छाडा पशुचौपाया रोक्न गौशाला निर्माण, व्यवस्थापनमा समस्या
फरकधार / २ साउन, २०७८

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा पछिल्लो ६–७ वर्षयता छाडा पशुचौपायाले आतंक मच्चाएका छन् । छाडा चौपायाका कारण बारीमा लगाएका कुनै पनि बाली जोगाउन नसकेपछि हेरालु लाग्नुपर्ने अवस्था सिर्जना भएको छ । 

स्थानीय निर्वाचनमा धेरै उम्मेदवारले छाडा चौपाया नियन्त्रण गर्ने नारा पनि अघि सारेका थिए । स्थानीय सरकार गठनभएपछि छाडा चौपाया रोक्न धेरै प्रयास भए । तराईका गाई–गोरु पहाडमा लैजानेदेखि ठाउँ–ठाउँमा गौशाला खोल्नेसम्म । अझै पनि धेरै ठाउँमा छाडा चौपाया नियन्त्रणमा आउन नसकेको स्थिति छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा प्रदेश मुकाम धनगढीमा छाडा चौपाया रोक्न स्थानीयहरु अगाडि सरे । छाडा पशुचौपायाले बारीमा लगाएको बाली सखाप पार्न थालेपछि आन्दोलनका कार्यक्रमसमेत भए । धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न स्थानीयहरु अगाडि सरेमा सहयोग गर्ने प्रतिबद्धतासमेत गर्यो । त्यसैअनुसार धनगढी–३ चटकपुरमा छाडा चौपाया नियन्त्रण गर्ने उद्देश्यका साथ गौशालाको स्थापना भयो । सुरुमा स्थानीयहरुले मुठ्ठी दानबाट गौशाला निर्माण सुरु गरेका हुन् ।

स्थानीयहरुले सामुदायिक वनको नाममा रहेको डेढ बिघा खाली जमिनमा गौशाला निर्माण गर्न सुरु गरे । ‘गोठमा पाल्दै आएका गाईहरुलाई दूध दिँदासम्म मात्र पाल्ने त्यसपछि छाड्ने प्रवृत्ति बढ्दै गयो,’ गौ संरक्षण सेवा समितिका सचिव समेत रहेका स्थानीय सीताराम अवस्थीले भने, ‘स्थानीयको हातेमालोले गर्दा नै गौशाला निर्माण सम्भव भएको हो ।’ गौशालामा गाईको संख्या बढ्दै गएपछि स्थानीय तथा प्रदेश सरकारसँग पनि सहयोग मागेको उनले बताए ।

०७५ बाट सुरु गरेको गौशालामा अहिले ७०–७५ वटा गाई–गोरु रहेका छन् । गौशाला निर्माणका लागि ३६५ आजीवन सदस्य रहेका छन् । गौशालामा धनगढी उपमहानगरपालिका, सांसद डिल्लीराज पन्तको प्रदेश सांसद कोषको रकम र प्रदेश सरकारको गरी झण्डै एक करोड ७५ लाख खर्च भइसकेको छ । गौशालामा एक सय ५० भन्दा बढी गाई–गोरु अटाउने क्षमता भएको गोठ निर्माण भएको छ ।

व्यावसायिक पशुपालन गर्ने लक्ष्य 

गौशालामा छाडा पशुचौपायाको संख्या बढ्दै गएपछि स्थानीयहरु व्यावसायिक रुपमा अगाडि बढ्ने सोचमा रहेका छन् । सडकदेखि घरबाट समेत गौशालामा गाईहरु पुर्याउने गरेको गौशाला व्यवस्थापन हेर्ने रीता जोशी अवस्थीले बताइन् । ‘घरबाट गौशालामा गाई पुर्याएमा समितिले आफ्नो मापदण्ड बनाएको छ,’ उनले भनिन्, ‘त्यसैअनुसार गाईहरुलाई राख्ने गरेका छौँ ।’ सडकमा छाडिएका गाई–गोरुसमेत त्यहाँ राख्ने गरेको उनले बताइन् । गाई–गोरुको संख्या बढ्दै गएको हुँदा नश्ल जातका गाई उत्पादन गरी व्यावसायिक रुपमा अगाडि बढ्ने बताइन््््् । ‘गाई–गोरुको संख्या बढ्दै गएको छ,’ उनले भनिन्, ‘यसलाई व्यवस्थित गर्नका लागि उन्नत जातका गाई उत्पादन गर्न पनि आवश्यक छ ।’ 

गँड्यौला मल र दाउरा समेत उत्पादन गर्ने लक्ष्य

समितिले गाई–गोरुका मलबाट दाउरा र गँड्यौला मल उत्पादन गर्ने लक्ष्य लिएको छ । गौशाला समितिका अनुसार गँड्यौला मल उत्पादन सुरु गरिसकिएको छ भने दाउरा उत्पादन पनि चाँडै नै सुरु हुनेछ ।
गँड्यौला मलको बारेमा सुदूरपश्चिममा किसानलाई खासै जानकारी छैन । गँड्यौला मल तरकारी बालीमा बढी उपयोगी हुन्छ, कौसी खेतीका लागि त झनै उपयोगी ।  यद्यपि, धान, गहुँलगायत सबै बालीका लागि यो मल उपयोगी हुन्छ ।

गँड्यौलाबाट उत्पादन भएको मल प्रयोग गरेपछि रासायनिक मल प्रयोग गर्नु नपर्ने र जमिनको उर्बरा शक्ति पनि बढ्छ । गँड्यौलाको मल प्रयोग गरे जमिनको उर्बरा शक्ति बढ्ने भएकाले अर्गानिक मलको प्रयोग खेतीको लागि अपरिहार्य रहेको कृषिसँग जानकारहरुले बताउने गरेका छन् ।

तत्कालका लागि बलियो आयस्रोत नहुँदा समस्या

गौशाला सञ्चालनमा तत्कालका लागि बलियो आयास्रोत नहुँदा समस्या हुने गरेको समितिले जनाएको छ । हेरालुदेखि गाई–गोरुको दाना चाराका लागि समस्या हुने गरेको गौशाला व्यवस्थापन समितिका महासचिव रघुवीर भट्टले बताए । ‘मुठ्ठी दानबाट मासिक रुपमा केही रकम संकलन हुने गरेको छ,’ उनले भने, ‘तर, त्यसले मात्र पुग्दैन ।’ गौशाला सञ्चालका लागि मासिक न्यूनतम ६० हजारसम्म खर्च हुने गरेको उनले बताए । ‘तीनजना हेरालु राखिएको छ,  उनीहरुलाई मासिक तलब दिनु नै पर्यो अनि गाई गोरुलाई पनि भुसा पराल किन्दा त्यतिले पुग्दैन ।’ धनगढी उपमहानगरको छेउमा रहेको गौशाला नजिक चरिचरन क्षेत्र नहुँदा पनि समस्या हुने गरेको छ ।

  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १९:५८:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया