा‍. राजेश अहिराजबाट शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् भने राज्यमन्त्री रुवीकुमारी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग शपथ लिएकी छन् । 

साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । 

शपथको क्रममा नवनियुक्त दुवै मन्त्रीले ईश्वर शब्द छुटाएका थिए । मन्त्री साहले ईश्वरको साटो कुनै शब्द उच्चारण गरेका थिएनन् भने राज्यमन्त्री कर्णले ईश्वरको साटो सहिदको नाममा सपथ लिइन् ।
 
यसअघि माओवादीका दुईजनालाई मन्त्री बनाउने तयारी भएपनि मुख्यमन्त्री लालबाबु राउतले अन्तिममा एउटा मात्रै मन्त्रालय दिने अडान लिएपछि कांग्रेस मात्रै सत्तामा गएको थियो ।

राउतले आफ्नै पार्टीभित्रको महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएर गत जेठ २६ गते नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराइसकेका छन् । 

मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने मन्त्री साहको प्रतिबद्धता 



नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहणको समय अपराह्न ३ बजेका लागि निर्धारण गरिए पनि शपथ ग्रहण समारोह डेढ घण्टा अबेर सुरु भएको थियो । 

नवनियुक्त मन्त्री साहले शपथको भाषाको विषयमा कुरा नमिलेकाले शपथ ग्रहण समारोह ढिलो गरी सुरु भएको थियो । मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए । 



तर, कानुन अभावका कारण आफूहरुलाई राष्ट्रिय भाषामा शपथ लिनुपरेको मन्त्री साहले बताए । शपथ ग्रहणलगत्तै उनले मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । 

मन्त्रीद्वयले प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई मैथिली भाषामा प्रतिकात्मक शपथको पत्रसमेत बुझाएका थिए ।
 
नवनियुक्त मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने कर्ण सप्तरीनिवासी समानुपातिक सांसद हुन् ।

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १७:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया